Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित   

सुनकोसी-मरिन बहुउद्देश्य आयोजनाको ८.७ किलोमिटर सुरुङ खनियो, पूरा हुन ९ महिना लाग्ने


काठमाडौं । खेतीयोग्य भूमिको सिँचाई तथा ३१.०७ मेगावाट विद्युत उत्पादन गर्ने गरी निर्माणाधीन सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाको मुख्य सुरुङ ८.७ किलोमिटर खनिएको छ । आयोजनाको १३.३ किलोमिटर लामो मुख्य सुरुङ एक वर्षअघि अटोमेटिक टनेल बोरिङ मेसिन (टिबीएम) बाट खन्न सुरु गरिएकोमा आधाभन्दा बढी सम्पन्न भएको हो ।

अहिलेसम्ममा सुरुङको मात्रै भौतिक प्रगति ६६ प्रतिशत नाघेको आयोजना निर्देशक मित्र बरालले बताए । उनका अनुसार आयोजनाको समग्र भौतिक प्रगति भने ३० प्रतिशत पुगेकाे छ ।

‘एक वर्षमा आधाभन्दा बढी सुरुङ खनेर सकिएको छ,यो लक्ष्यअनुसारकै प्रगति हो,’ उनले भने, ‘बाँकी सुरुङ पूरा हुन अब बढीमा ९ महिना लाग्छ ।’  उनले सुनकोसी नदीमा पानीको बहाव कम भएपछि आयोजनाको बाँध क्षेत्रका संरचनाको काम सुरु गरिने बताए ।

आयोजनाको अन्य संरचना निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । खोलामा पानीको सतह कम हुन अझै २ महिना लाग्ने हुँदा अहिले ल्याव तथा क्रसर स्थापना र आवासगृह निर्माणको काम भइरहेको बरालले जानकारी दिए । यसैवर्षबाट मरिनतर्फको काम पनि सुरु गरिने उनले बताए ।

काम सुरु गरेको ५ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य रहेकोमा अब ४ वर्ष बाँकी छ । २०८४ साल असोजभित्र यो बहुउद्देश्य आयोजना सम्पन्न भइसक्ने उनको भनाइ छ ।

आयोजनाले दिने लाभ

राष्ट्रिय योजना आयोगले यो बहुउद्देश्य आयोजनालाई ‘गेम चेन्जर’ आयोजनाकोरूपमा सूचिकृत गरेको छ । यो आयोजना लामो समयदेखि सरकारको प्राथमिकतामा रहेपनि २०७९ साल असोज २८ गतेदेखि मात्रै अमेरिकी कम्पनी रोबिन्सले बनाएको टिबीएमले सिन्धुलीको कुसुमटारबाट औपचारिक रूपमा सुरुङ खन्न सुरु गरिएको हो ।

२०७६ साल माघ ६ गतेको मन्त्रिपरिषद बैठकले यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो । सिन्धुलीको खुर्कोटमा आयोजनाको बाँध निर्माण गरी मुख्य सुरुङमार्फत सुनकोसी नदीको पानी कमलामाई नगरपालिका-२ कुसुमटारमा निर्माण हुने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिनेछ । विद्युत उत्पादन भइसकेपछिको पानी मरिन नदीमा छोडिनेछ । यसरी छोडिएको पानी बागमती नदीमा पुर्याइनेछ ।

यो आयोजना निर्माण सम्पन्न हुँदा मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाको १ लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउन सकिनेछ । साथै, आयोजनाबाट ३१.०७ मेगावाट विद्युत उत्पादन हुनेछ । अहिले बागमती सिँचाइ आयोजनाबाट ४५ हजार ६ सय हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा पुगेको छ ।

सुनकोसी नदीको पानी बागमती सिँचाइ आयोजनामा थपिएपछि पूर्वी नहरतर्फबाट ७६ हजार ६ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउन सकिनेछ । पश्चिमतर्फको नहरबाट ४५ हजार ४ सय हेक्टरमा खेतीयोग्य भूमिमा सिँचाइ सुविधा पुर्याउने सरकारको लक्ष्य छ ।


Read Previous

साँगा–धुलिखेल सडक विस्तारः भुक्तानी नपाए निर्माण रोक्ने चेतावनी

Read Next

नेपाल-चाइना चेम्बर र उसी सीसीपीआईटीबीच सहकार्य गर्ने सहमति

Leave a Reply

Your email address will not be published.