Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

सम्झौता अवधि सकिँदा कोट अस्पतालको काम १० प्रतिशत मात्रै


भोजपुर । भोजपुरको कोट अस्पतालको निर्माण अवधि सकिँदा १० प्रतिशतमात्र काम सम्पन्न भएको छ । टेम्केमैयुङ गाउँपालिका–७ मा निर्माण भइरहेको अस्पताल ठेकेदारको कारण अलपत्र बनेको हो । दुई वर्षभित्र सम्पन्न गर्ने गरी अस्पताल निर्माणको काम २०७८ साउनमा थालिएको थियो । तर ठेकेदारले मैदान सम्याएर, कम्पाउण्ड र रिटेनिङ वालमात्र लगाएर काम अलपत्र छाडेको टेम्केमैयुङ–६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालले जानकारी दिए ।

सहजरूपमा स्वास्थ्य सेवा पाउने आशामा बसेका कोटवासीमा कामलाई देखेर निराशा बढेको उनको भनाइ छ । काम ढिला भएको विषयमा निर्माण कम्पनीसँग लिखित स्पष्टीकरण मागिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिए । काममा ढिलाइ भएकाले समन्वय गरिदिन जिल्ला प्रशासन कार्यालयलाई समेत पत्राचार गरिएको उनले बताए । ठेकेदार कम्पनीलाई पटक–पटक कामलाई चाँडो अघि बढाउन भन्दा पनि काम नगरेको दुःखेसो उनले पोखे । ठेकेदारको तर्फबाट चित्तबुझ्दो जवाफ नआएमा ठेक्का रद्द गरेर निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने कार्यापालिकाले निर्णय गरेको बताइएको छ ।

‘अस्पताल निर्माणमा ठेकेदारले ढिलाइ गरेको अवस्था छ’, अधिकृत न्यौपानेले भने, ‘धेरैपटक भन्दा पनि काममा सोचेअनुसारको प्रगति नभएपछि जिल्ला प्रशासन कार्यालयलाई समन्वयका लागि पत्रचार गरेका छौँ । सम्झौताको म्याद सकिएको अवस्था छ । अब पनि काम भएन भने ठेक्का रद्द गरेर ठेकेदारलाई कालोसूचीमा राख्नका लागि पत्रचार गर्ने कार्यपालिकाबाट निर्णय गरिएको छ ।’ अस्पताल निर्माणमा ठेकेदार कम्पनी जिम्मेवार नबनेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् ।

कामलाई चाँडो सम्पन्न गराउन गाउँपालिकाले आफ्नो तहबाट भूमिका खेलिरहेको उहाँले बताउनुभयो । ‘कामलाई चाँडो अघि बढाउन ठेकेदारलाई ताकेता गरिरहेका छौँ’, उनले भने, ‘ठेकेदारले विभिन्न बाहना देखाएर काम अघि बढाउन ढिलाइ गरेको अवस्था छ । अब पनि काम भएन भने कानुनी प्रक्रियाअनुसार अघि बढ्छौँ ।’ निर्माण सुरु भएको दुई वर्षमा करिब १० प्रतिशतमात्र काम भएको गाउँपालिकाका इन्जिनियर रामकुमार तामाङले जानकारी दिए । अस्पताल निर्माणको काम एक वर्ष बढी समयबाट अलपत्र अवस्थामा रहेको उनको भनाइ छ ।

‘अस्पताल निर्माणको काम दुई वर्ष अवधिमा १० प्रतिशतको हारहारीमा मात्र प्रगति भएको छ’, उनले भने, ‘लामो समयबाट काम रोकिएको अवस्था छ ।’ अस्पतालको कामलाई चाँडो अघि बढाउनका लागि पहल भइरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । ठेकेदारले काममा लापरबाही गरेकाले सोचेअनुसारको प्रगति नभएको अध्यक्ष बस्नेतको भनाइ छ । केही समयअघि फोनमार्फत काम चाँडो अघि बढाउने विषयमा कुराकानी भएको उनले बताए । ‘ठेकेदारले काममा अत्यन्तै ढिलाइ गरेको अवस्था छ’, अध्यक्ष बस्नेतले भने, ‘काम सञ्चालन गराउन मैले पहल गरिरहेको छु ।

निर्माणका क्रममा आउने समस्या समाधानमा गाउँपालिकाको तर्फबाट भूमिका खेलिरहेका छौँ । तर पनि ठेकेदारले काम गर्न ढिलाइ गरेको अवस्था छ ।’ अस्पताल सम्झौताअनुसार वि. सं. २०८० असारभित्र सम्पन्न गर्ने गरी भूमि हिमालयण जेभीले निर्माणको जिम्मा लिएको हो । पन्ध्र शय्याको अस्पताल निर्माणको कुल लागत १० करोड १४ लाख रुपैयाँ रहेको छ । हालसम्म निर्माण कम्पनीले पेश्कीबापत ८४ लाख रुपैयाँ भुक्तानी गरिसकेको गाउँपालिकाले जनाएको छ ।


Read Previous

असारमा सकिएला त ‘ग्वार्को फ्लाई ओभर’ निर्माणको काम ?

Read Next

निर्माण व्यवसायीको वक्यौता दसैँअघि नै भुक्तानी हुन्छ: अर्थमन्त्री डा. महत

Leave a Reply

Your email address will not be published.