तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रले बाँधको किनारमा रहेको नौ रोपनीभन्दा बढी जग्गा अधिग्रहण गरेको छ । ६९ मेगावाट क्षमताकाे जलविद्युत केन्द्रले बाँध क्षेत्रकाे बस्ती डुबान र कटानमा परेपछि जग्गा अधिग्रहण गरी मुआब्जा दिन सुरु गरेकाे हाे ।
केन्द्रले ९ रोपनी १० आना २ पैसा ३ दाम जग्गा अधिग्रहण गरी मुआब्जा बितरण गर्न थालेको केन्द्रका प्रमुख पशुपति गौतमले जानकारी दिए । उनका अनुसार मानवीय क्षति हुने उच्च जोखिम देखिएकाले त्यस ठाउँका सर्वसाधारणले मुआब्जा दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएकामा अहिले उनीहरुको माग पूरा गरिएकाे हाे ।
उक्त स्थानका १३ जनाको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण गरिएअनुसार २१ करोड ७८ लाख ८५ हजार ९ सय ६७ रुपैयाँ प्रदान गरिने गाैतमले जानकारी दिए ।
जग्गा खरिदका लागि १७ करोड ८७ लाख ८६ हजार ६ सय ५२ रुपैयाँ र घरटहराका लागि ३ करोड ९० लाख ९९ हजार ३ सय १५ रुपैयाँ वितरण गरिने केन्द्रले जनाएको छ ।
गत साउन २६ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णयअनुसार यसअघि ८० प्रतिशत भन्दाबढी मुआब्जा वितरण गरिसकिएको जनाइएको छ ।
प्रतिरोपनी एक करोड ८४ लाख ९२ हजार ६८० का दरले जग्गाको मुआब्जा निर्धारण गरिएको जिल्लाा प्रशासन कार्यालयले जनाएको छ ।