
फाइल तस्वीर।
रुग्ण हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी भइरहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बताएकी छन् ।
शनिबार हेटौँडा औद्योगिक क्षेत्रको निरीक्षण गर्दै मन्त्री यादवले लामो समयदेखि बन्द रहेको उद्योग सञ्चालनमा आए देशको आर्थिक विकास र रोजगारी बढाउन सहयोग पुग्ने बताइन् । उनले उद्योग सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको र कामलाई छिट्टै तीव्र बनाइने जानकारी दिइन् ।
सरकारले रुग्ण उद्योग पुनर्जीवित गर्ने नीति लिएको उल्लेख गर्दै मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेटमार्फत हेटौँडा कपडा उद्योग सञ्चालनका लागि बजेट छुट्याइने प्रतिबद्धता जनाइन् । बन्द उद्योग सञ्चालनमा आए रोजगारीका अवसर सिर्जना हुने उनको भनाइ थियो ।
निरीक्षणका क्रममा मन्त्री यादवले हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय र रुग्ण अवस्थामा रहेको कपडा उद्योगको अवलोकन गरेकी थिइन् । त्यस अवसरमा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयकी प्रमुख सङ्गीता कुवँरले औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरूको अवस्थाबारे जानकारी दिएकी थिइन् ।
अमेरिकी सहयोगमा विसं २०२० मङ्सिर २० गते स्थापना भएको हेटौँडा औद्योगिक क्षेत्रमा हाल १४७ उद्योग तथा प्रतिष्ठान सञ्चालनमा छन् । तीन हजार २२८ रोपनी क्षेत्रफलमा फैलिएको उक्त क्षेत्रमा खाद्य उद्योग, युनाइटेड ब्रुअरी, गोर्खा ब्रुअरी कम्पनी, एसियन पेन्ट्स, पशु आहारा दाना उद्योग तथा कार्टुन उद्योग प्रमुख रूपमा सञ्चालनमा रहेका छन् ।
