
काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवालगायत प्रभावित क्षेत्रमा बाढीपहिरोपछि खोज, उद्धार तथा राहतको पछिल्लो विवरण अनुसार हालसम्म १ हजार ३५५ जनाको मृत्यु भएको पुष्टि भएको छ। विभिन्न स्थानमा फेला परेका शवमध्ये ९८ ओटाको सनाखत गरी आफन्तलाई बुझाइएको छ।
फेला परेका शवमध्ये रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ ओटा रहेका छन्।
प्राधिकरणका अनुसार अझै ४ हजार ९९६ जना सम्पर्कविहीन छन्। रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणअनुसार रसुवामा १ हजार ९६७, नुवाकोटमा २ हजार ३४०, सुरक्षाकर्मी तथा कर्मचारी करिब १०० र विदेशी नागरिक ५८९ जना सम्पर्कविहीन छन्।
पहिचान नभएका शव तथा उद्धार गरिएका व्यक्तिहरू पनि सम्पर्कविहीनको सूचीमा परेको हुनसक्ने भएकाले तथ्याङ्क रुजु गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ।
हालसम्म १३ हजार ३९६ जनाको सकुशल उद्धार गरिएको छ। घाइते भएका ६ हजार ६७२ जनाको उपचार गरिएको छ। तीमध्ये विभिन्न अस्पतालमा ३२३ जना उपचाररत रहेका छन् भने २२८ जना डिस्चार्ज भइसकेका छन्। नेपाली सेनाबाट ३ हजार ३७९ र सशस्त्र प्रहरी बलबाट २ हजार ९७० जनाको उपचार गरिएको छ।
प्रभावित क्षेत्रका ३९ ओटा होल्डिङ सेन्टरमा ३ हजार ५३३ जना आश्रय लिइरहेका छन्। तीमध्ये रसुवामा ६६९, नुवाकोटमा २ हजार ६५१ र धादिङमा २१३ जना छन्।
खोज तथा उद्धारका लागि २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार २८७ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी परिचालन भएका छन्।
प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगका लागि स्वास्थ्य मन्त्रालयमार्फत १५० जना मनोसामाजिक परामर्श जनशक्ति परिचालन गरिएको छ।
उद्धार तथा राहतका लागि नेपाली सेनाले हालसम्म १ हजार १५७ उडान गरेको छ। सोमबार मात्रै सेनाले ३९ उडान गरेको छ। निजी क्षेत्रका हेलिकप्टरले काठमाडौंमा १२९ र सशस्त्र प्रहरी बलले १९३ उडान गरेका छन्।
विद्युत् र सञ्चार सेवा
प्राधिकरणका अनुसार रसुवामा ७८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र धादिङमा ९९.८ प्रतिशत घरधुरीमा विद्युत् सेवा सुचारु भइसकेको छ।
सञ्चारतर्फ नेपाल टेलिकमका १२० मध्ये ११७ ओटा टावर र एनसेलका ७८ मध्ये ७६ ओटा टावर सञ्चालनमा आएका छन्।
नगद राहत र इन्धन आपूर्ति
नेपाल सरकारले रसुवा र नुवाकोटलाई १/१ करोड रुपैयाँ, धादिङलाई ५० लाख रुपैयाँ र प्रभावित १५ पालिकालाई कुल १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ।
राहत सामग्री ढुवानीका लागि एक हेलिकप्टर र चार ट्रकमार्फत खाद्यान्न, जेनेरेटर, हाइजिन किट तथा स्टुडेन्ट किट रसुवा पुर्याइएको छ।
प्रभावित क्षेत्रमा ५८ हजार लिटर डिजेल, २५ हजार लिटर पेट्रोल, १३ हजार लिटर हवाई इन्धन र ४५३ ओटा ग्यास सिलिन्डर अनुदानमा पठाइएको प्राधिकरणले जनाएको छ।
