Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

माथिल्लो त्रिशूली-३ ‘बी’ को मुख्य सुरुङ छेडिन ४३५ मिटर बाँकी,६७ प्रतिशत भौतिक प्रगति


काठमाडौं । रसुवा र नुवाकोटको सीमामा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनाको मुख्य सुरुङ पूरा हुन अब ४३५ मिटर बाँकी छ । आयोजनाको ३ हजार ८ सय ५ मिटर लामो मुख्य सुरुङमध्ये ३ हजार ३ सय ७० मिटर खनेर सकिँदा काम अन्तिम चरणमा पुगेको हो ।

बाँकी रहेको मुख्य सुरुङ बढीमा अबको ६ महिनामा खनेर सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द ढुंगेलले बताए । उनका अनुसार कमजोर भौगर्भिक अवस्थाका कारण मुख्य सुरुङको काम सम्पन्न गर्न बढी समय लागिरहेको हो ।

‘मुख्य सुरुङको काम अहिलेसम्ममा सम्पन्न भइसक्नु पर्ने थियो,’ उनले भने, ‘सुरुङमा हामीले अनुमान गरेको भन्दा निकै कमजोर चट्टान रहेछ , त्यही कारण पनि मुख्य सुरुङको काम विस्तारै गरिरहेका छौं ।’ उनले कमजोर चट्टानकै कारण ३ महिना लाग्ने बाँकी सुरुङ पूरा गर्न बढीमा ६ महिना लाग्ने देखिएको बताए ।

सुरुङ खनिएको भागमा कंक्रिटिङ र लाइनिङको काम पनि अहिले भइरहेको छ । अहिलेसम्ममा आयोजनाको ६७ प्रतिशत निर्माण सम्पन्न भइसकेको ढुंगेलले बताए । यो माथिल्लो त्रिशूली-३ ‘ए’को क्यासकेड आयोजना भएकाले ‘कनेक्टिङ स्ट्रक्चर’ बनाइसकेको उनले जानकारी दिए ।

विद्युतगृहको भौतिक प्रगति पनि ३५ प्रतिशत पुगेको छ । विद्युतगृहमा जडान हुने उपकरण अबको २ महिनामा आयात गर्न सुरु गरिने कम्पनीले जनाएको छ ।

लामो समय कोभिड–१९ महामारीको चपेटामा परेकोे आयोजना २०८१ साल असोज (सेप्टेम्बर, २०२४) भित्र सम्पन्न गर्ने पछिल्लो तालिका छ । यसअघि २०८० सालको असोजभित्र सम्पन्न गर्ने भनिए पनि कोभिड–१९ महामारीका कारण १ वर्ष निर्माण लम्बिने देखिएको ढुंगेलले बताए ।

२०७६ माघमा नयाँ वर्ष मनाउन आफ्नो घर गएका चिनियाँ कामदारहरू कोभिड–१९ महामारीका कारण फर्कन र चीनबाट उपकरण तथा सामाग्री ल्याउन नसक्दा आयोजनाको निर्माण करिब १५ महिना ठप्प हुन पुगेको थियो ।

आयोजनाको निर्माण २०७७ को चैतबाट मात्र पुनः सुचारु भएकोमा कोभिड–१९ को दोस्रो र तेस्रो लहरका कारणले लगभग ३ साता काम पुनः प्रभावित भएको थियो । साथै, मुख्य सुरुङमा पूर्व अनुमानभन्दा ज्यादै कमजोर चट्टान फेला परेका कारण निर्माण प्रभावित हुन पुग्यो ।

आयोजना सम्पन्न गर्न ८ अर्ब २२ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । ३ वर्षमा सम्पन्न गर्ने भनिएको आयोजनाको निर्माण विविध कारणले लम्बिएपछि डलर महंगिँदा तथा बैंकको ब्यादरका कारण लागत केही बढ्ने सम्भावना रहेपनि निर्धारित लागतभित्रै सम्पन्न गर्न प्रयास गरिने ढुंगेलको भनाइ छ ।

ठेकेदार चिनियाँ कम्पनी सुइफा एएनएचइ ग्रुप कम्पनी, लिमिटेडले अहिले आयोजनाको सिभिल संरचना निर्माणको काम गरिरहेको छ । इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) मोडेलमा आयोजना निर्माणका लागि सुइफा एएनएचई ग्रुप कम्पनीसँग २९ माघ २०७४ मा ठेक्का सम्झौता भएको थियो ।

ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण,जडान तथा संचालन गर्नेछ । माथिल्लो त्रिशूली–३ ‘ए’ को विद्युतगृहबाट विद्युत उत्पादन पश्चात निस्किएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ ।

उत्पादित विद्युत हाल सञ्चालनमा रहेको समुन्द«टार–त्रिशूली–३ ‘बी’ हब प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ ।


Read Previous

लिलाम नहुँदा सयौँ मोटरसाइकल कवाड बने

Read Next

अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा १ सयमा ३ रूपैयाँ २० पैसाले घट्याे (सूचीसहित)

Leave a Reply

Your email address will not be published.