Nepal Purbadhar

शुक्रबार, साउन ४, २०८१
Friday, July 19, 2024

शुक्रबार, साउन ४, २०८१
Friday, July 19, 2024

गुमनाम उमाकुण्डमा संभावनाका अष्ट ‘ज’


करिब एक दशक अगाडि मुलुक संघीयतामा गएपछि देशभर ७५३ वटा पालिकाहरू अस्तित्वमा आएका हुन । यी पालिकाहरूमध्ये सयौ पालिकाहरू आज पनि गुमनाम छन । सायद विशिष्ट संभावना र पहिचान लायकका क्षेत्रको अभाव तथा प्रभावकारी प्रयास हुन नसकेर तिनीहरूले पहिचान बनाउन सकेनन होला । तथापि अनगन्ती उत्कृष्ट स्रोत साधन, संभावना तथा विशिष्ट पहिचान लायकका क्षेत्रहरू भएर पनि गुमनाम रहेको पालिकामध्ये एउटा उमाकुण्ड हो । उमाकुण्ड बागमती प्रदेश र रामेछाप जिल्ला दुवैको सुदुर पूर्वी उत्तरी भागमा रहेको छ । यो संघीय राजधानी काठमाडौबाट २०० किमि, बागमती प्रदेशको केन्द्र हेटौडाबाट करिब ३०० किमि र जिल्ला सदरमुकाम मंथलीबाट ७५ किमि मोटर दुरीमा रहेको छ ।

जतिसुकै गुमनाम भए पनि उमाकुण्ड आश्चर्यजनक संभावना बोकेको पालिका हो । यसका संभावना रामेछाप जिल्लाका अन्य पालिकाको तुलनामा मात्र नभइ सिङ्गो देश भरका पालिकाहरूमध्ये अब्वल रहेको दावी गर्न सकिन्छ । वर्तमान समयमा यी संभावना उजागरको सवाल केही हदसम्म ओझेलमा परेको छ । प्रयत्न हुदै नभएको होइन तर पर्याप्त नभएको चाँहि यथार्थ हो । विद्यमान नेतृत्वले नै पर्याप्त इच्छाशक्ति राखी वस्तुगत प्राथामिकता, सही योजना र इमान्दार प्रयत्न गरेमा उच्चस्तरको समृद्धि हासिल गर्नेछ । उमाकुण्डले जिल्लामा मात्र नभइ सिङ्गो देशभरका पालिकाहरू माझ उत्कृष्ट पहिचान बनाउने उत्तिकै संभावना देखिन्छ । उमाकुण्डलाई सम्वृद्धिको शिखरमा पु¥याउनका लागि कुनै जादु आवश्यक छैन । बरु यसभित्र रहेका जमिन, जलस्रोत, जङ्गल, जनजाति र तिनका विशिष्ट संस्कृति, जीवजन्तु तथा जनावर, जलवायु र जैविक विविधता, जडिबुटी र जनशक्ति छन । ‘ज’ बाट उच्चारित शब्दसँग सम्बन्धित यी आठवटा क्षेत्रहरू छन । यी क्षेत्रलाई अष्ट ‘ज’ को पालिकाको रुपमा पनि स्थापित गर्न सकिन्छ । उल्लेखित अष्ट ‘ज’ मा उमाकुण्ड जसोतसो होइन जबरजस्त अब्बल छ । यी अष्ट ‘ज’ का अवस्था र संभावनाबारे चर्चा गरौं ।

१. जमिन

रामेछापको कूल क्षेत्रफल १ हजार ५४६ वर्ग किमि छ भने ४५२ वर्गकिमि अर्थात जिल्लाको एकतिहाइ भूभागमा उमाकुण्ड पालिका फैलिएको छ । कुल ११९ वर्ग किमिको भक्तपुर तथा ४१३ वर्गकिमिको सिङ्गो काठमाडौ जिल्लाभन्दा पनि उमाकुण्ड गाँउपालिका जमिनका आधारमा ठूलो छ । यस विशाल भूभागमा गाउँबस्ती, खेतीबारी, बेँशी चरण लयायत जङ्गल, नागी, ताल, हिमताल, डाँडापाखा, ऐतिहासिक स्लेट ढुङ्गा तथा फलाम खानी, नदी, हिमनदी, शिखर र सुन्दर हिमचुचुरा समेत रहेका छन । सम्पन्नताको लागि जमिनलाई मात्र आधार मान्ने हो भने पनि औसतमा प्रत्येक उमाकुण्डवासीको भागमा ठूलो हिस्सा जमिन पर्दछ । सिङ्गो नेपालमा १९८ जनाको भागमा १ वर्गकिमि क्षेत्रफल पर्दछ भने उमाकुण्डबाहेक बाँकी रामेछापका १३७ जनाको भागमा १ वर्गकिमि पर्दछ । जबकि मात्र ३६ जना उमाकुण्डवासीको भागमा नै १ वर्गकिमि जमिन रहेको छ । यसरी तुलना गर्दा औसत नेपालीको भन्दा साढे पाँच (५.५) गुणा बढी जमिन प्रत्येक उमाकुण्डवासीको भागमा पर्छ ।

२. जलस्रोत

जलस्रोतलाई आधार मान्दा उमाकुण्डको स्थान रामेछाप जिल्लामा मात्र नभइ संभवत नेपालकै केही दर्जन पालिकाभित्र नै आउँछ । जिल्ला सदरमूकाम र आसपासभन्दा तीन गुणाभन्दा बढी अर्थात वार्षिक औसत ३ हजार मि.मि. भन्दा बढी वर्षा हुन्छ । सप्तकोसीको सहायक नदी लिखु र यसमा मिसिने साना ठूला दर्जनौ खोला खोल्साहरू, नदी, हिमनदी, ताल, हिमताल, कुण्ड तथा मूलहरू जस्ता जलस्रोतबाट उमाकुण्ड सम्पन्न छ । पिउनका लागि प्रसस्त स्वच्छ पानीका मूलहरू र सिंचाइका लागि खेतबारीका नजिकै प्रयाप्त स्रोतहरू रहेका छन । यहाँ दर्जनौ जलविद्युत आयोजनाहरू छन भने उमाकुण्डभित्रै लिखु नदीमा सातवटा यस्ता आयोजना छन । त्यस्तै आधा जति त सम्पन्न नै भइसकेका छन । यी आयोजनाबाट यहाँका बासिन्दालाई रोजगारी लगायत आयआर्जनका प्रशस्त अवसर प्राप्त हुन्छन भने वर्तमान नीति अनुसार पनि यी आयोजना सम्पन्न भएपछि प्रत्येक उमाकुण्डवासीको भागमा औसत जिल्लावासी वा समग्र नेपालीको भन्दा धेरै गुणा बढी विद्युत रोयल्टी प्राप्त हुने अवस्था छ ।

३. जंगल

उपलब्ध जंगलका आधारमा पनि उमाकुण्ड धेरै नै सम्पन्न छ । जैविक विविधताले सम्पन्न गौरीशंकर संरक्षण क्षेत्रको ठूलो भूभाग उमाकुण्डमा नै पर्दछ । जिल्लामा नै सबैभन्दा ठूलो देवदार वर्र्गको नरम काठको जंगल (धुपी, सल्ला, ठिंगुरे, ढ्याङग्रे आदि) उमाकुण्डमा नै छन । यस जंगलबाट लडे ढलेका र पुराना रुखहरूको मात्र व्यवस्थित फसल गर्ने हो भने मात्र पनि यहाँका मानिसहरूको काठ तथा फर्निचर्सको आवश्यकता मात्र पुरा गर्ने नभइ ठूलो मात्रामा रोजगारी र आयआर्जन गर्ने अवस्था छ । राष्ट्रिय फूल लालिगुराँस लगायत धेरै थरीका सेतो र रङ्गीचङगी फूल फूल्ने गुराँसको ठूलो जंगल उमाकुण्डको अर्को महत्वपूर्ण सम्पदा हो । यहाँ राष्ट्रिय वनबाहेक जनजिविकालाई सहज बनाउने र आयआर्जनमा टेवा पु¥याउने जिल्लाको अन्य क्षेत्रका तुलनामा थुप्रै सामुदायिक वन, कबुलियती वन, निजी वन र धार्मिक वन रहेका छन ।

४. जनजाती र तिनका विशिष्ट सास्कृतिक सम्पदा

उमाकुण्ड गाउँ सर्वेक्षण २०७६ अनुसार करिब २५ हजार जना र राष्ट्रिय जनगणना २०७८ अनुसार १६ हजार ५९० जना मानिसहरू यहाँ रहेकोमा विशिष्ट संस्कृति, परम्परा भेषभुषा तथा रहनसहन बोकेका आदिवासी सुनुवारहरूको हिस्सा २२.५ प्रतिशत छ । मौलिक पहिचान बोकेका मंगोल मूलका शेर्पाहरूको हिस्सा ११ प्रतिशत छ । प्रकृति पूजक किरात मूलका सुनुवारहरूको ऐतिहासिक राजथलो पनि उमाकुण्ड नै हो । देशभरमा नै विशिष्ट चण्डी लगायत सुनुवारका मौलिक जातिय प्रचलन रहेको स्थान पनि यही हो । तिब्बती पात्रो अनुसार सांस्कृतिक गतिविधि गर्ने विशेष पहिचान भएका शेर्पाहरूको महत्वपूर्ण थातथलो पनि उमाकुण्ड हो । बौद्ध धर्मसँग सम्वन्धित राष्ट्रिय ख्याती र महत्व बोकेका दर्जनौ गुम्वाहरू उमाकुण्डमा छन । ल्होसार, न्यूनी लगायत विशेष पहिरन, भाषा, रहनसहन र मौलिक संस्कृति यहाँका शेर्पाहरूका प्रदर्शन लायक सांस्कृतिक सम्पदा हुन । उमाकुण्डमा बसोबास गर्ने ३५ प्रतिशतको हिस्सामा रहेका क्षेत्रीहरूको गोठ पूजा लगायत मस्टो (कुलपूजा वा देवाली) संस्कृतिको अलग्गै रौनकता रहेको छ । स्थानीय जात्रा, धामीझाँक्री चलन समेत अन्य जातिहरूका केही राम्रा पहिचान छन् ।

५. जलवायु र जैविक विविधता

उमाकुण्ड ८७५ मिटरको उचाइदेखि सुरू भइ ६ हजार ९५८ मिटरको उचाइसम्म फैलिएको छ । यहाँ भूमध्य रेखीय क्षेत्रमा पाइने उष्णबाहेक चारै किसिमको हावापानी पाइन्छ । उमाकुण्डको प्राय सबै क्षेत्रमा वार्षिक ३ हजार मि.मि भन्दा बढी वर्षा हुने र अनुकुल जलवायुका कारण जीव र वनस्पतीमा विविधता मात्र होइन अतुलनीय सम्पन्नता नै छ । यहाँका शिखरको टुप्पामा सुगन्धवाल सुनापती धुपीदेखि खोँचमा बहुमूल्य सुनाखरीसम्म पाइन्छ । त्यस्तै तल्लो क्षेत्रमा पतझरदेखि माथिल्लो भागमा मूल्यवान सदाबहार कोणधारी जंगलसम्म पाइन्छ । उच्च भागमा झ्याउ लेउदेखि अनगन्ती प्रकारका वनस्पतीहरm यहाँ पाइन्छन् । जीवजन्तुका लागि पनि उमाकुण्डको माथिल्लो भागलाई भू–स्वर्ग नै मान्दा हुन्छ । संसारकै दुर्लभ चरो काडे भ्याकुरदेखि लोपोन्मूख चौरीगाई हुदै अनगन्ती जंगली जनावरहरू यहाँ पाइन्छन । तल्लो क्षेत्रमा अन्नबाली लगायत ‘सिट्रस’ जातका फलफूलको सफल उत्पादन हुन्छ भने जलवायु अनुकुलताका कारण आलु, किवी, चिया, अलैचीको व्यवसायिक खेतीदेखि स्याउ सम्मको उत्पादन हुन्छ । उपयुक्त जलवायु र पर्याप्त वर्षाको कारण उमाकुण्डको जैविक भण्डार र संभावना जिल्लामा मात्र होइन, सिङ्गो देशमा नै अतुलनीय छ ।

६. जीवजन्तु तथा जनावर

उपयुक्त जलवायु र पर्याप्त जंगलका कारण उमाकुण्डलाई प्राकृतिक चिडियाखाना मान्दा पनि हुन्छ । गौरीशंकर संरक्षण क्षेत्रको उल्लेख्य हिस्सा उमाकुण्डमा नै पर्दछ । यस क्षेत्रमा कस्तुरी, मृग, घोरल, झारल, हाब्रे, ब्वाँसो, भालु, हिमचितुवा लगायत धेरै थरीका जनावरहरू पाइन्छन् । यहाँका लेकका फाँटहरूमा लोपोन्मूख हिमाली चौरी गाइहरू यत्रतत्र चरिरहेका पाइन्छन । लामालामा रौ हुने सिनाल बाख्रा र ठूला टाउका भएका भोटे कुकुर उमाकुण्डका अर्का आकर्षण हुन । चराचुरूङ्गीमा पनि उमाकुण्ड धनी छ । नेपालको राष्ट्रिय चरो नवरङ्गी डाँफे लगायत अनगन्ती चराहरू पाइन्छन । संसारमा नै दुर्लम मानिने र नेपालमा मात्र पाइने काँडे भ्याकुर यही उमाकुण्डको ताँबे डाँडा आसपास मात्र पाइन्छ ।

७. जडिबुटी

उमाकुण्डको जडिबुटीको चर्चा नगर्ने हो भने यहाँको विशिष्ट वरदान बानस्पातिक साम्राज्यको कुरा अधुरो नै हुन्छ । कर्णालीको चर्चित यार्सागुम्बादेखि अन्य हिमाली र लेकाली क्षेत्रमा पाइने जडिबुटी यहाँ पाइन्छ । पाँच औले, कुट्की, पुङ्मार, पदमचाल, सिलटिमुर, तिनतले बाँको, रातो च्याउ, ठूलो ओखतो, बोझो, नागबेली पाउडर, पाखनवेत, मजिटो, मच्छिनोलगायत तीन दर्जन बढी प्रजातीका जडिबुटी यहाँ पाइने मात्र होइन, केही जडिबुटीको त भण्डारै हो कि जस्तो पनि लाग्छ । धेरै जडिबुटी प्राकृतिक रुपमा संकलन गरिन्छ भने चिराइतो, रोजमेरी, सुगन्धवाल, जटामसी, लोठसल्ला आदिको व्यवसायिक खेती गरिएको पाइन्छ । यस्ता जडिबुटीको संकलन, प्रशोधन र खेतीबाट यहाँका मानिसले नाम मात्र होइन प्रशस्त दाम पनि कमाउने उच्च संभावना छ ।

८. जनशक्ति

अष्ट ‘ज’ का स्रोतमध्ये जनशक्ति (मानव स्रोत) सबैभन्दा महत्वपूर्ण स्रोत हो । सबै प्रकारका स्रोतलाई परिचालन गर्ने साधन पनि यही नै हो । उमाकुण्डमा बसोबास गरीरहेका १६ हजार ५९० जनसंख्याबाट नै यस्तो जनशक्तिको ठूलो हिस्सा निर्माण भएको छ । बाहिरबाट प्राप्त जनशक्ति पनि वैधानिक निकायबाट प्रमाणित योग्यतम जनशक्ति नै हो । यस्तो जनशक्तिको पहिलो वर्र्गमा वर्तमान समयमा नै परिणाम निकाली उमाकुण्डलाई विकासको मार्गमा डो¥याउन र सुशासन दिन कार्यरत जनप्रतिनिधि, प्रशासक र कर्मचारी लगायतको करिब १७० जनाको सुविधाधारी समूह हो । दोस्रो वर्गमा भावी जनशक्ति (भविष्यका कर्णधार) उत्पादनमा संलग्न शिक्षक, कर्मचारी र शिक्षा प्रशासक गरी करिव २५० जना जनशक्ति सम्लग्न छ । समग्रमा उमाकुण्डमा ४५० जनाको जनशक्तिको समूह नै उमाकुण्डको सशासन लगायत यहाँको भाग्य र भविष्यको रूपरेखा कोर्ने कार्यमा संलग्न भइरहेको दावी गरिन्छ । यस्तो जनशक्ति पाल्न र परिचालन गर्न उमाकुण्डले वार्षिक बीसौ करोड रकम राज्यकोषबाट प्रत्यक्ष लगानी गरिरहेको अवस्था तथ्याङ्कबाटै देखिन्छ ।

भौगोलिक, प्राकृतिक, जैविक र सांस्कृतिक आधारमा उमाकुण्ड सम्पन्न छ । यो सम्पन्नतालाई प्रमाणित गर्ने चुनौती यहीका राजनैतिक नेता, जनप्रतिनिधि, प्रशासक, कर्मचारी, शिक्षकहरूमा नै रहेको छ । यसमा इमान्दार प्रयास र प्रयत्न भएको भए गुमनाम उमाकुण्डले संभावना अनुसार सुनामका खातिर केही मार्ग तय गरी सक्नु पर्ने हो । यसमा अब पनि ढिलो भयो भने आउने पुस्ताले उमाकुण्डको इतिहासमा नाम राख्न खोज्ने निर्णायकहरू र साझेदारहरूलाई माफ गर्ने छैन । कसैले विविध स्वार्थका कारण घोषित रुपमा प्रश्न नगरे पनि उमाकुण्डको विकास र सम्वृद्धिको नाममा लिए खाएको प्रत्येक वैधअवैध दामले विकास साझेदारका रुपमा रहेका हामी प्रत्येकको आत्माको रुपमा रहेको ‘म’ लाई धिकार्ने हुँदा हर संभावनाका लागि यो जनशक्ति अग्रसर मात्र होइन अब्बल हुनुपर्ने चुनौती छ । यो दायित्व पूरा भए नभएको मूल्याङ्कन गर्ने र निष्कर्ष निकाल्ने काम यहाँका नेता, प्रशासक, जनप्रतिनिधि, शिक्षक, विकास विचौलिया र स्वार्थ समूहको भन्दा पनि आम उमाकुण्डवासी, जिल्लावासी र छिमेकीको हो । आम मानिसले गर्ने अनुभूतिबाट मापण गरिने हो अनि वस्तुनिष्ट विकास सुचाङ्कले देखाउने र पुष्टि गर्ने कुरा हो ।

उपसंहार
उमाकुण्ड प्रकृतिबाट प्राप्त हुने सबै क्षेत्रमा उत्कृष्ठ हुने र सर्बत्र संभावनै संभावना देखिने तर मानवीय प्रयत्नबाट हासिल हुने कुरामा मात्र गुमनाम हुने भन्ने विषय हुनै सक्तैन । दूरदृष्टि, इच्छा शक्ति र इमान्दार प्रयासबाट कयौं गुमनाम स्थानीय तहले मरुभूभिलाई मरुद्यान बनाइ प्रसिद्धि कमाएका समाचार पनि आइरहेका छन । तर उमाकुण्डमा अष्ट ‘ज’ मा उल्लेख भएका सुन्दर हिमाल, हिमनदी, हिमताल, ताल, नदी, विशाल जमिन, विशाल जंगल, विविधतायुक्त जलवायु, जैविक विविधता, जडिबुटीको खानी, ऐतिहासिक खनिज, जातजातिका विशिष्ट संस्कृती हुदाहुदै पनि यहाँका मानिसलाई उज्ज्वल भविष्यप्रति आशावाादी बनाइन नसकिनु विडम्वना नै हो । यो आशाबादी बनाउने दायित्व र कर्तव्य माथि उल्लेखित नेतृत्व तह र जनशक्ति कै हो ।

उमाकुण्डमा पनि केही नभएको होइन, भएकै दावी गरिएको छ, तथापि विगतको समयमा भन्दा सयौ गुणा स्रोत साधनको उपस्थिति र पर्याप्त अधिकार छ । तर समाज विकास र रुपान्तरणको गति अपेक्षाभन्दा न्यून छ । अबको पुस्ता ‘जननी जन्म भूमिश्च स्वर्गदपि गरियसी’ को आदर्शलाई जप्दै र उमाकुण्डको स्रोतमा गर्व गर्दै पूर्खाको थातथलो रुगेर बस्नेवाला छैन् । बदलिदो पुस्तालाई परिणाम चाहिन्छ । तीब्र गतिमा पलायन भैरहेको नयाँ पुराना पुस्तालाई यही भविष्य देखाउन आय आर्जन र सेवा सुविधाका बुलन्द अवशर सिर्जना गरिनु पर्दछ । जतिसक्दो चाँडो चौतर्फी पूर्वाधार तयार पारिनु पर्दछ । यसका लागि उमाकुण्डलाई प्रचुर बरदान प्राप्त छ र स्रोतको पनि खाँचो छैन । खाँचो र अभाव उही दुरदृष्टि, उच्च मनोबल र इमान्दार प्रयत्नको मात्र छ ।


Read Previous

श्री एयरलाइन्सले काठमाडौं-भरतपुर परीक्षण उडान गर्याे  

Read Next

मालढुङ्गा-बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *