Nepal Purbadhar

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

बनेको तीन महिनामै सडक भत्किएपछि अनुगमन


भोजपुर । बनेको तीन महिनामै कालोपत्रे भएको सडक भत्किएपछि सरोकारवाला निकायले चासो देखाएका छन् । लाखौ बजेट खर्चेर बनेको बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडकखण्डको साढे चार किलोमिटर सडक तीन महिनामै भत्किए पछि भोजपुर नगरपालिका वडा नम्वर ५ बोखिमका स्थानीयवासी आक्रोसित भएका छन् ।
भोजपुर नगरपालिका वडा नम्वर ५ बोखिमका वडासदस्य निरकुमार फुँयालले भने ‘सडक तोकिएको मापदण्डअनुसार ठकेदार कम्पनीले बनाएको छैन, सरोकारवाला निकायहरुलाई यस बिषयमा जानकारी गराइएको छ । गुणस्तरीय सडक नबनेको बिषयमा निर्माण कम्पनीले पनि चासो देखाएको छैन ।’
स्थानीयवासीको पहलमा सरोकारवाला निकायका प्रतिनिधिहरुलाई बोलाएर सडक अनुगमन समेत गराइएको थियो । बनेको छोटो अवधिमै सडक भत्किएपछि जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ राई, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष कर्ण मोक्तानसहितका  जनप्रतिनिधि सडक अनुगमनमा सहभागी थिए । बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडकखण्डको साढे चार किलोमिटर सडक रौताहा–रामसागर विल्डर्स जेभीले निर्माण गरेको हो । सडक निर्माणका काम गुणस्तरीय नभएको अजाव स्थानीयवासीले पटक पटक उठाउँदै आए पनि कुनै सुनुवाइ हुन नसकेको हो ।
सडक अनुगमन गर्दा तोकिएको मापदण्डअनुसार सडक बनेको नदेखिएको जिल्ला समन्वय समितिका प्रमुख राईले बताए । ‘हामीले सडक अनुगमन ग¥यौं, तर निर्माण कम्पनीबाट लापरवाही भएको पाइएको छ, बनेको तीन महिनामा भत्किने कस्तो सडक हो ।’ सडकका कारण आवतजातवतमा समेत समस्या हुने देखिएको छ ।  गुनासो आएपछि अनुगमन गरिँदा मापदण्डअनुसार निर्माण कार्य नभएको पाइएको घिमिरेले बताए । बनेको तीन महिनामा नै सडक भत्किएर खाल्डाखुल्डी परेको छ । उनले भने, ‘सडकका बिषयमा मैले सम्वन्धित कार्यालयमा जानकारी गराइसकेको छु, अन्य निकायमा समेत यस विषयमा कुरा हुनेछ ।’
सडकमा बिच्छ्याइएको सवबेसमा गुणस्तरहीन सामग्री प्रयोग गरिएका कारण यो समस्या देखिएको स्थानीयवासीको भनाइ थियो । समस्या समाधानका बिषयमा समेत निर्माण कम्पनीबाट कुनै चासो नदेखाउदा आफूहरु झन आक्रोसित भएको उनीहरूले बताए। सडक निर्माणमा राज्य पैसाको चरम दुरुपयोग भएको मोक्तानको भनाई थियो । गलत काम गर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा थानीयवासीको माग थियो । ग्रामिण सडक सञ्जाल सुधार आयोजना कार्यन्वयन इकाइअन्तर्गत भ्याटसहित करिव रु साढे दस करोडको लागतमा निर्माण भएको बताइएको छ ।

Read Previous

स्वच्छ तथा शुद्ध खानेपानी उपलब्ध गराउन सरकार सचेत छः मन्त्री भण्डारी

Read Next

साँगा–धुलिखेल सडक विस्तारः भुक्तानी नपाए निर्माण रोक्ने चेतावनी

Leave a Reply

Your email address will not be published.