Nepal Purbadhar

अस्थायी आवास निर्माण सरलीकृत : रकम पठाउने कार्य द्रुतमार्गबाट


काठमाडौं । सरकारले भूकम्प प्रभावितको अस्थायी आवास निर्माणका लागि रकम निकासासम्बन्धीको कार्यविधिलाई सरलीकृत गरेसँगै रकम निकासाको काम तीव्र पारेको छ । माग हुनेबित्तिकै निकासा गर्नेगरी तयारी गरिएको छ ।

हालै सरकारले “भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० लाई केही संशोधन गर्दै सरल बनाएपछि आजसम्ममा भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापत दुई करोड ५३ लाख ५० हजार  रूपैयाँ  निकासा भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार लाभग्राही निश्चित भएका एक हजार १४ लाभग्राहीका लागि उक्त रकम निकासा गरिएको हो ।

प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले उक्त रकम लाभग्राहीको हातमै पुगिसकेको जानकारी दिए । कार्यविधि संशोधन गर्दै सरकारले बैंक खातामा दिनुपर्ने अनिवार्य व्यवस्थालाई संशोधन गरी हातमै दिन सकिने गरी कार्यविधि बनाएको थियो ।

सोही आधारमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका पहिचान भएका ६४ घरपरिवार (लाभग्राही) का लागि १६ लाख, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका पाँच सय लाभग्राहीका लागि १ करोड २५ लाख र रुकुम पश्चिमकै सानीभेरी गाउँपालिकाका चार सय ५० लाभग्राहीका लाग १ करोड १२ लाख ५० हजार रूपैयाँ निकासा भएको प्रवक्ता खड्काले जानकारी दिए ।

बाजुरा जिल्लाको पाँच स्थानीय तहबाट एक हजार तीन सय ६१ लाभग्राही कायम गरी जिल्लाबाट रकम निकासाको माग भइआएका र उनीहरूका लागि पनि छिट्टै रकम निकासा हुने उनले बताए ।

सरकारले चिसोको समयमा छिटो लाभग्राहीको अस्थायी घर निर्माण गर्नुपर्ने भएकाले सोहीअनुसार रकम निकासा तीव्र पारिएको जनाएको छ । लाभग्राही निश्चित भएर रकम माग हुनेबित्तिकै अन्य क्षेत्रका लाभग्राहीका लागि पनि अस्थायी आवास निर्माणबापतको पहिलो किस्ताको रकम निकासा हुने पनि उनले बताए ।  पहिलो किस्ताबापत प्रतिलाभग्राहीले २५ हजार रूपैयाँ पाउनेछन् ।


Read Previous

डिजिटल अर्थतन्त्रको विकासमा फाइभजी प्रविधि प्रयोगबारे छलफल

Read Next

पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु