Nepal Purbadhar

पुल नबन्दा सास्ती खेप्दै स्थानीय


कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ स्थित ओदाल खोलामा पुल निर्माण पूरा नहुँदा स्थानीय बासिन्दाले सास्ती खेप्दै आएका छन्। पुल निर्माणका लागि ठेक्का सम्झौता भएको तीन वर्ष बित्नै लागे पनि निर्माण पूरा हुन सकेको छैन।

पुल निर्माण नहुँदा बर्सातका बेला बिरामीलाई अस्पताल लैजान नसकिने स्थानीयवासी सीता चौधरीले बताइन्। ‘एम्बुलेन्स खोला पारि राखेर बिरामीलाई बोकेर लैजानुपर्ने हुन्छ,’ उनले भनिन्, ‘गएको बर्सातका बेला सुन्दरीफाँटाका सुत्केरी हुनेलाई अस्पताल लैजान खोज्यौँ, खोलामा बाढी आउँदा एम्बुलेन्स गाउँसम्म आउन सकेन, बोकेर लैजाने क्रममै महिलाले बाटोमै बच्चा जन्माइन्, धन्य आमा र शिशुलाई केही भएन।’

त्यति मात्रै नभएर गएको वर्ष दोमिल्लाका करेन्ट लागेका एक व्यक्तिलाई ट्र्याक्टरमा राखेर खोला पारि पुर्याउन नपाउँदै ज्यान गएको उनले बताइन्। उनले भनिन्, ‘एम्बुलेन्स बोलायौँ तर खोला तर्न नसकेर पारि नै रह्यो, ट्र्याक्टरमा राखेर खोला नजिकै पु¥याउन नपाउँदै उनको ज्यान गयो, एम्बुलेन्सले बोलाएकै कारण आधा चार्ज लियो।’ दोमिल्ला, श्रीपुर, सुन्दरीफाँटा गाउँ चारैतिर खोलाले घेरिएको छ।

तीनवटै गाउँको उत्तर र पश्चिम क्षेत्रमा खारखोला, पूर्वमा ओदाल खोला र दक्षिणमा ओदोल खोला र वनहरा नदी पर्छ । भरपर्दो सडक र पुलको व्यवस्था नहुँदा स्थानीयवासीले समस्या खेप्दै आएका छन्। पुल निर्माणका लागि पटक पटक सम्बन्धित निकायलाई गुहार्दै आए पनि सुनवाइ हुन नसकेको गयाप्रसाद चौधरीले बताए।

‘उच्च शिक्षा पढ्ने विद्यार्थीलाई सधैँ खोला तर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘विद्यार्थी विद्यालय र घर नपुग्दा अभिभाकलाई बर्सातका बेला निकै चिन्ता हुने गरेको छ।’ बंक नायल सडक निर्माणको कार्य सुरु गरेको तीन वर्ष बढी भइसके पनि सडकको ट्र्याक खोल्ने कार्यबाहेक अन्य कार्य हुन सकेको छैन।

निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीलाई सडक र पुल निर्माण कार्य निर्धारित समयमै पूरा गर्नका लागि भन्दै आए पनि बेवास्ता गर्दै आएको वडा नं १ का वडाध्यक्ष मोहन बस्नेतले बताए।

पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी हेमराज भट्टले निर्माण कम्पनीलाई सडक र पुल निर्माणका लागि ताकेता गर्दै आएको जानकारी दिए। ‘ठेक्का बापतको निर्माण कम्पनीले पाउनुपर्ने रकममध्ये केही रकम नपाउँदा काममा ढिलासुस्ती गरिरहेको छ,’ उनले भने, ‘केही रकम पाएको छ, केही पाउन बाँकी छ।’


Read Previous

त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा

Read Next

गुर्जा जोड्ने सडक निर्माण सुरु