Nepal Purbadhar

तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता काठमाडौंमा शुरू, प्रथम हुनेले ५० हजार पाउने

तस्बिर स्रोत : नेपाल फोटो लाइब्रेरी


काठमाडौं। तेस्रो संस्करणको “तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता” काठमाडौंमा शुरू भएको छ। खेलकुद पर्वतारोहणलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा नेपाल र विदेशका गरी ३८ जना खेलाडी सहभागी भएका छन्।

नेपाल राष्ट्रिय पर्वत मार्गदर्शक संघ (एनएनएमजीए) र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसन इन्कको संयुक्त आयोजनामा प्रतियोगिता थमेलस्थित एस्टरेक क्लाइम्बिङ वालमा शुरू गरिएको हो।

प्रतियोगितामा पुरुष र महिला दुवै विधामा प्रतिस्पर्धा भइरहेको छ। आयोजकका अनुसार विजेताले प्रथम स्थानका लागि ५० हजार रुपैयाँ, दोस्रो स्थानका लागि ३० हजार रुपैयाँ र तेस्रो स्थानका लागि २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

यस वर्ष पहिलो पटक लिड क्लाइम्बिङ विधामा प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। यसलाई नेपालमा स्पोर्ट क्लाइम्बिङलाई नयाँ स्तरमा पुर्‍याउने प्रयासका रूपमा लिइएको छ।

प्रतियोगिताको फाइनल चरण मे २९ मा हुने छ। फाइनल कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पा पनि सहभागी हुने बताइएको छ।

यो प्रतियोगिता तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा सगरमाथा आरोहण गरेको ऐतिहासिक दिनको स्मृतिमा आयोजना गरिएको हो।

आयोजकहरूले यस प्रतियोगिताले नेपालमा स्पोर्ट क्लाइम्बिङको विकासमा सहयोग पुर्‍याउने र नयाँ पुस्तालाई पर्वतारोहण तथा क्लाइम्बिङतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरेका छन्।


Read Previous

इन्धन मूल्यवृद्धिको असर निर्माण व्यवसायमा, व्यवसायीको समस्या समाधान गर्न परिसंघको आग्रह

Read Next

अल्ट्राभोइलेटको आधिकारिक विक्री अधिकार वैद्य अर्गनाइजेशनले पायो, एक्स-४७ क्रसओभर ल्याउँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar