Nepal Purbadhar

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण    उद्योग विभागद्वारा ४ परियाेजनाकाे ९ अर्ब १३ करोड रुपैयाँ बराबरकाे लगानी स्वीकृत    तनहुँकाे व्यासमा सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता    म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण    लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

सडक र पदमार्गले छोटियो धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्रा   


म्याग्दी । सडक र पदमार्ग निर्माण भएपछि म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्राअवधि छोटिएको छ ।

मालिका गाउँपालिका–७ बिमदेखि बिमवाङ– धौलागङ्गा हुँदै मालिकाधुरी नजिकैको नागीथलासम्म सडक पुगेको छ । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले सडक निर्माण भएपछि मालिकाधुरी पुग्न पर्यटक र भक्तजनलाई सहजका साथै यात्रा अवधि छोटिएको बताए ।

“मालिकामा पूजाआजा, दर्शन र दृष्यावलोकन गर्नका लागि अब अघिल्लै दिन गएर टहरा, ओडारमा बास बस्नुपर्दैन”, उनले भने, “बिमदेखि नागीथलासम्म गाडीमा एक घण्टा र नागीथलादेखि मालिकाधुरीसम्म करिब ४५ मिनेट पैदलयात्रा गरेपछि पुगिन्छ ।”

मालिका गाउँपालिकाले खारा–बिम सडक स्तरोन्नति र मालिकाधुरी नजिकैको नागीथलामा सडक पुर्याउन २०७८ माघमा दिव्यज्योति–नाना जेभीसँग १ करोड ५९ लाख ५४ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

गाउँपालिकाका पूर्वाधार शाखाका प्रमुख दीपक सापकोटाले सो योजनामार्फत नागीथलासम्म दुई किलोमिटर नयाँ मार्ग खनिएको र खारा क्षेत्रमा सडक स्तरोन्नतिको काम सकिएको जानकारी दिए । २०७९ असारमा सम्पन्न हुनुपर्ने सडक निर्माण कम्पनीका प्रतिनिधिको ढिलासुस्ती र लापर्वाहीका कारण ढिलाइ भएको हो । पछिल्लो पटक काम गर्नुभएका निर्माण कम्पनीका प्रतिनिधि नारायण जिसीले अघिल्ला प्रतिनिधिले दुई वर्षसम्म नगरेको काम आफूले दुई महिनामै सकेको बताए ।

मालिका गाउँपालिकाको वडा नं ७ र ६ तथा रघुगङ्गा गाउँपालिकाको वडा नं ६ को सिमानामा अवस्थित मालिका धुरी समुद्री सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा अवस्थित छ । २० भन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका ३५ भन्दा बढी गाउँ, लालीगुराँस, वन्यजन्तु, पन्छीको अवलोकन गर्न सकिने मालिकाको धार्मिक महत्त्व छ ।

दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको मालिका क्षेत्र विकास समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताए । “सन्तान, रोजगारी, शिक्षा, व्यापार, व्यवसायदेखि राजनीतिमा सफलताको कामना पूरा भएकाको जेष्ठी, चण्डी पूर्णिमा र भाइतिहारका दिन पूजाअर्चनाका निम्ति आउनेको भीड लाग्छ”, उनले भने, “म्याग्दी र छिमेकी जिल्लाका साथै काठमाडौँ, पोखरालगायत ठाउँबाट पनि भक्तजन आउँछन् ।”

मालिका, कालिका र जाल्पादेवीको मूर्ति रहेको मालिका थानमा भाकल पूरा भएमा बोका र परेवा चढाउने चलन छ । लालीगुराँसको जङ्गलको बीचमा रहेको मालिकादेखि सिस्ने, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लुलगायत २० भन्दा बढी हिमशृङ्खलाका साथै म्याग्दीका अधिकांश बस्तीको अवलोकन गर्न सकिन्छ ।

सडक पुगेको नागीथलादेखि मालिकाधुरीसम्म ३ वर्षअघि गण्डकी प्रदेश सरकारअन्तर्गतको भू तथा जलाधार संरक्षण कार्यालयले ३९ लाख २० हजार रुपैयाँ लगानीमा १.५ मिटर चौडाइ फराकिलो एक हजार २७२ मिटर ढुङ्गाको सिँढीसहितको पदमार्ग निर्माण गरेको थियो ।

सडक र पदमार्ग बनेपछि मालिकाको यात्रा अवधि छोटिएको बिमका टीकाबहादुर जुग्जालीले बताए ।  मालिका गाउँपालिकाले यसअघि ८३ लाख रुपैयाँ लागतमा बिम हुँदै मालिकाधुरी जाने ११ किलोमिटर सडक निर्माण गरेको थियो ।

रघुगङ्गा गाउँपालिकालले ठाडाखानीदेखि पहिरेनीसम्म करिब ५ किलोमिटर सडक र बथानडाँडादेखि सरघारीसम्मको उकालो बाटोमा ३ किलोमिटर पैदलमार्ग निर्माण गरेको छ । सदरमुकाम बेनीबाट सवारी साधनम लिएर एकै दिन र पैदलयात्रा गर्दा दुई दिनमा पुगिने मालिका क्षेत्रको जङ्गलमा पाइने वन्यजन्तु, पन्छी, विभिन्न प्रजातिका फूल, जडीबुटी र वन पैदावार पनि उत्तिकै चित्ताकर्षक छन् ।


Read Previous

काठमाडाैंमा बाह्रै महिना मेलम्चीकाे पानी ल्याउन ४ अर्ब बढी लगानी चाहिने

Read Next

सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग

Leave a Reply

Your email address will not be published.