Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बाँकेका दुर्गम गाउँमा मोबाइल नेटवर्क समस्याको अन्त्य गरिदै


बाँके । बाँकेका दुई दुर्गम गाउँपालिकामा देखिने मोबाइल नेटवर्कको समस्या अन्त्य हुने भएको छ । जिल्लाको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा नेपाल टेलिकमले थप टावर जडान गर्ने भएपछि सो समस्याको अन्त्य हुने भएको हो ।

यी गाउँपालिकाका अधिकांश क्षेत्रमा मोबाइल सेवा नहुँदा स्थानीयवासीलाई समस्या भइरहेकाले टेलिफोन सेवालाई गुणस्तरीय बनाउन थप टावर जडान गर्ने निर्णय भएको बाँके क्षेत्र नं १ (क) का प्रदेशसभा सदस्य कृष्णा केसीले जानकारी दिए ।

थप टावरको जडान र भएका टावरको क्षमता वृद्धिका लागि नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलसँग माग गरेपछि टावर जडानको निर्णय भएको उनले बताए । ‘विभिन्न ठाउँका विभिन्न जङ्गलको राजमार्गमा नै मोबाइलको नेटवर्क देखिँदैन, त्यसैले यस्तो समस्याको अन्त्य गर्न खोजेको हो’, प्रदेशसभा सदस्यमा केसीले भने ।

अहिले सो क्षेत्रमा नौ थान थप टावर जडान हुनेछ । गत वर्ष पनि यसका लागि पहल भएको तर बाँके राष्ट्रिय निकुञ्ज र वन मन्त्रालयका कारण काम नभएको उल्लेख गर्दै उहाँले अहिले त्यस्तो समस्या नदोहोरिने बताए ।

नेटवर्कले काम नगर्ने स्थानमा थप टावर स्थापना गर्ने र कम क्षमता भएका टावरलाई क्षमता वृद्धि गर्ने निर्णय गरिएको नेपाल टेलिकमले जानकारी दिएको छ । कोहलपुरको चप्परगौडीदेखि दाङको शिवखोलासम्म र फत्तेपुर, विनौना हुँदै दाङको गोठुवासम्मको हुलाकी राजमार्ग तथा नरैनापुर र राप्तीसोनारीका धेरै ठाउँमा टावर नहुँदा मोबाइल नेटवर्कको समस्या रहेको बताइएको छ ।

यी क्षेत्रमा टेलिफोनको पहुँच पु¥याउन यस साताबाट सर्भेसमेत सुरु गरिने र भएका टावरमा क्षमता विस्तारको काम तत्काल नै सुरु गरिने प्रदेशसभा सदस्य केसीले बताए ।  उक्त क्षेत्रमा टावर विस्तार भएपछि टेलिकमको फोर जी सेवासमेत सञ्चालन हुने छ ।

कोहलपुर चप्परगौडीदेखि दाङको शिवखोलासम्मको अधिकांश राजमार्गमा नेटवर्कले काम नगर्ने भएकाले विभिन्न भागमा थप टावर राख्नुपर्ने स्थानीयवासीको माग लामो समयदेखि रहेको छ । राप्तीसोनारी र नरैनापुरमा अहिले रहेका टेलिकम टावरका क्षमता कम भएकाले वृद्धि गर्नुपर्ने र थप जडान गर्नुपर्ने बताइएको छ ।

राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका विभिन्न स्थानमा मोबाइल नेटवर्कका टावर थप गरिने भएपछि ती पालिकाका अध्यक्षले समेत खुसी व्यक्त गरे ।  नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले नयाँ टावर जडान र पुरानाको क्षमता विकास गरिएपछि नेटवर्कको समस्या समाधान हुनुका साथै जनताले राहत पाउने बताए ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले पनि मुख्य राजमार्गलगायत धेरै ठाउँमा मोबाइल नेटवर्कको समस्या रहेकाले अब समाधान हुने सुनेर खुसी लागेको उल्लेख गरे । रासस


Read Previous

जगदुल्ला आयोजनामा कर्णाली प्रदेश सरकारको ५ प्रतिशत सेयर लगानी

Read Next

हाइड्रो कन्सल्टले चुवा खोला र माथिल्लो चुवा लुरुप्याको अध्ययन गर्ने

Leave a Reply

Your email address will not be published.