Nepal Purbadhar

अल्ट्राभोइलेटको आधिकारिक विक्री अधिकार वैद्य अर्गनाइजेशनले पायो, एक्स-४७ क्रसओभर ल्याउँदै


काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल समूह वैद्य अर्गनाइजेशनले भारतीय प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभोइलेटको नेपालका लागि आधिकारिक वितरक तथा आयातकर्ताको जिम्मेवारी पाएको छ।

अल्ट्राभोइलेटले वैद्य अर्गनाइजेशनलाई नेपालका लागि नयाँ आधिकारिक विक्रेता नियुक्त गरेको हो। यसअघि नेपालमा अल्ट्राभोइलेटका मोटरसाइकल केडिया ग्रुपले बिक्री वितरण गर्दै आएको थियो।

वैद्य अर्गनाइजेशनले यससँगै प्रिमियम इलेक्ट्रिक मोटरसाइकल बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने योजना अघि बढाएको छ। कम्पनीले देशभर प्रिमियम शोरुम, आधुनिक सर्भिस पूर्वाधार र बिक्रीपछिको सेवा नेटवर्क विस्तार गर्ने जनाएको छ।

अल्ट्राभोइलेटका सीईओ तथा सहसंस्थापक नारायण सुब्रमण्यमले नेपालमा वैद्य अर्गनाइजेशनसँगको साझेदारीलाई कम्पनीको अन्तर्राष्ट्रिय विस्तार यात्राको महत्वपूर्ण चरणका रूपमा लिएको बताएका छन्। उनका अनुसार अल्ट्राभोइलेटले भारतमा डिजाइन र निर्माण गरिएका उच्च प्रविधियुक्त फ्ल्यागसिप एफ-७७ सिरिजमार्फत विश्व बजारमा विस्तार गरिरहेको छ।

वैद्य अर्गनाइजेशनका सीईओ सूर्यांश वैद्यले अल्ट्राभोइलेटको प्रवेशसँगै नेपालको इलेक्ट्रिक मोटरसाइकल बजार नयाँ चरणमा प्रवेश गर्ने बताएका छन्। उनका अनुसार ग्राहकहरू अब केवल सवारी साधन मात्र होइन, प्रविधि, डिजाइन र प्रिमियम अनुभव पनि अपेक्षा गर्छन्।

कम्पनीले छिट्टै अल्ट्राभोइलेटको बहुप्रतिक्षित एक्स–४७ क्रसओभर मोटरसाइकल नेपालमा ल्याउने तयारी गरेको छ। यस मोडलको प्रि-बुकिङ पनि चाँडै सुरु हुने बताइएको छ।

एक्स-४७ क्रसओभरमा के छन् फचर्स?
एक्स–४७ क्रसओभरलाई आफ्नो सेग्मेन्टमा इंटिग्रेटेड राडार भएको विश्वकै पहिलो मोटरसाइकलका रूपमा प्रस्तुत गरिएको छ। यो मोडल दैनिक प्रयोग, लामो यात्रा र एडभेन्चर राइडका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ।

त्यसैगरी, कम्पनीले एफ–७७ ओरिजिनल र एफ–७७ रिकन मोडलको बुकिङ पनि खुलाएको छ। एफ–७७ ओरिजिनलको सुरुवाती मूल्य ८ लाख ११ हजार रुपैयाँ र रिकन मोडलको मूल्य ९ लाख ६९ हजार रुपैयाँ तोकिएको छ।

एफ–७७ मा १०.३ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ, जसले एकपटकको फुल चार्जमा ३२३ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। यसमा ३० किलोवाटको मोटर छ, जसले १०० न्युटन मिटर टर्क उत्पादन गर्छ।

यो मोटरसाइकलले ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति २.८ सेकेन्डमै पुर्‍याउन सक्ने बताइएको छ। अधिकतम गति १५५ किलोमिटर प्रतिघण्टा रहेको छ।

यसमा ट्र्याक्सन कन्ट्रोल, रिजेनेरेटिभ ब्रेकिङ, डाइनामिक स्टेबिलिटी कन्ट्रोल र हिल होल्ड जस्ता उन्नत सुरक्षा र नियन्त्रण फिचरहरू रहेका छन्, जसले राइडिङलाई अझ सुरक्षित र स्थिर बनाउने कम्पनीले जनाएको छ।


Read Previous

तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता काठमाडौंमा शुरू, प्रथम हुनेले ५० हजार पाउने

Read Next

अमेरिका र इरान युद्धविराम उल्लङ्घनको आरोप प्रत्यारोपमा, इरानले क्षेत्रीय तनाव बढायो: कुवेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar