Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

कालीगण्डकी कोरिडोर प्रसारण लाइनकाे कुस्मा-न्यू बुटवल खण्ड पूरा हुँदै,चार्ज गर्न ६ महिना लाग्ने


काठमाडौं । कालीगण्डकी नदी बेसिन तथा सहायक नदी खोलामा निर्माण भएका /हुने जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न निर्माणाधीन २२० केभी कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाको कुस्मा-न्यू बुटवल खण्ड अबको ६ महिनामा सञ्चालनमा ल्याइने भएको छ । पर्वतको कुस्मादेखि रुपन्देहीको न्यू बुटवल सबस्टेसनसम्म निर्माणाधीन ८७ किलोमिटर प्रसारण लाइन पूरा भई सञ्चालनमा आउने चरणमा पुग्न लागेको हो ।

प्रसारण लाइनको करिब ९५ प्रतिशत निर्माण पूरा भइसकेको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए । उनका अनुसार प्रसारण लाइनको रुटमा पर्ने २३३ मध्ये अधिकांश टावरको निर्माण पूरा भइसकेको छ ।

‘काम सुरु भएको हिसाबले त प्रसारण लाइनको यो रुट पहिले नै निर्माण सम्पन्न भई सञ्चालनमा आइसक्नु पर्ने थियो,’ उनले भने, ‘तर, वन क्षेत्रको रुटमा रुख कटानको स्वीकृतिमा भएको ढिलाइ, केही स्थानमा स्थानीयबाट भएको अवरोध तथा कोभिड-१९ महामारी लगायत विविध कारणले काम अघि बढाउन सकिएन । अहिले सबै समस्या क्रमशः समाधान गरी प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुर्याएका छौं ।’

उनले प्रसारण लाइनको यो खण्डमा विभिन्न ठाउँमा गरी अब ६ वटा टावरको मात्रै फाउन्डेसन तयार गर्न बाँकी रहेकाे बताए ।  रुपन्देशीमा एउटा, कुस्मामा ३ वटा र नवलपरासीमा २ वटा टावरको फाउन्डेशन बनाउन बाँकी छ ।

पर्वत फलेबासमा लामो समयदेखि कायम रहेको अवरोध हटेपछि यहाँ बनाउनु पर्ने ३ वटा टावरको फाउन्डेसनको काम सुरु हुन लागेको आयोजनाका सहायक निर्देशक महादेव भट्टराईले जानकारी दिए । ‘स्थानीयले प्रसारण लाइनको रुट परिवर्तन गर्न माग राखेकाले लामो समयदेखि अवरोध हुँदा काम अगाडि बढाउन सकिएको थिएन । तर, खेल मैदान माथिबाट जाने टावरलाई केही पछाडिबाट लैजान दिन स्थानीय सहमत भएपछि काम हुन लागेको छ’ उनले भने ।

यस्तै, स्याङजा र पर्वतमा टावर निर्माण कार्य पूरा भई तार तान्ने काम भइरहेको छ । अहिले काम पूरा हुन बाँकी रहेका स्थानमा फाउन्डेसन बनाउने, टावर ठड्याउने र तार तान्ने काम एकसाथ भइरहेको पनि भट्टराईले जानकारी दिए ।

कालीगण्डकी कोरिडोर अन्तर्गत निर्माणाधीन कुस्मा–न्यू बुटवल प्रसारण लाइन दोस्रो खण्ड हो । पहिलो खण्ड म्याग्दीको दानादेखि पर्वतको कुस्मासम्मको ४० किलोमिटर खण्ड पहिले नै निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।

प्रसारण लाइनको दोस्रो खण्ड निर्माण सम्पन्न हुँदा कालीगण्डकी नदी बेसिन तथा सहायक नदी खोलाका जलविद्युतगृहले उत्पादन गर्ने २ हजार मेगावाट विद्युत प्रवाह गर्न सकिनेछ । साथै, बुटवल पुगेको विद्युत भारततर्फ पनि निर्यात गर्न सम्भव हुनेछ । न्यू बुटवल सबस्टेसन पहिले नै निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइएको छ । यो सबस्टेसन अहिले १३२ केभीमा चार्ज गरिएको छ ।

प्रसारण लाइनको कुस्मा–न्यू बुटवल खण्ड सञ्चालनमा आएपछि यो सबस्टेसन पनि २२० केभीमा सञ्चालन गर्न सकिनेछ । एसियाली विकास बैंक (एडिबी) को सहुलियतपूर्ण ऋण सहयोगमा कालीगण्डकी कोरिडोर निर्माण भइरहेको हो ।


Read Previous

५ महिनामा २३ करोडको विद्युतीय सवारीको चार्जर आयात

Read Next

क्रसर संचालनमा देखिएको समस्या छिट्टै समाधान गरिने सहरी विकास मन्त्रीकाे भनाइ

Leave a Reply

Your email address will not be published.