Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइनकाे विद्युत केयुले साधारणीकरण सञ्चार-ढाँचाको २ दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने नारायणगढ-बुटवल सडक कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान पहुँचमार्ग जीर्ण हुँदा राहुघाट र सहायक नदीमा निर्माणाधीन जलविद्युत आयोजनालाई समस्या    सामाजिक उत्तरदायित्व अन्तर्गतकाे रकम भुक्तानी नहुँदा मध्यभोटेकोशीको काम प्रभावित विद्युत नियमन आयोग स्थापनाको ५ वर्ष, १ हजार बढी निवेदन उपर कारबाही ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता हरिचोक-याम्दी सडक समयमा नबन्दा हिलो र धुलोले यात्रुलाई सास्ती   

के छ काठमाडौंबाट बाहिरिने सडकको अवस्था ? उपत्यकाबाट बाहिरिने र आउने यात्रु संख्या २० लाख पुग्ने


काठमाडौं । दशैं शुरु भएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किनेको संख्या दिनानुदिन बढ्दै गएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र दैनिक उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रु तथा सवारी साधनको तथ्यांक संकलन गरिरहेको ट्राफिक प्रहरीका अनुसार यो वर्ष १० लाख मानिसले दशै मनाउनको लागि काठमाडौं छाड्दैछन् ।

तर, त्यति नै संख्यामा उपत्यका बाहिरबाट पनि दशै मनाउनको लागि काठमाडौं भित्रने अनुमान छ । यसअनुसार दशैं, तिहार र छटलगायतका चाडपर्वको अवसरमा मात्रै २० लाख मानिसको आउने जाने गर्नेछन् । चाडपर्वलाई केन्द्रित गरी विद्यालयदेखि विश्वविद्यालयसम्मले विदा शुरु भइसकेको छ । यही हप्ताभित्र सरकारी कार्यालयदेखि, संस्थान र निजी कार्यालयसमेत बन्द हुनेछन । यसले काठमाडौं छाड्नेको संख्यामा अझ वृद्धि हुनेछ ।

यात्रुको सुविधाका लागि ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा सहयोग कक्ष राखेको छ । चाबहिल, कलंकी, बालाजु, नयाँ बसपार्क, गौशाला, काटेश्वर, सातदोबाटो, बल्खु, सुन्धारालगायतका क्षेत्रमा सहयोग कक्ष राखिएको हो । ती ठाउँबाट यात्रुले जुनसुकै वेला सहयोग लिन सक्छन् ।

टिकट ब्ल्याक गरेको, मापसे गरेको, सिट नपाएको, यात्रु बढी हाल्ने घटनाको अनुगमन गर्न ट्राफिक प्रहरीले विशेष सुरक्षा योजनासमेत बनाएको छ । कसैले बदमासी गरेको भेटिए कारबाही हुने प्रहरीको भनाइ छ । यात्रुको सहयोगका लागि हेल्पडेक्स राखेका र डेक्समा चौबिसै घन्टा प्रहरी परिचालन हुनेछन् । यसका अतिरिक्त प्रत्येक चोक र नाकामा मापसे चेक गर्ने गरिएके छ । टिकट पाएर सिट नपाएको अवस्था छ–छैन सोधपुछ गर्ने, कसैले गल्ती गरेको भेटिए कारबाही गर्ने गरिएको छ ।

काठमाडौंबाट बाहिर जाने नाकामा जामको समस्या

परिवारसँग चाडपर्व मनाउन घर हिडेकाहरूलाइ काठमाडौं उपत्यकाबाट बाहिरिने नाका छिचोल्न मुस्किल पर्ने गरेको छ । निर्माणाधीन सडक र कमजोर ट्राफिक व्यवस्थापनका कारण नाकाहरूमा जामको समस्या छ । थानकोट–नागढुंगा–नौबिसे सडकखण्डमा नयाँ विस्तारको काम भइरहेको छ । यसले पनि व्यवस्थापनमा समस्या भइरहेको हो । ‘सडकको स्तर सुधार गरे पनि राजमार्गमा यात्रा गर्दा जिम्मेवारीपूर्ण भएर गर्नुपर्नेछ’ संघीय सडक सुपरिवेक्षाण तथा अनुगमन कार्यालय, काठमाडौंका सुपरिटेण्डेण्ट इञ्जिनियर अर्जुन प्रसाद अर्यालले भने ।

काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य चार नाकामध्य थानकोट–नागढुंगा–नौबिसे सबैभन्दा व्यस्त नाकामा पर्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगाबाट मात्रै ६० प्रतिशत यात्रु बाहिरिन्छन् । दोस्रोमा कोटेश्वर–भक्तपुर–धुलिखेल नाका हो, जहाँबाट २५ प्रतिशत यात्रु बाहिरिन्छन् । त्यस्तै, बल्खु–चोभार नाका हुँदै १० प्रतिशत र बालाजु तथा टोखा–छहरे हुँदै पाँच प्रतिशत यात्रु बाहिरिने गरेका छन् ।

थानकोट–नागढुंगा–नौबिसे सडक

सबै प्रदेश जान सडक प्रयोग हुने एकमात्र सडक थानकोट–नागढुंगा–नौबिसे हो । त्यसमध्ये पनि कर्णाली, गण्डकी, सुदूरपश्चिम र लम्बिनी प्रदेश जाने एक मात्र नाका यही हो । कोशी, तराइ र बागमती प्रदेशका अधिकांश यात्रुले पनि यही नाका प्रयोग गर्छन् । यसबाहेक नाकामा अत्यधिक जाम हुने नाका पनि यही हो । यात्रुहरूका अनुसार कलंकी– नागढुंगा–नौबिसे सडक पार गर्न घण्टौं लाग्ने गरेको छ  । राजमार्गमा गाडीको लामो जाम पर्ने समस्या छ ।

बल्खु–चोभार–दक्षिणकाली

बागमती प्रदेश राजधानी हेटौँडा निस्किएर वीरगन्ज हुँदै बारा, पर्सा, रौतहटलगायत तराईका जिल्ला जाने यात्रुले बल्खु–चोभार–दक्षिणकाली सडक प्रयोग गर्ने गरेका छन् । काठमाडौंबाट बाहिरिनेमध्ये १० प्रतिशत यात्रुले यो सडक प्रयोग गर्छन । तर, सडक भने एक लेनको मात्रै छ । दशैमा अत्यधिक सवारी साधनले गर्दा हुने जाम र खाल्डाबाहेक अन्य समस्या नरहेको सडक विभागका अधिकारीहरूको भनाइ छ ।

कोटेश्वर–भक्तपुर–धुलिखेल नाका

कोटेश्वर–भक्तपुर–धुलिखेलसम्मलाइ सडकको अवस्था राम्रो छ । काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, सिन्धुलीलगायत पूर्वका जिल्ला जानेले यो सडक प्रयोग गर्ने गर्छन । यो काठमाडौंबाट बढी यात्रु बाहिरिनेमध्ये दोस्रो व्यस्त नाका हो । यो सडकमा बिहानपख बढी जाम हुने गरेको छ । कोटेश्वरबाट भक्तपुर (मध्यठिमी)सम्म बढी जाम हुन्छ । धुलिखेल कटेपछिका सडक बिग्रिएका छन् । धुलिखेल कटेपछि अरनिको राजमार्गमा खाल्डा र धुलोको समस्या रहेको छ ।

सामाखुसी–टोखा–गुर्जेभन्ज्याङ–छहरे–नुवाकोट सडक

नुवाकोट र रसुवाका यात्रुले बढी प्रयोग गर्ने टोखा–छहरे सडक समयमै निर्माण नहुँदा यात्रुले कष्ट भोगिरहेका छन् । काठमाडौंबाट पाँच प्रतिशत यात्रु यी नाकाबाट बाहिरिन्छन् । तोकिएको काम नसकिएकाले यो सडकमा पानी पर्दा हिलो र घाम लाग्दा धुलोको समस्या छ । खाल्डा खुल्डीले पनि उत्तिकै दुख दिने गरेको छ ।

मर्मत कार्य रोकियो, पहिरो पन्छाउने मेसिन र बिग्रेका गाडी निकाल्ने क्रेन तयारी अवस्थामा

चाडपर्वलाई मध्यनजर गर्दै सडक विभागले सडक सञ्चालनलाई नै अवरोध हुनेगरी मर्मतको कामलाइ तत्कालका लागि रोकेको छ । यात्रुवाहक सवारीसाधनलाई असर गरेको गुनासो बढेपछि सडक विभागले मर्मत रोकेको हो । तर, कुनै ठाउँमा खाल्डाखुल्डी भएकै कारण सवारी सञ्चालनमा समस्या भए द्रुतगतिमा टाल्ने र सञ्चालन सुचारू राख्ने काम भइरहेको सुपरिटेण्डेण्ट इञ्जिनियर अर्यालले जानकारी दिए ।

सडक विभागले सवारी चल्नै नसक्ने अवस्था भए तत्काल सञ्चालनमा ल्याउन मेसिन र क्रेन तयारी अवस्थामा राखेको छ । यो वर्ष मनसुन लामो समयसम्म रहेकाले यो वर्ष मनसुन लामो समयसम्म रहेकाले पहिरो जाने वा आकस्मिक रुपमा अवरोध आउने स्थानको पहिचान गरी त्यस्ता ठाउँमा आवश्यक मेसिन तैनाथ गरिएको सडक विभाग, यान्त्रिक महाशाखा प्रमुख तथा उपमहानिर्देशक भुवन अधिकारीले बताए । गाडी बिग्रिए तत्काल हटाउन नाकाहरूमा क्रेन पनि राखेको छ ।

देशभरका सडक डिभिजन कार्यालयलाई पनि आवश्यक जनशक्ति र उपकरणसहित तयारी अवस्थामा रहन विभागको निर्देशन छ । गन्तव्यमा पुग्न ढिलाइ हुने कारणमध्ये सडकका खाल्डा प्रमुख कारणमध्ये एक हुन् । यसले सवारीसाधनको गतिलाइ घटाउँछ । तर, अहिले नै खाल्डा मर्मत गर्नेतिर लाग्ने हो भने जाम हुनेछ । संघीय सडक सुपरिवेक्षाण तथा अनुगमन कार्यालय, काठमाडौंका सुपरिटेण्डेण्ट इञ्जिनियर अर्जुन प्रसाद अर्यालका अनुसार बाटोलाई सहज बनाउन र कुनै ठाउँमा ठूलै समस्या भए तत्काल समाधान गर्न कार्यालयले काम गरिरहेको बताए । राजमार्गहरुको अवस्थाअनुसार यात्रु र चालकहरुले पनि जिम्मेवारपूर्ण भएर सवारी सञ्चालन तथा प्रयोग गर्न आग्रह गरे ।

ठूला मालवाहक साधनलाई रोक

यस वर्षको दशैं तिहार र छठ पर्वमा काठमाडौं उपत्यकाबाट बाहिर जाने र बाहिरबाट काठमाडौं उपत्यकामा प्रवेश गर्ने यात्रुहरुको यात्रालाई सहज र सुरक्षित बनाउनको लागि निश्चित मालवाहक सवारीसाधनलाइ रोक लगाएको छ । तर, कानुन बमोजिम आयातित मालवाहक सवारीको हकमा भन्सार प्रज्ञापनपत्र र निर्यातित मालबाहक सवारीको हकमा नियम अनुसारको राजश्व तिरेको रसिद हेरी सञ्चालन गर्न पाउनेछन् । विशेषगरी तेस्रो मुलुकका आयात/निर्यातजन्य ढुवानीका साधनहरु भन्सार कार्यालय बन्द रहने अवधि बाहेक नारायणगढदेखि काठमाडौंसम्मको सडक खण्डमा आवतजावतमा रोक नलगाउने यातायात व्यवस्था विभागले सूचना जारी गरेके छ । यसबाहेकका मालवाहक सवारी साधनलाइ भने कडाइ गरिनेछ ।


Read Previous

निर्माण व्यवसायीको ६ अर्ब भुक्तानी हुने

Read Next

नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग : जमिन भासिएको स्थानका प्रभावितलाई मासिक घर भाडा दिइने

Leave a Reply

Your email address will not be published.