Nepal Purbadhar

आइतवार, साउन ६, २०८१
Sunday, July 21, 2024

आइतवार, साउन ६, २०८१
Sunday, July 21, 2024

इपानको अध्यक्ष बन्न जलविद्युत उद्यमी एवं निर्माण व्यवसायी मल्ल चुनावी प्रतिश्पर्धामा उत्रिने


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का पदाधिकारीहरूको ३ वर्षिय कार्यकाल पूरा हुनै लाग्दा  जलविद्युत उद्यमी किरण मल्लले इपानको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा उमेद्वारी दिने घोषणा गरेका छन् । जलविद्युत आयोजनाको सिभिल संरचना निर्माण गर्ने नेपालको अग्रणी हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन कम्पनीका अध्यक्ष समेत रहेका मल्ल इपानको नर्या कार्यसमिति चयनका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा प्रतिस्पर्धामा उत्रिन लागेका हुन् ।

इपानको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षहरूले उमेद्वारी दिने चर्चा चलिरहेका बेला अहिलेको कार्यसमितिमा नरहेका मल्लले अध्यक्ष पदमा उमेद्वारी दिने घोषणा गरेका हुन् । जलविद्युत क्षेत्रमा ३५ वर्ष लामो अनुभव भएका मल्लले निर्वाचनमा कडा टक्कर दिने सम्भावना देखिन्छ ।

भारतको आइआइटी रुड्कीबाट इन्जिनियरिङ गरेका मल्लले सुरुवातमा हिमालय हाइड्रोसँग जोडिएर जलविद्युत क्षेत्रमा काम गरे । उनी केही समय बुटवल पावर कम्पनी (बिपिसी) को प्रमुख कार्यकारी अधिकृत समेत भए ।

मल्लले लगानी गरेको ३ मेगावाटको मिदिम करापु जलविद्युत आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा छ । उनले युनियन हाइड्रोपावर कम्पनीको अध्यक्षको जिम्मेवारीमा रही मिदिम खोला आयोजना निर्माण सम्पन्न गरेका हुन् ।

उनी अहिले निर्माणकाे चरणमा रहेकाे २३ मेगावाटको मेवा जलविद्युत आयोजनाको प्रवर्द्धक युनियन–मेवा हाइड्रोपावर कम्पनीका कार्यकारी अध्यक्ष समेत हुन् । साथै, उनकै नेतृत्वमा २८.९ मेगावाको सोलु र ६० मेगावाटको तमोर जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गर्ने चरणमा छन् ।

उनको समेत संलग्नता रहेको समूहले बझाङको कालंगा बेसिनमा ६४ मेगावाटका ३ वटा जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ । यी मध्ये ३८.६ मेगावाटकाे माथिल्लाे कालंगागाड  र १५.३३ मेगावाटकाे कालंगागाड जलविद्युत आयोजना निर्माण सम्पन्न  भइ प्रसारण प्रणालीमा जाेडिइसकेका छन् । १०.७ मेगावाटकाे सानिगाड जलविद्युत आयोजना प्रसारण प्रणालीमा जाेडिने चरणमा छ ।

अहिले उनले स्थापना गरेको हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन कम्पनी नेपालमा जलविद्युत आयोजनाकाे  सिभिल संरचना निर्माण गर्ने अग्रणी निर्माण कम्पनी पनि हाे । हाइ हिमालयले अहिलेसम्म ३० भन्दा बढी जलविद्युत आयोजनाको सिभिलतर्फको काम गरिसकेको छ । आधा दर्जन बढी आयोजना निर्माणको विभिन्न चरणमा छन् ।

उनले नेतृत्व गरेका जलविद्युत उत्पादन तथा निर्माण कम्पनीको काठमाडौंस्थित कार्यालयमा १ सय जनाभन्दा बढीले प्रत्यक्ष रोजगारीको अवसर पाएका छन् । विभिन्न आयोजनाहरूमा  पनि पेराेलमा ३ सय जनाले राेजगारी पाएका छन् ।

विभिन्न आयोजना स्थलमा सहायक-कन्ट्र्रयाक्टर कम्पनीमा सहित गरी थप १५ सय जना भन्दा बढी कामदार र कर्मचारीले पनि रोजगारी पाएका छन् । उनीसँगै अहिले उनका छाेरा छाेरी पनि जलविद्युत व्यवसायमा लागेका छन् ।

मल्ल बाहेक वर्तमान कार्यसमितिका उपाध्यक्षहरू मोहन डाँगी, गणेश कार्की र आशिष गर्ग पनि अध्यक्ष पदका लागि प्रतिश्पर्धामा उत्रने चर्चा छ । २०७७ साल साउन ३ गतेको निर्वाचनबाट वर्तमान कार्यसमिति चुनिएको थियो ।

अगामी कार्यकालदेखि कार्यसमितिमा एक जना वरिष्ठ उपाध्यक्ष रहने व्यवस्था इपानको विधानमा गरिएको छ । विधानअनुसार आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा चयन हुने व्यक्ति अर्को कार्यकालका लागि स्वतः अध्यक्ष बन्नेछ ।


Read Previous

‘सुनकोशी–तेस्रो’ जलविद्युत् आयोजना : मध्यपहाडी क्षेत्रको गौरव

Read Next

पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *