Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

जगदुल्ला आयोजनामा कर्णाली प्रदेश सरकारको ५ प्रतिशत सेयर लगानी


कर्णाली । कर्णाली प्रदेश सरकारले हिमाली जिल्ला डोल्पामा निर्माण हुने  जगदुल्ला अर्धजलाश जलविद्युत आयोजनाको ११ लाख ७१ हजार ५ सय कित्ता सेयर खरिद गरेको छ । प्रदेश सरकारले आयोजनाको कूल लागतको ५ प्रतिशत सेयर खरिद गरेको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बिहीबार आयोजनाका प्रमुख सञ्जय सापकोटाले ११ लाख ७१ हजार ५ सय कित्ता सेयरको प्रमाणपत्र हस्तान्तरण गरे। सेयर प्रमाणपत्र ग्रहण गर्दै मुख्यमन्त्री शाहीले जलविद्युतको प्रचुर धनी कर्णालीको डोल्पामा निर्माण हुने उक्त आयोजनाले यहाँको समृद्धि र विकासमा ठूलो सहयोग पुग्ने बताए ।

“गत साउनमै प्रदेश सरकारले आयोजनाको ५ प्रतिशत कित्ता सेयर खरिद गर्ने निर्णय गरेको थियो,” उनले भने, “सेयर खरिदले आयोजना निर्माणमा प्रदेश सरकारको अपनत्व बढेको छ ।” प्रदेश सरकारले प्रतिसेयर एक सय रुपैयाँका दरले ११ करोड ७१ लाख ५० हजार रुपैयाँ सेयरबापतको रकम जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडलाई उपलब्ध गराइसकेको मुख्यमन्त्री शाहीले बताए ।

प्रदेश सरकारले करिब ३६ करोड रुपैयाँ रकम खर्चनु परेको भन्दै त्यसबाट आउने राजस्वले कर्णालीको जनताको विकासमा सहयोग पुग्ने उनले बताए। “आयोजनाले प्रतिदिन एक करोड आम्दानी गर्ने देखिन्छ भने त्यसबाट प्रतिदिन हामीले ५ प्रतिशतका दरले  मासिक एक करोड ५० लाख रुपैयाँ कमाउँछौँ ”शाहीले भने ।

सेयरमा भएको लगानी प्रदेश सरकारको आम्दानीको दीर्घकालीन स्रोत हुने उनको भनाइ छ । आयोजना प्रमुख सापकोटाले कर्णाली प्रदेश सरकारले खरिद गरेको सेयरले सरकार र आयोजना दुवैलाई प्रतिफल मिल्ने बताए । आयोजनाको विद्युत्गृह मुड्केचुला गाउँपालिका-४, इलमा निर्माण हुने तथा जगदुल्ला गाउँपालिका–१ र २ मा बाँध निर्माण हुने अध्ययनले देखाएको छ ।

काम सुरु गरेको ६ वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको आयोजनाको ७.१ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित विद्युत्गृहमा खसालिने छ । आयोजनामा अनुमानित १९ अर्ब ९० करोड रुपैयाँ लगानी हुनेछ । आयोजनाले एक सय ६ मेगावाट विद्युत उत्पादन गर्नेछ ।


Read Previous

नवीकरणीय ऊर्जा प्रणालीको विकासमा इनरजाइज नेपालको बढ्दो भूमिका

Read Next

सेतीमादी पुल निर्माणको प्रगति २ वर्षमा ६ प्रतिशत मात्रै

Leave a Reply

Your email address will not be published.