Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

कहिले खुल्छ टिप्ताला नाका ?


फुङ्लिङ । ताप्लेजुङको ओलाङ्चुगोलामा अवस्थित टिप्ताला नाका चार वर्षदेखि बन्द भएको छ । चीनबाट कोरोना भाइरस सङ्क्रमण विभिन्न राष्ट्रमा बढ्दै गएपछि बन्द भएको टिप्ताला नाका अहिलेसम्म खुल्न नसक्दा सीमावर्ती क्षेत्रका समुदायहरुले सास्ती खेप्नु परेको छ ।

कोभिडको संक्रमण फैलिन नदिन चीनले नाकामा आवतजावत बन्द गराएको थियो । सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएको थियो । आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको र आवतजावतका कारण अन्यत्रसमेत फैलन सक्ने भनी यसबाट बच्न केही समयसम्मका लागि आवतजावतमा रोक लगाइदिन रिउ प्रशासनबाट अनुरोध भएसँगै नाका बन्द भएको थियो ।

सीमावर्ती क्षेत्र बस्ती याङ्मा, थुदाम, ओलाङ्चुङ्गोला र तोक्पेगालावासी दैनिक उपभोग्य सामग्रीका लागि चिनियाँ बजारकै भरमा छन् । वर्षामा बाढी, पहिरालगायत कारण स्थानीयवासी सदरमुकाम फुङ्लिङसम्म आइपुग्न सक्दैनन् । फक्ताङलुङ–७ ओलाङ्चुङ्गोला, याङ्मा र घुन्सा क्षेत्रका समुदायको ९० प्रतिशत चीनको बजारमा निर्भर रहेको स्थानीयवासी छेतेन टाँसी शेर्पाले बताए । “लामो समयसम्म नाका बन्द हुँदा दैनिक जीवनमा आवश्यक खाद्य तथा अन्य सामग्री चीनबाट आउन बन्द भएको छ । याक, चौँरीका लागि नूनदेखि अत्यावश्यक खाद्य सामग्रीमा ल्याउन पाइएको छैन ।” उनले भने ।

नाका बन्द भएपछि चीनसँगको व्यापार ठप्प भएको फक्ताङलुङ गाउँपालिका—७ का वडाध्यक्ष छेतेन भोटे बताउछन् । समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा पर्ने ओलाङ्चुङ्गोला क्षेत्रका समुदायको प्रमुख व्यवसाय व्यापार र पशुपालन हो । त्यस्तै समुद्र सतहदेखि चार हजार २०० मिटरमा पर्ने याङ्माका समुदाय पनि चीनको बजारमा निर्भर हुँदै आएको थियो ।

लामो समयसम्म पनि टिप्ताला नाका नखुलेपछि आवश्यक खाद्य सामग्री ताप्लेजुङको सदरमुकामदेखि ढुवानी हुँदै आएको छ । “विगतदेखि नै याङ्माका समुदाय चीनको बजारमा निर्भर हुँदै आएको थियो । याङ्मा बस्तीमा नाका बन्द भएदेखि उहाँहरू नेपाली बजारमा भर पर्न थालेका छन् ।” नाका बन्द भएपछि आर्थिक सङ्कट भएको कञ्चनजङ्गा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सहायक कार्यक्रम संयोजक जितेन चेम्जोङले बताए ।

फक्ताङलुङ–७ वडा कार्यालयका कार्यालय सहायक तेन्जिङ वालुङका अनुसार चौँरी, याक, घिउ, छुर्पी, याक, चौँरीका मासु, जमर (याकको पुच्छर) चीनको बजारमा व्यापार हुने गरेको छ । उनले भने, “चार वर्षदेखि नाका बन्द भएको छ । चीनसंँग व्यापार चलेको छैन । व्यापार नभएपछि आयआर्जनको बाटो नै बन्द भएको छ ।” पशु व्यवसायदेखि उत्पादित पशुजन्य वस्तुले बजार नपाएपछि पशु व्यवसायी आर्थिक सङ्कटको चपेटामा परेको उनको भनाइ छ ।

सिमानादेखि नजिकैका बस्ती याङमाबाट रिउ पुग्न तीन दिन लाग्छ भने ओलाङचुङगोलाबाट एक दिनमा पुगिन्छ । सिमानादेखि दुवै देशका बस्तीसम्म मोटरबाटो जोडिएको भए पनि कोरोना सङ्क्रमणपछि नेपालतर्फको सडक पूरै अवरुद्ध छ । मर्मतसम्भार हुन सकेको छैन । चीनतर्फबाट भने सिमानासम्मै गाडी आउने गरेको स्थानीय बताउँछन् ।


Read Previous

अपराध अनुसन्धान तथा कार्यसम्पादनमा योगदान गरेकोमा एनसेललाई सम्मान

Read Next

मनाङमा साँझ खुलेको सडक बिहानै अवरुद्ध

Leave a Reply

Your email address will not be published.