Nepal Purbadhar

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

अपि पावरले सिमरामा ५ मेगावाटको हरित हाइड्रोजन प्लान्ट राख्ने


काठमाडौं । अपि पावर कम्पनीले बाराको सिमरामा ५ मेगावाटको हरित हाइड्रोजन प्लान्ट निर्माण गर्ने भएको छ । कम्पनीले अहिले सञ्चालनमा रहेको १ मेगावाटको सिमरा सौर्य विद्युत आयोजना भएकै स्थानमा हरित हाइड्रोजन प्लान्ट निर्माण गर्ने भएको हो ।

सिमरा सौर्य विद्युत आयोजनामा थप ४ मेगावाटको सौर्य विद्युत आयोजना निर्माण गरी हरित हाइड्रोजन प्लान्ट राख्ने योजना रहेको कम्पनीका प्रबन्ध निर्देशक सन्जीव न्यौपानेले बताए । उनका अनुसार विभिन्न जिल्लामा ५० मेगावाटको हरित हाइड्रोजन प्लान्ट राख्ने कम्पनीको योजना अनुरुप पहिलो प्लान्ट सिमरामा राख्न लागिएको हो ।

‘आयातित इन्धन प्रतिस्थापन गर्ने अबको प्रमुख विकल्प भनेको नै हरित हाइड्रोजन हो,’उनले भने,‘जलविद्युत र सौर्य ऊर्जापछि हाम्रो कम्पनीले अब हरित हाइड्रोजनमा लगानी गर्छ ।’ उनले विद्युतको बजार व्यवस्थापन गर्नका लागि पनि अबको लगानी हरित हाइड्रोजनमा हुनुपर्ने बताए ।

उनले दार्चुलामा निर्माणाधीन ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना सम्पन्न गरी विद्युत उत्पादन सुरु गरेपछि हरित हाइड्रोजन प्लान्ट निर्माणको काम थाल्ने बताए । सिमरामा हरित हाइड्रोजन प्लान्ट राख्न पहिले थप ४ मेगावाटको सौर्य विद्युत आयोजना निर्माण हुनेछ ।

कूल ५ मेगावाटको सौर्य विद्युत आयोजना निर्माण गरेर त्यहाँबाट उत्पादन हुने विद्युतको खपत हरित हाइड्रोजन प्लान्टमा उपयोग गरिने न्यौपानेले जानकारी दिए । अपि पावरले विभिन्न जिल्लामा गरी ५० मेगावाटको हरित हाइड्रोजन प्लान्ट राख्न भारतको ग्रिनजो इनर्जी कम्पनीसँग समझदारी गरेको छ ।

हरित हाइड्रोजन देशको आवश्यकता भइसकेकाले अब बन्ने नयाँ सरकारले स्वेतपत्र जारी गर्नुपर्नेमा उनले जोड दिए । नेपाल हरित हाइड्रोजन उत्पादनका लागि उर्भर भूमि भएको हुँदा सरकारले नीति, ऐन कानुन निर्माण गरी लगानीका लागि बाटो खुल्ला गरिदिनु पर्ने उनको भनाइ छ ।

हरित हाइड्रोजन उत्पादन गर्न सके देशभित्र मल उद्योग खोलेर कृषिजन्य उत्पादन बढाई अन्य मुलुकमाथिको परनिर्भरता घटाउन सकिने पनि उनले बताए । उनले हरित हाइड्रोजनको व्यवसायिक उत्पादनलाई प्रोत्साहन गरी निर्यात गर्न सक्ने गरी क्षमता विस्तार गर्नुपर्नेमा समेत उनले जोड दिए ।

अपि पावरले साढे १६ मेगावाटका २ जलविद्युतगृह निर्माण सम्पन्न गरिसकेको छ । ६ मेगावाटका ३ सौर्य विद्युत आयोजना निर्माण सम्पन्न गरी प्रसारण प्रणालीमा जोडेको छ । ४० मेगावाटको माथिल्लो चमेलिया आगामी फागुनभित्र सम्पन्न गर्ने लक्ष्य छ ।


Read Previous

विद्युतीय खरिद प्रणालीमा समस्या, मंगलबार अन्तिम म्याद भएका बोलपत्रको समयावधि थप

Read Next

बाँके ब्लक-१ र ब्लक-२ को सौर्य विद्युत प्रवाहका लागि साढे १५ किलोमिटर प्रसारण लाइन निर्माण हुँदै

Leave a Reply

Your email address will not be published.