Nepal Purbadhar

पोखरामा एटिभी राइडिङ अर्को नयाँ पर्यटकीय गतिविधि


गण्डकी।  पोखरामा एटिभी राइडिङ अर्को नयाँ पर्यटकीय गतिविधिपर्यटकीय नगरी पोखरा साहसिक पर्यटनको सहर पनि हो । सुन्दर सहरको आनन्द लिनुका साथै पोखरा आउने पर्यटक यहाँका विभिन्न साहसिक पर्यटनका गतिविधि पनि रमाउने गर्दछन् ।

पोखराको सराङ्कोटबाट हावा खाँदै जिपलाइन, प्याराग्लाइडिङसँगै बन्जीजम्प, स्वीङ, अल्ट्रालाइटदेखि माउन्टेन फ्लाइटसम्मका विभिन्न गतिविधिले पोखरामा पर्यटकलाई लोभ्याउने गरेको छ ।
स्वदेशी एवं विदेशी पर्यटकका साथै उच्चपदस्थ अधिकारी, चर्चित अभिनेता तथा कलाकारको पनि पोखरामा साहसिक पर्यटनका गतिविधिले आकर्षित गर्ने गरेको छ ।

हालै नेपालको भ्रमणमा रहनुभएका बलिउड अभिनेता विवेक ओबरायले पोखरामा साहसिक पर्यटनका जिपलाइन, स्वीङ आदिमा रमाएका तस्वीर यतिखेर विभिन्न सञ्चार माध्यमले प्रकाशन गरेका छन् ।

पोखराको यही साहसिक पर्यटन प्रतिको आकर्षणलाई दृष्टिगत गरी पर्यटन क्षेत्रका लगानीकर्ता पनि यसतर्फको लगानीमा हौसिएको देखिन्छ ।
पोखरामा जिपलाइन, बञ्जीजम्प, स्वीङ लगायतका पर्यटकीय गतिविधि सञ्चालन गर्दै आएको हाइग्राउन्ड एडभेन्चर प्रालि नेपालले पर्यटकलाई लक्षित गरी हालै एटिभी राइडिङ सञ्चालनमा ल्याएको छ ।

कम्पनीले सुरु गरेको एटिभी राइडिङमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बढेको कम्पनीका निर्देशक दिनश महर्जनले बताए । पछिल्लो समयमा पोखरामा आउने पर्यटक यहाँ सञ्चालित जिपलाइन, स्वीङ, बञ्जी आदिमा आकर्षित बन्दै गएका उनको भनाइ छ । हालै नेपाल भ्रमणका क्रममा पोखरामा बलिउड अभिनेता बिबेक ओभरायले जिपलाइन, स्वीङ लगायतका साहसिक पर्यटनका गतिविधि गर्दा त्यसले पोखराको साहसिक पर्यटनलाई थप चर्चामा ल्याएको छ ।
पोखराको साहसिक पर्यटनको बढ्दो आकर्षणलाई देखेर हाइग्राएनड एडभेन्चर प्रालिले पोखरामा नयाँ गतिविधिका रुपमा एटिभी राइडिङ सञ्चालनमा ल्याएको छ ।

उनका अनुसार एटिभी राइडिङमा फोर ह्वीलर चक्का कच्ची रोडमा सहजै गुड्ने गरी बनाइएको हुन्छ । कम्पनीका कर्मचारी राजेश लम्साल मोटरसाइकल चलाउनेले यो सजिलै चलाउन सक्ने बताउछन ।

फेवातालको किनारमा चलाउने गरी व्यवस्था गरेको कम्पनीले आउने पर्यटकलाई प्रारम्भमा सेदीस्थित कार्यालयमा प्राविधिकबाट यसका विधि र प्रत्रियाबारे जानकारी गराउने गरिएको उनले जानकारी दिए ।

नयाँका लागि हामीले कार्यालय परिसरमा नै टेस्ट ड्राइभ गराउँदै आएको छ । टेस्ट ड्राइभका लागि टेस्ट ट्रेल निर्माण गरेका गरिएको छ । अनुभवीका लागि सेदी–भकुण्डे–सेदीको आठ किलोमिटर दूरीको मार्ग निर्धारण गरिएको उनले जानकारी दिए । उक्त सडक भकुण्डेसम्म एक किलोमिटर पक्की छ भने सात किलोमिटर कच्ची रहेको छ ।

यस मार्ग पार गर्न करिब २ घण्टा समय लाग्ने र उक्त मार्गमा फेवाताल, जङ्गल, खोलानाला आदिको प्रत्यक्ष अनुभव लिन सकिन्छ ।

कम्पनीमा हाल एटिभी गाडी आठवटा रहेको बताउँदै उनले बढ्दो आकर्षणलाई दृष्टिगत गरी आठवटा थप्न लागिएको बताए । नयाँ गतिविधिका रुपमा एटिभी राइडिङ सञ्चालन गरिएको उल्लेख गर्दै महर्जनले यसले पोखरामा पर्यटकको बसाइँ लम्ब्याउन थप सहयोग पुग्ने विश्वास लिइएको उल्लेख गरे । रासस


Read Previous

महाभारत र खानीखोलाका ३३ सय घर चाडै विद्युत् पहुँचमा

Read Next

नागढुङ्गा सुरुङमार्गको निर्माण अवधि ६ महिना थप्ने तयारी