
काठमाडौं । नेपाल उद्योग परिसंघले निर्माण व्यवसायीहरूले भोगिरहेको समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै नेपालको निर्माण क्षेत्र गम्भीर दबाबमा पर्दा व्यवसायीहरूले भोगिरहेको समस्या तत्काल समाधान महासंघले आग्रह गरेको हो।
परिसंघका अनुसार मध्यपूर्वको युद्धअघि (फेब्रुअरी १५) डिजेलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ रहेकोमा हाल बढेर २२५ रुपैयाँ पुगेको छ। त्यसैगरी, निर्माणमा प्रयोग हुने बिटुमिनको मूल्य प्रतिकिलो ७५ रुपैयाँबाट बढेर १५५ रुपैयाँ पुगेको छ।
इन्धन तथा निर्माण सामग्रीको मूल्यमा भएको तीव्र वृद्धिले ढुवानी लागत समेत बढाएको र यसले समग्र निर्माण लागत अत्यधिक बढाएको व्यवसायीहरूले बताएका छन्। नेपाल निर्माण व्यवसायी महासंघका अनुसार यस अवधिमा मात्रै निर्माण व्यवसायीहरूलाई १० अर्ब रुपैयाँभन्दा बढी नोक्सानी भइसकेको छ।
मूल्यवृद्धिका कारण धेरै निर्माण परियोजनाहरू सुस्त भएका वा रोकिएको अवस्था रहेको महासंघले जनाएको छ। यसले निर्माण क्षेत्रसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका अन्य उद्योगहरूमा पनि नकारात्मक प्रभाव पार्ने जोखिम बढाएको छ।
नेपाल उद्योग परिसंघले निर्माण क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको अवरोधले समग्र आर्थिक गतिविधि कमजोर हुने चेतावनी दिएको छ। परिसंघले निर्माण व्यवसायीहरूमा परेको आर्थिक तथा मानसिक दबाब कम गर्न तत्काल नीतिगत तथा व्यवहारिक समाधान आवश्यक रहेको जनाएको छ।
परिसंघले सरकार तथा सम्बन्धित निकायलाई निर्माण सामग्रीको मूल्य स्थिरता कायम गर्न, आपूर्ति प्रणाली सहज बनाउन र रोकिएका परियोजनाहरू अघि बढाउन आवश्यक सहजीकरण गर्न आग्रह गरेको छ।
निर्माण क्षेत्र ठप्प हुने अवस्था आएमा रोजगारी, लगानी र आर्थिक वृद्धि सबै प्रभावित हुने भएकाले समयमै समस्या समाधान गर्नुपर्ने व्यवसायीहरूको जोड छ।
