Nepal Purbadhar

बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024
निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको तयारी पूरा, शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने ‘स्मार्ट नगर’ बन्दै धुलिखेल नगरपालिका, नागरिकलाई घरबाटै सेवा  मध्यपहाडी लोकमार्ग निर्माणले छेउछाउमा मानव बस्ती बढ्दै    सुपर त्रिशूली जलविद्युत आयाेजनाकाे इआइए बदरकाे माग गर्दै सर्वाेच्चमा मुद्दा दायर ग्लोबल आइएमई बैंक र आइएफसीबीच जोखिम व्यवस्थापन,लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी रसुवागढी जलविद्युत आयाेजनाः विद्युतगृहकाे उपकरण परीक्षण अन्तिम चरणमा    प्रतिकूल मौसमले ‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित    दैलेखका ४ गाउँपालिकाका ७ गाउँमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युतीकरण

पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले पर्यटन व्यवसायी उत्साहित   


पोखरा । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पोखराका पर्यटन व्यवसायी निकै उत्साहित भएका छन् । विमानस्थल सञ्चालनमा आएकाले अब विदेशी पर्यटक सिधै पाेखरामा अवतरण गर्न सक्ने हुँदा व्यवसायमा सकारात्मक प्रभाव पर्ने अपेक्षामा उनीहरू उत्साहित भएका हुन् ।

अङ्ग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन अर्थात पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेसँगै पोखरेलीहरूकाे साढे ४ दशकपछिको सपना पूरा भएको छ । नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य एवं अग्रज पर्यटन व्यवसायी वासु त्रिपाठीले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सारा पोखरेलीको साझा सपना पूरा हुँदा निकै खुसी लागेको बताए ।

“विसं २०३२ मा तत्कालीन अञ्चलाधीश डा. शङ्करराज पाठकले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना गर्नुभएको थियो । उहाँको ऊर्जाशील क्षमताले तत्कालीन समयमा जग्गा अधिग्रहण सम्भव भयो,”, उनले भने,“ निरन्तरकाे प्रयासपछि आज पोखरेलीको सपना पूरा भयो । ”

विमानस्थल सञ्चालनमा आएसँगै पोखरामा विशेष गरी भारतीय धार्मिक पर्यटकको आगमन बढाउन सहयोगी हुने उनकाे विश्वास छ । साथै, गण्डकी प्रदेश र समग्र नेपालको पर्यटनका साथै आर्थिक, सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उनले बताए । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पोखराबासीको विकासप्रतिको एकीकृत धारणाले मात्र सम्भव भएको उनकाे बुझाइ छ ।

पोखरा क्षेत्रीय विमानस्थल निर्माण सरोकार समितिले २०६८ चैत ११ मा विज्ञप्ति जारी गरी आन्दोलन सुरु गरेको थियो । आन्दोलनमा १ सय ५१ श्रृखङ्लासम्म २ हजार ४ सय दुई जनाले रिले अनसन बसेका थिए । सो समयमा आफूलगायतका केही व्यक्तिले आमरण अनशन बस्न तयार भएको भन्दै नामसमेत लेखाएको त्रिपाठीले स्मरण गरे ।

तत्कालीन समयमा ५ सय वटा कारले काठमाडौँसम्म दबाबमूलक यात्रा गरेर नेपाल नागरिक उडड्यन प्राधिकरण घेरा हालेको अनुभव पनि उनीसँग छ । आधुनिक पोखरासँगै यसको निर्माणमा पूर्वपर्यटन मन्त्री स्व रवीन्द्र अधिकारीको योगदान बिर्सन नहुने त्रिपाठीको भनाइ छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ राष्ट्रिय गौरबको आयोजना यति छिटो पूरा भएर उद्घाटन हुनु आफैमा गर्वको विषय भएको जनाउँदै अब पोखराको पर्यटनले गति लिनेमा आफू विश्वस्त भएको बताए । “पोखरामा विमानस्थल निर्माणलाई तत्काल नै नाफा/घाटा हेरेर हुँदैन, यसले यहाँको आर्थिक विकासमा दीर्घकालीनरुपमा कसरी लाभ हासिल गर्न सकिन्छ भन्ने विषयमा अबको बहस केन्द्रित गर्नुपर्छ”, श्रेष्ठले भने ।

उनले अन्तर्राष्ट्रियतर्फ बुद्ध एयरले पोखराबाट भारतका विभिन्न तीन गन्तव्यमा उडानका लागि पहल गरेको र अन्य एयरलाइन्सले पनि पोखराबाट उडानका लागि चासो देखाएको भन्दै सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताए ।

रेष्टुराँ एण्ड बार एशोसियशन (रेवान) पोखराका अध्यक्ष नरेश भट्टराईले विमानस्थलको औपचारिक सञ्चालनले नयाँ वर्षको आगमनसँगै पोखरेलीमा थप खुसी सञ्चार गराएको बताए । “यो सानो प्रयास र सङ्घर्षले बनेको छैन, यहाँ दिनरात नभनी पोखरेलीको अनवरत रिले अनशन र विकासप्रतिको साझा सङ्कल्पले सफल भएको हो ” उनले भने ।

उनले विमानस्थल सञ्चालनमा आउन सक्ने चुनौतीलाई सुरुदेखि व्यवस्थित गर्दैै लानसके यो सफल विमानस्थलको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।  सरकारले दिगोपर्यटन विकासका लागि निजी क्षेत्रको सहभागितामा थप रणनीतिक कार्ययोजना बनाएर पर्यटकीय गतिविधि बढाउन तर्फ ध्यान दिनुपर्ने उनकाे भनाइ छ ।

नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेण्टस (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारीले विमानस्थल सञ्चालनसँगै पोखराको पर्यटन क्षेत्र लाभान्वित हुने विश्वास व्यक्त गरे । “अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भयो, हवाईमार्गले अब पोखरालाई विश्वसँग जोड्ने छ । दिगो पर्यटनका लागि योसँगै अझै थप पूर्वाधार जरुरी छ” अधिकारीले भने ।

पोखरा पर्यटकका लागि उत्कृष्ट गन्तव्य भएकाले अब सिधैँ विदेशी पर्यटक पोखरा आएर हिमशृङ्खलाको दृश्यवलोकनसँगै तालतलैया र स्वच्छ वातावरणमा रमाउन पाउने र आकर्षक गन्तव्यको रुपमा थप विकास हुने विश्वास व्यक्त गरे । “नेपाल भन्ने वित्तिकै विदेशीले पहिले पोखरा सम्झने गर्थे अब सिधै हवाईमार्गबाट पोखरा घुम्न आउने बाटो खुलेको छ, हामी आशावादी छौँ पोखराको पर्यटनले पक्कै उचाइ चुम्ने छ”, अधिकारीले भने ।

लेखनाथ होटल तथा रेष्टुरेन्ट एशोसियशनका पूर्व अध्यक्ष दामोदारभक्त थापाले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै लेखनाथको पर्यटन प्रवर्द्धन र विकास हुनेमा आशावादी भएको बताए । उनले भने, “नयाँ विमानस्थलसँग लेखनाथको बेगनासम्मको दुरी जम्मा १० किलोमिटर छ, यसले साततालको सुन्दरता बोकेको लेखनाथमा पर्यटकीय गतिविधि पक्कै बढाउने छ ।”

उनले पोखराको लेकसाइड र लेखनाथको बेगनास समदुरीमा रहेको र सरकारले समभाव राखेर पूर्वाधार विकास गर्नुपर्ने जोड दिए । ग्रेटर पोखराको अवधारणा अनुरुप कहाँ लगानी गर्दा पर्यटनमा दिगो विकास हुन्छ त्यसतर्फ ध्यान दिन उनकाे आग्रह छ ।

“अहिले लेखनाथको माझिकुना आन्तरिक तथा बाह्य पर्यटकका लागि आर्कषक गन्तव्य बन्दै गएको छ तर त्यहाँसम्म जाने सडक पूर्वाधार बन्न सकेको छैन”, उनले भने, “यसले एकपटक गएको पर्यटक अर्कोचोटी जान गाह्रो मान्न सक्छन् त्यसैले सडक पूर्वाधारलाई प्राथमिकता दिन जरुरी छ ।” उनले लेखनाथबाट विमानसथल जान ट्राफिक जाम नहुने र सहज हुने भएकाले पनि अब पर्यटकको रोजाइमा लेखनाथ पर्ने बताए।

धार्मिक, सांस्कृतिक, प्राकृतिक, साहित्यिक एवं ऐतिहासिक रुपले रहेकाले पनि अबका दिनमा लेखनाथ उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै जाने बताउनुभयो । राष्ट्रिय गौरवको आयोजना अन्तर्राष्ट्रिय विमानस्थलाई प्रभावकारी सञ्चालन गरेर देशकै गर्व गर्न लायक विमानस्थलको रुपमा विकास गर्नुपर्ने र सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने उहाँको भनाइ छ ।

चीनको एक्जिम बैंकको ७५ प्रतिशत ऋण र २५ प्रतिशत अनुदानमा करिब २२ अर्ब रुपैयाँ लागतमा विमानस्थल निर्माण भएको हो । विमानस्थल करिब ३ हजार ७ सय रोपनी क्षेत्रफलमा निर्माण भएको छ ।

जमुना वर्षा शर्मा   


Read Previous

४४१ मेगावाटका अर्धजलाशय आयोजना अध्ययन गर्न गोल्यान समूहलाई अमेरिकी अनुदान

Read Next

प्रमुख आर्थिक सूचकको प्रयोग विधिसम्बन्धी पुस्तक सार्वजनिक

Leave a Reply

Your email address will not be published.