
चिनको उत्तरी शानक्सी प्रान्तस्थित एक विस्फोट भएको कोइलाखानी।
चिन। चिनको उत्तरी शानक्सी प्रान्तस्थित एक कोइलाखानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने दर्जनौँ कामदार अझै बेपत्ता रहेका छन् ।
सिन्ह्वा समाचार एजेन्सीका अनुसार लिउसेनयु कोइला खानीमा शुक्रबार साँझ ७:२९ बजे विस्फोट भएको हो । दुर्घटना हुँदा खानीभित्र २४७ जना कामदार रहेका थिए । तीमध्ये २०१ जनालाई शनिबारसम्म सुरक्षित रूपमा उद्धार गरिएको जनाइएको छ ।
स्थानीय आपतकालीन व्यवस्थापन अधिकारीहरूका अनुसार घटनामा आठ जनाको मृत्यु पुष्टि भएको छ भने ३८ जना अझै सम्पर्कविहीन रहेका छन् । बेपत्ता कामदारहरूको खोजी तथा उद्धार कार्य जारी रहेको बताइएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले घाइतेहरूको उपचारमा सबै सम्भावित प्रयास गर्न निर्देशन दिँदै घटनाको गहन अनुसन्धान गर्न आग्रह गरेका छन् । साथै उहाँले सबै क्षेत्र र विभागलाई कार्यस्थल सुरक्षामा थप सतर्क रहन र यस्ता दुर्घटना रोक्न आवश्यक कदम चाल्न निर्देशन दिएका छन् ।
यसअघि सिन्ह्वाले खानीभित्र कार्बन मोनोअक्साइडको मात्रा अत्यधिक विषाक्त स्तरमा पुगेको जनाएको थियो । केही बेपत्ता कामदारको अवस्था गम्भीर हुन सक्ने आशंका गरिएको छ ।
चिनमा पछिल्ला वर्षहरूमा खानी सुरक्षामा केही सुधार आए पनि पर्याप्त सुरक्षा मापदण्ड पालन नहुँदा यस्ता दुर्घटना अझै दोहोरिने गरेका छन् ।
