
माले। माल्दिभ्स सरकारले १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। राष्ट्रपति मोहम्मद मुइजुले बालबालिकालाई साइबर अपराध तथा अनलाइन जोखिमबाट जोगाउने उद्देश्यले यस्तो नीति ल्याउन लागिएको बताएका छन्।
साप्ताहिक पत्रकार सम्मेलनमा सोमबार बोल्दै राष्ट्रपति मुइजुले अनलाइन तथा साइबर अपराधबाट बालबालिकाको सुरक्षा अहिले स्वदेश तथा विदेशमा रहेका अभिभावकहरूको प्रमुख चिन्ताको विषय बनेको उल्लेख गरे।
उनले नयाँ साइबर नीति तयार गर्ने क्रममा अष्ट्रेलियासहित अन्य देशहरूले लागू गरेका नियमहरूको अध्ययन गरिने जानकारी दिए। प्रस्तावित व्यवस्थाले बालबालिकाका लागि जोखिमपूर्ण मानिएका सामाजिक सञ्जाल प्लेटफर्महरूको प्रयोगलाई लक्षित गर्ने बताइएको छ।
राष्ट्रपति मुइजुका अनुसार सरकारले सम्बन्धित प्रविधि कम्पनी तथा सामाजिक सञ्जाल सञ्चालकहरूसँग परामर्श गरी माल्दिभ्सको कानुनअनुसार सेवा सञ्चालन सुनिश्चित गर्न समन्वय गर्नेछ।
उनले यस्तो प्रतिबन्ध कार्यान्वयनका लागि विद्यमान साइबर सुरक्षा कानुनमा संशोधन आवश्यक पर्ने पनि बताए। साथै, प्रस्तावित व्यवस्थाले बालबालिकाको शिक्षा वा अनलाइनमार्फत सिकाइ प्रक्रियामा असर नपार्ने र सुरक्षित डिजिटल वातावरण निर्माणमा सहयोग पुग्ने उनको भनाइ छ।
सरकारले आवश्यक नियमावलीलाई छिट्टै अन्तिम रूप दिने र सार्वजनिक परामर्श प्रक्रिया पूरा गरेपछि एक वर्षभित्र पूर्ण रूपमा प्रतिबन्ध लागू गर्ने लक्ष्य राखेको स्थानीय सञ्चारमाध्यम पीएसएम न्युजले जनाएको छ।
