
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणबाट नेपाल क्रिकेट संघ (क्यान)ले प्रसारण र टिकटिङ अधिकार बिक्रीमार्फत ३३ करोड ३३ लाख रुपैयाँ आम्दानी सुनिश्चित गरेको छ।
क्यानले प्रतियोगिताको ओटीटी प्रसारण अधिकार नेटटीभीलाई १८ करोड ४ लाख रुपैयाँमा बिक्री गरेको छ। त्यस्तै, नेपालमा टेलिभिजन प्रसारण गर्ने लिनियर अधिकार हिमालय टेलिभिजनले १४ करोड ६४ लाख रुपैयाँमा खरिद गरेको छ।
यी दुई अधिकारबाट क्यानले ३२ करोड ६८ लाख रुपैयाँ प्राप्त गर्नेछ।
यसैगरी, एनपीएलको टिकटिङ अधिकार इसेवाले ६५ लाख रुपैयाँमा लिएको छ। टिकट बिक्रीबाट संकलन हुने रकमको ९५ प्रतिशत क्यानले र ५ प्रतिशत इसेवाले पाउनेछन्।
यससँगै टिकट बिक्रीबाट हुने आम्दानी अधिकार शुल्कबाहेक क्यानको थप आम्दानीका रूपमा रहनेछ।
