Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडाैंमा कहिले आउँछ मेलम्चीको पानी ?


वर्षा सकिएर सुक्खा मौसम लागेपनि मेलम्चीको पानी राजधानीमा नआउदा खानेपानीको अभाव बढ्न थालेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा हेडवक्र्स निर्माण नसकिएकाले वर्षामा सुरुङमा पानी बन्द गरिन्छ ।

२०७८ असार १ गतेको बाढीले आयोजनास्थलमा क्षति भएपछि वर्षामा सुरुङ बन्द गर्न थालिएको हो । बाढी आउने अघिल्लो दिन सुरुङ बन्द गरिएकाले सुरुङभित्र क्षति हुन पाएको थिएन । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाले कात्तिक महिनाभित्रै मेलम्चीको पानी राजधानी ल्याउने भनेकामा यो महिनामा पानी नआउने निश्चित भएको छ ।

गतवर्ष मेलम्चीको बाढीले भत्काएको सडक हेलम्बु गाउँपालिकाले नै बनाएर पानी ल्याउने वातावरण बनाएको थियो । सडक बनाएर पानी ल्याउन सहयोग गरेपछि संघीय सरकारले २०७८ साल असार १ गतेको बाढीबाट क्षति भएको मुहानस्थलका संरचना बनाउन वास्ता नगरेकाको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जे शेर्पाले बताए ।

‘गाउँपालिकाले सडक नबनाएपछि मेलम्ची आयोजना आफैँले अझै बनाउन सकेको छैन, स्थानीय सरकारले पानी लान रोकेको होइन, तर हामीले नदिएको भनी दुष्प्रचार गरिएको छ’ उनले भने । मेलम्चीको पानी राजधानी लगेर महसुल उठाएपछि त्यसको २५ प्रतिशत लेबी स्थानीय सरकारले पाउनुपर्छ भनी माग राखेका छ । ‘मेलम्चीको पानी लगेर सरकारले राजधानीमा निःशुल्क बाँडेको होइन, महसुल लिन्छ, महसुल लिएपछि त्यसको २५ प्रतिशत हामीले पाउनुपर्छ’ उनले थपे ।

राजधानीवासीलाई पानी खुवाउने हेलम्बुको सडकमा वर्षा लागेपछि हिँड्न नसकिने समस्या समाधानका लागि पनि स्थानीय सरकारले माग गर्दै आएको छ । मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा ठूलो बाढी गएर धनजनको क्षति भएको डेढ वर्ष बित्दा पनि पुनःनिर्माणमा केन्द्रीय सरकारले वास्ता नगरेको गुनासो स्थानीय सरकारको छ ।

मेलम्ची बाढीको विषय चालु आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटमा नसमेटिँदा पनि स्थानीय सरकार आक्रोशित भएको हो ।

‘हामीले मात्र सहयोग गरिरहने ? मेलम्ची पीडितलाई केही गर्न नपर्ने ? राजधानीलाई पानी खुवाउने हेलम्बुमा वर्षामा आउन सकिन्न, राजधानीको खानेपानी ल्याउने मुहानमा जाने पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनुपर्दैन ?’ अध्यक्ष शेर्पाले प्रश्न गरे । स्थानीय सरकार नहुँदा सामाजिक संस्थामार्फत् सञ्चालन गरिएको सामाजिक उत्थान कार्यक्रमलाई पालिकामार्फत् लैजानुपर्ने उनको माग छ ।

गत वर्ष पानी पठाउँदा खानेपानी मन्त्रीमार्फत् प्रधानमन्त्रीलाई पठाइएको ज्ञापन पत्र नबुझाइएकामा पनि स्थानीयवासी आक्रोशित छन् । स्थानीय सरकारले पानी नरोकी सरोकार सम्बोधन गर्न जोडदार माग गरेको जनाइएको छ । पानी रोक्दा भने यहाँभन्दा जटिल परिस्थिति आउने भएकाले सचेत हुन अध्यक्ष शेर्पाले आग्रह गरे ।

काठमाडौमा पानी ल्याउन पूर्वाधार पुनःनिर्माणको तयारी

यता मेलम्चीको पानी काठमाडौँ ल्याउन पूर्वाधार पुनःनिर्माणको तयारी हुन थालेको छ । वर्षामा बन्द गरिएको मेलम्चीको पानी फेरि राजधानी ल्याउन प्राविधिक अध्ययन गर्न आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठ नेतृत्वको समूह बुधबार आयोजनास्थल पुगेको छ । मुहानस्थलको स्थलगत अध्ययन गरी कहिलेसम्म पानी राजधानी लैजान सकिन्छ भन्न सकिने उनले बताए ।

राजधानीमा मेलम्चीबाट दैनिक १७ करोड ५० लाख लिटर पानी आउँछ । पहिलो चरणमा मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानी सुन्दरीजलमा प्रशोधन गरी काठमाडौँ उपत्यकाका तीन जिल्लाका विभिन्न स्थानमा वितरण गरिन्छ । मेलम्चीको पानी सिन्धुपाल्चोकको हेलम्बुबाट काठमाडौँको सुन्दरीजलसम्म २७ दशमलव ५ किमी सुरुङ मार्ग हुँदै राजधानी ल्याइएको छ ।

२०७७ चैतमा बहुप्रतिक्षित मेलम्चीको पानी राजधानी आइपुगेको हो । करिब साँढे २ महिनापछि वर्षाले असर गर्न सक्ने अनुमानका कारण २०७८ साल जेठ अन्तिम साता सुरुङमा पानी हाल्न बन्द गरिएको थियो । सुरुङमा पानी बन्द गरिएको भोलिपल्ट नै असार १ गते आएको गेग्रानसहितको बाढीले मुहानस्थलमा क्षति पुगेको थियो ।

२०७८ जेठ अन्तिम साता बन्द गरिएको पानी पाँच महिनापछि कात्तिकमा फेरि राजधानी ल्याइएको थियो । यसवर्ष भने सुरुङमा पानी बन्द गरिएको पाँच महिना पूरा हुँदा पनि फेरि ल्याउन पहल हुन नसक्दा राजधानीवासी काकाकुल हुने अवस्था आएको उपभोक्ता अधिकारकर्मी रोशन पोखरेलले बताए । (रासस)


Read Previous

बागलुङमा थपिँदै लामा झोलुङ्गे पुल

Read Next

अनुमतिपत्र जारी भएका विद्युत आयोजनाको नियमित अनुगमन गर्न घिमिरेको निर्देशन

Leave a Reply

Your email address will not be published.