
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड को १२औं वार्षिक साधारणसभा काठमाडौंस्थित कालिमाटी ब्याङ्क्वेटमा सम्पन्न भएको छ। कम्पनीका सञ्चालक समिति अध्यक्ष नवीन सिलवाल को अध्यक्षतामा सम्पन्न सभाले सेयरधनीलाई ७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो।
स्वीकृत लाभांशअन्तर्गत ७ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांश समावेश गरिएको कम्पनीले जनाएको छ।
सभाले सञ्चालक समितिमा रेणुका पाण्डे र प्राप्ति अधिकारी लाई सदस्यमा चयन गरेको छ। अध्यक्षबाट प्रस्तुत वार्षिक प्रतिवेदनमाथि छलफल गर्दै सभा मार्फत अनुमोदन समेत गरिएको थियो।
त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका वित्तीय प्रतिवेदनहरू पारित गरिएको छ। आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि स्वीकृत भएको कम्पनीले जनाएको छ।
कम्पनीले भविष्यमा नयाँ क्षेत्रमा लगानी विस्तार गर्न सक्ने गरी सञ्चालक समितिलाई आवश्यक निर्णय गर्ने अधिकार प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ।
विशेष प्रस्तावअन्तर्गत कम्पनीलाई होल्डिङ कम्पनीका रूपमा विकास गर्ने, त्यसअनुसार नाम परिवर्तन गर्ने तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने निर्णय गरिएको छ। साथै, जारी पुँजी वृद्धि, हकप्रद सेयर निष्काशन तथा नियामक निकायमा आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिइएको छ।
कम्पनी रजिष्ट्रार कार्यालय लगायत सम्बन्धित निकायको निर्देशनअनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न पनि सञ्चालक समितिलाई अधिकार दिइएको कम्पनीले जनाएको छ।
सभामा सहभागी सेयरधनीहरूले लाभांश वितरणको निर्णयप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आगामी वर्षहरूमा समेत निरन्तर प्रतिफल सुनिश्चित गर्न व्यवस्थापनसँग आग्रह गरेका थिए।
कम्पनीले कुश्मा नगरपालिका–८ मा १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। उक्त आयोजना २०६९ सालदेखि व्यावसायिक उत्पादनमा रहेको छ।
