Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

उपत्यकाको सार्वजनिक यातायात प्रणाली सुधार गर्न ढिलाे भयाेः सराेकारवाला


काठमाडौं ।  उपत्यकाको सार्वजनिक यातायात प्रणाली सुधारमा धेरै ढिलाइ भएको सार्वजनिक यातायात क्षेत्रका सराेकारवालाहरूले बताएका छन् । राजधानीमा बिहिबार आयोजित काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सुधारका लागि आवश्यक योजनामा आधारित कार्यक्रममा सहभागी सराेकारवालाहरूले यस्ताे बताएका हुन् । उनीहरूले उपत्यकाकाे सार्वजनिक यातायात प्रणालीकाे तत्कालै सुधारकाे थालनी नगर्ने हाे भने भविष्यमा झन कठिनाइ उत्पन्न हुने बताए ।

सरकारका मुख्य सचिव शंकर बैरागीले सहरी क्षेत्रमा सार्वजनिक यातायात अव्यवस्थित हुनुमा वैज्ञानिक प्रमाणको आधारमा रुटको वर्गीकरण नहुनु मुख्य कारण भएकाे बताए । ‘सार्वजनिक यातायात अव्यस्थित हुँदा यात्राको समय वृद्धि भइरहेको छ । पेट्रोलियम पदार्थको खपत पनि बढिरहेकाे छ’ उनले भने ।

उपत्यकामा अहिले ८० प्रतिशत दुई पांग्रे सवारी साधन सञ्चालनमा छन् । दुई पाङ्ग्रे सवारी साधनकाे तुलनामा एकै पटक धेरै यात्रु बाेक्ने ठूला  साधन थाेरै छन् । बैरागीले ठूला सहरमा विद्युतीय सवारी साधनकाे संख्या वृद्धि गर्नुका साथै चार्जिङ स्टेशन स्थापनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

अन्तर्राष्ट्रिय मञ्चमा गरेका प्रतिबद्धता अघि बढाउदा राम्रो हुनेमा उनले जाेड दिए ।  नेपालले अन्तराष्ट्रिय मञ्चहरूमा विद्युतीय सवारी साधनको संख्या वृद्धि गर्ने प्रतिबद्धता जनाउँदै आएको छ ।

काठमाडौं उपत्यकाको यातायात सुधार गर्न पछिल्ला २ दशक धेरैवटा अध्ययन भए पनि अपेक्षा गरेजस्तो यातायात प्रणालीमा सुधार आउन नसकेको मुख्य सचिव बैरागीको भनाइ छ । ‘यातायात प्रणालीलाई छिटो, सजिलो, सस्तो, वातावरणमैत्री, समावेशी र लैगिंक मैत्री बनाउनुपर्ने हुन्छ । तर, अपेक्षाकृतरूपमा यसका लागि काम गर्न सकिएकाे छैन’ उनले भने ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यातायात सुधारको विषयमा छलफल धेरै भए पनि यथार्थमा प्रभावकारी ढंगले कुनै काम हुन नसकेको बताए ।‘मानोरेल सञ्चालन गर्ने भनेर अघि बढेपनि त्यसले काम गरेन’ उनले भने । यातायात प्रणाली सुधार गर्न केही योजना तत्कालै सुरु नगरिएमा भाेलिकाे दिनमा त्यति नै गाह्रो पर्दै जाने उनको भनाइ छ ।

ललितपुर महनागरको मेयर भएपछि ३१ किलोमिटरमा साइकल लेन बनाएको र यो वर्ष ३० किलोमिटर थप गर्ने योजना रहेको पनि उनले बताए । उनले  सडकमा हुने दुर्घटना कम स्मार्ट स्ट्रिट लाइट जडान गर्ने योजना अघि बढाएको जानकारी दिए ।

ललितपुर महानगरपालिकाले १ हजार ४ सय स्मार्ट स्ट्रीट लाइट जडान गर्दैछ । त्यस्तै, ललितपुर महानगरको मूख्य क्षेत्रमा विद्युतीय बस सञ्चालन गर्ने योजना रहेको  उनले बताए ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देलले योजनामा आधारित सहरको विकास नभएको कारण नै सार्वजनिक यातायात सञ्चालन पनि समस्यामा परको उल्लेख गरे । ‘काठमाडौ उपत्यकाको सार्वजनिक यातायात सुधार गर्न भुमिगत मेट्रो रेल प्रणाली प्रभावकारी यातायातकाे साधन हुन सक्छ’ उनले भने ।

त्यस्तै, र्यापिड बस प्रणाली पनि काठमाडौको लागि प्रभावकारी हुन सक्ने उनको भनाइ छ । यस्ता सार्वजनिक यातायात प्रणालीलाई कार्यान्वयनमा ल्याउनको लागि ठूलो लगानी आवश्यक पर्ने उनले बताए ।

सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले काठमाडौं उपत्यकामा नयाँ स्मार्ट सहरहरू विकास गर्ने तयारीमा रहेको र व्यवस्थित सार्वजनिक यातायात प्रणाली स्थापना अनिवार्य बनेको बताए । ‘यात्रुलाई आफ्नो गन्तव्यसम्म पुग्ने निश्चितता हुने सार्वजनिक यातायात आवश्यक छ’ उनले भने ।

संयुक्त राष्ट्र संघीय प्रशान्त तथा एसिया क्षेत्रको सामाजिक तथा आर्थिक आयोग (युएनस्काप)का यातायात अध्ययन तथा नीति शाखा प्रमुख मदनबन्धु रेग्मीले पछिल्ला वर्षहरूमा महामारीले पनि सार्वजनिक यातायातको महत्त्व बढाएको उल्लेख गरे ।

 ‘सहरको विकास र वृद्धिसँगै सहरी यातायातको समस्या समाधान गर्न सार्वजनिक यातायात प्रणाली व्यवस्थित बनाउँदै लैजानुपर्नेछ । विशेषगरी विद्युतीय सवारी साधन प्रवर्द्धन गर्नुपर्नेछ ।’ उनले भने ।

उपत्यकाकाे सार्वजनिक यातायातका विविध सम्भावनाबारेमा धेरै अध्ययनहरू भएका छन् । अध्ययनले देखाएका सम्भावनामध्येकाे सार्वजनिक यातायात प्रभावकारी  बनाउने प्रणालीमा जानुपर्ने आवश्यक भइरहेको छ ।  सहरी यातायातका लागि अध्ययनमा आधारित र कार्वन न्यूनीकरण गर्ने सार्वजनिक यातायातकाे पहुँच धेरै जनसंख्यामा पुग्ने प्रणाली नै देशका लागि उपयुक्त हुने कार्यक्रममा सहभागीहरूले बताएका छन् ।


Read Previous

चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालियाे 

Read Next

‘महानगरमा बहुपक्षीय एकिकृत सार्वजनिक यातायात प्राधिकरण प्रभावकारी’

Leave a Reply

Your email address will not be published.