
काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन्। बिहीबार सम्पन्न निर्वाचनमा पाण्डेले ५१४ मत प्राप्त गर्दै प्रतिद्वन्द्वी आङदोर्जी लामालाई पराजित गरे। लामाले ४१३ मत ल्याएका थिए।
निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ‘मुकेश’ ४७४ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी रोशन दाहाल ४५२ मतमा सीमित रहे।
महासचिव पदमा भने पाण्डे समूहबाहिरका उम्मेदवार शिवहरि घिमिरे विजयी बने। घिमिरेले ५२७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बलिभद्र राना ३८० मतमा रोकिए।

त्यसैगरी प्रदेश उपाध्यक्षहरूमा कोशीबाट धिरेन्द्र दाहाल, मधेसबाट शम्भु ठाकुर, बागमतीबाट बालकृष्ण थापा, गण्डकीबाट खिमप्रकाश मल्ल, लुम्बिनीबाट सहदेव खड्का, कर्णालीबाट हिमबहादुर बुढा र सुदूरपश्चिमबाट प्रकाशबहादुर शेट्टी निर्वाचित भएका छन्।
नितिगत उपमहासचिवमा मंगल शाही र आन्तरिक उपमहासचिवमा सन्तोष शाह विजयी भए। महिला उपाध्यक्षमा गंगा पोखरेल निर्वाचित हुँदा कोषाध्यक्षमा उज्ज्वल गौतम र सह–कोषाध्यक्षमा उपेन्द्र घिसिङ चयन भएका छन्।
