Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

भाेजपुरका फलाटे र लालटेमा गाउँमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत


भाेजपुर ।  जिल्लाकाे हतुवागढी गाउँपालिकाको फलाटे र लालटे गाउँमा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच पुगेकाे छ । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले विद्युतीकरण विस्तार गरी  हतुवागढी गाउँपालिका–१ को २ गाउँमा विद्युत पहुँच  पुर्याएकाे हाे ।

 प्राधिकरणका प्राविधिक कर्मचारी काजीमान राईले फलाटे र लालटे क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच पुगेको जानकारी दिए । उनका अनुसार विद्युतीकरण विस्तारपछि गाउँका १ सय घरधुरीमा विद्युत सेवा पुगेकाे छ । अहिले ३५ घरधुरीमा विद्युत् मिटरसमेत जडान भइसकेकाे उनले बताए ।

विद्युत पहुँच पुगेपछि गाउँकाे जनजीवन सहज भएकाे फलाटे गाउँका भीम परियारले बताए । “बिजुली कहिले आउला र घर उज्यालो होला भन्ने लागेको थियो, तिहारको समयमा नै घरमा बिजुली बाल्न पाइयो, हामी खुसी छौं,” उनले भने ।

भोजपुर सदरमुकामबाट दक्षिणमा हतुवागढी गाउँपालिकाको दुई टोलमा विद्युत् सेवा पुगेसँगै सो क्षेत्रका करिब एक सय घरधुरीले विद्युत् सेवा उपयोग गर्न पाउने नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीले बताए । “गाउँपालिका क्षेत्रमा विद्युतीकरण गर्ने कार्यअन्तर्गत ती दुई वडामा पनि विद्युतीकरण कार्य गरिएको हो ,” उनले भने ।

घरमा बिजुली बाल्न पाएपछि सो क्षेत्रका नागरिकमा अहिले खुसियाली छाएको छ । स्थानीय रामबहादुर सुवेदीले वर्षौंदेखि बिजुली घरमा बाल्ने चाहना अहिले आएर पूरा भएको बताए । “गाउँ बस्तीमा पुगेको बिजुलीले चमक थपेको छ । गाउँमा विद्युतीकरण हुनु पनि विकासको एउटा फड्को हो,” उनले बताए ।

गाउँमा विद्युतीकरण भएपछि बाँकी रहेका अन्य घरमा पनि विद्युत् मिटर उपलब्ध गराइने प्राधिकरणले जनाएको छ । जिल्लामा करिब ८१ प्रतिशत विद्युतीकरण भइसकेको छ भने विद्युतीकरणका लागि धैरे बाँकी रहेको आमचोक र साल्पासिलिछो गाउँपालिका क्षेत्रमा पनि पूर्ण विद्युतीकरणका लागि बोलपत्रमार्फत कार्य अघि बढ्ने प्राधिकरणका कर्मचारी दुर्गानन्द चौधरीले बताए । जिल्लामा हाल राष्ट्रिय प्रशारण केन्द्रबाट २४ हजार घरसधुरीले बिद्युत सेवा उपयोग गरी रहेका छन् ।


Read Previous

महसुल नतिर्ने ग्राहकको पानीकाे धाराको लाइन काटियो     

Read Next

बाग्मती किनारालाई सुन्दर बनाउने पूर्वाधार संरचनाको संरक्षणमै चुनौती

Leave a Reply

Your email address will not be published.