Nepal Purbadhar

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

साँगा–धुलिखेल सडक विस्तारः भुक्तानी नपाए निर्माण रोक्ने चेतावनी


काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक चार लेनमा विस्तार आयोजनाको साँगा–धुलिखेल सडकखण्डमा कामबापतको रकम भुक्तानी नपाए ठेकेदार कम्पनीले निर्माण रोक्ने चेतावनी दिएको छ ।

कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको हो । सडक विभागका अनुसार ठेक्का रकम चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँ रहेको छ । साँगा–धुलिखेल सडकखण्डमा सडक विस्तारको काम १५ प्रतिशत सकिएको जनाइएको छ ।

निर्माण कम्पनीले सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनासँग गत जेठमै रु १५ करोड भुक्तानी माग गरेकामा हालसम्म नपाएपछि धुलिखेलमा सरोकारवालासँगको छलफलका क्रममा निर्माण रोक्ने चेतावनी दिइएको हो । ‘दसैँसम्ममा मागअनुसारको रकम भुक्तानी नभए साँगा–धुलिखेल सडकखण्डको काम रोक्नेछौँ’, कन्स्ट्रक्सनका प्रतिनिधि रवीन्द्र श्रेष्ठले भने ।

भक्तपुर सडक डिभिजन कार्यालयका सिनियर डिभिजन इन्जिनियर नारायणप्रसाद लामिछानेले निर्माण कम्पनीबाट १५ करोड रुपैयाँ माग भएको तर भुक्तानी ढिला हुने भएको बताए । उनका अनुसार सूर्यविनायक–धुलिखेलसम्म पुल निर्माणसहित सडक विस्तारका लागि कूल नौ अर्ब रुपैयाँ लाग्ने र यसमध्ये जम्मा ५४ करोड रुपैयाँ मात्रै ‘स्रोत सुनिश्चितता’ भएको छ । ‘सुनिश्चित स्रोतमध्ये रु १५ करोड मात्रै सरकारको हो, निर्माण कम्पनीलाई भुक्तानीको प्रक्रियामा लागिएको छ’, लामिछानेले भने ।

आयोजनाका लागि हाल सरकारसँग एक अर्ब रुपैयाँ माग गरिएको लामिछानेले बताए । उनका अनुसार साँगा–धुलिखेल सडकखण्डअन्तर्गतका रूख कटान कार्य सुरु गरिएको तथा विद्युत्का खम्बा हटाउन विद्युत् प्राधिकरणसँग प्रक्रिया थालिएको छ । छलफलमा सडक विस्तारको कामलाई निरन्तरता दिन सकिए समयमै काम सम्पन्न हुने अपेक्षा गरिएको थियो । साँघुरो सडकका कारण वर्षेनी ट्राफिक जाम बढ्दै गएपछि वि. सं. २०७९ फागुनदेखि सो सडकखण्ड विस्तार थालिएको हो । दोस्रो चरणमा सम्झौता भएको भक्तपुरको सूर्यविनायक–साँगा सात दशमलव पाँच किमी सडकखण्ड भने तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँको छ । यी दुवै सडक खण्डको २०७९ फागुनमा ३६ महिनाभित्र सक्नुपर्ने सम्झौता गरिएको थियो ।


Read Previous

बनेको तीन महिनामै सडक भत्किएपछि अनुगमन

Read Next

सुनकोसी-मरिन बहुउद्देश्य आयोजनाको ८.७ किलोमिटर सुरुङ खनियो, पूरा हुन ९ महिना लाग्ने

Leave a Reply

Your email address will not be published.