
फाइल फोटो।
ककनीका सडक, फोहोर व्यवस्थापनदेखि दूरसञ्चार सेवासम्मका समस्या समाधानमा पहल गर्ने बाचा
काठमाडौँ, ६ साउन । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य तथा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले ककनी गाउँपालिकाका जनप्रतिनिधिसँग स्थानीय विकास निर्माण, नागरिकका समस्या र गाउँपालिकाले भोगिरहेका चुनौतीबारे छलफल गरेका छन् ।
सूचना तथा सञ्चार मन्त्रालयमा बुधबार भएको छलफलमा ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङसहित जनप्रतिनिधिले गाउँपालिकाका विभिन्न समस्या र विकासका प्राथमिकताबारे जानकारी गराएका थिए । मन्त्री तिमिल्सिनाले जनप्रतिनिधिबाट प्राप्त समस्या सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
छलफलमा सडक पूर्वाधार, विपद् व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, दूरसञ्चार सेवा, कृषि, गुठी जग्गा व्यवस्थापन तथा स्थानीय नागरिकले भोगिरहेका अन्य समस्याबारे विस्तृत छलफल भएको थियो ।
जनप्रतिनिधिहरूले वर्षायाममा बाढी तथा पहिरोको जोखिम बढ्दै गएको भन्दै विपद् व्यवस्थापनका पूर्वतयारी र जोखिम न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरेका थिए । त्यस्तै, सिसडोल र बञ्चरेडाँडासँग जोडिएको फोहोर व्यवस्थापनको समस्या स्थानीयवासीको स्वास्थ्य र वातावरणसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसको दीर्घकालीन समाधानका लागि सङ्घीय सरकारको सहयोग आवश्यक रहेको बताएका थिए ।
फोहोर व्यवस्थापनका क्रममा काठमाडौँ महानगरपालिकासँग अपेक्षित समन्वय हुन नसकेको विषय पनि छलफलमा उठाइएको थियो । प्रभावित क्षेत्रमा फोहोरका कारण जनस्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गर्दै जनप्रतिनिधिहरूले सङ्घीय सरकारबाट आवश्यक सहयोग र प्रभावकारी समन्वयको अपेक्षा गरेका थिए ।
ककनीका जनप्रतिनिधिले सडक पूर्वाधारलाई प्रमुख आवश्यकता भन्दै विभिन्न स्थानमा सडक विस्तार तथा कालोपत्रेलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए । वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण नागरिकले सास्ती भोग्नुपरेको उल्लेख गर्दै सडक विस्तारका क्रममा पर्ने गुठी जग्गाको पहिचान, अभिलेख अद्यावधिक तथा व्यवस्थापनमा सङ्घीय सरकारको सहयोग आवश्यक रहेको बताएका थिए ।
नुवाकोटको कुलेदेखि गौरीखर्कसम्मको सडक निर्माण सम्पन्न भए स्थानीयवासीलाई उल्लेखनीय राहत पुग्ने भन्दै त्यसलाई प्राथमिकतामा राख्न पनि आग्रह गरिएको थियो । त्यस्तै, तिनपिप्ले–चाउथे–गल्छी सडक योजनालाई समेत प्राथमिकताका साथ अघि बढाउन जनप्रतिनिधिले माग गरेका थिए ।
छलफलमा ककनीको चाउथेलगायत केही क्षेत्रमा नेपाल टेलिकमका टावर प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा सञ्चार सेवामा समस्या भइरहेको विषय पनि उठाइएको थियो । किसानले समयमै रासायनिक मल नपाएको तथा मल वितरणमा अनियमितता र चुहावट हुनसक्ने आशंका रहेको भन्दै सम्बन्धित निकायबाट प्रभावकारी व्यवस्थापन र छानबिनको मागसमेत गरिएको थियो ।
जनप्रतिनिधिले उठाएका विषयलाई आफूले गम्भीर रूपमा लिएको बताउँदै मन्त्री तिमिल्सिनाले आफू सूचना तथा सञ्चार मन्त्रालयको नेतृत्वमा रहे पनि नुवाकोट क्षेत्र नम्बर १ का जनप्रतिनिधिका रूपमा नागरिकका समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताए ।
मल वितरणमा समस्या रहेको जानकारी प्राप्त भएको उल्लेख गर्दै उनले सम्बन्धित निकायसँग यसबारे जानकारी मागिने र आवश्यक समन्वय गरिने बताए ।
मन्त्री तिमिल्सिनाले वर्तमान सरकारले शासकीय सुधार, नागरिक सेवा प्रवाह र आन्तरिक प्रशासनिक सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै नागरिकका समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।
‘सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहले आ–आफ्नो जिम्मेवारी स्पष्ट रूपमा बुझेर प्रभावकारी ढङ्गले काम गर्न सके नागरिकका गुनासा छिटो सम्बोधन गर्न सकिन्छ,’ उनले भने, ‘तीनवटै तहबीच समन्वय गरेर काम गर्न सकियो भने दोहोरोपन हट्छ, स्रोत–साधनको प्रभावकारी उपयोग हुन्छ र आवश्यकताका आधारमा योजना अघि बढाउन सहज हुन्छ ।’
मन्त्री तिमिल्सिनाले नुवाकोटका लागि आवश्यक बजेट व्यवस्थापनमा आफूले पहल गरिरहेको जानकारी दिँदै रणनीतिक महत्वका सडक आयोजनाको कामलाई तीव्रता दिन सडक विभागका सम्बन्धित अधिकारीसँग छलफल भइरहेको बताए । नुवाकोटका सडक आयोजना छिटो सम्पन्न गर्ने विषयमा सडक विभाग र पूर्वाधार विकास मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको उनको भनाइ थियो ।
उनले स्थानीय तहसँगको छलफललाई समस्या समाधानको प्रारम्भिक चरणका रूपमा उल्लेख गर्दै संवादलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
‘यो संवादको थालनी हो, अन्त्य होइन । हामी सरोकारवाला निकायसँग नियमित छलफल गरेर स्थानीय तहका समस्या समाधानका लागि निरन्तर पहल गर्छौँ,’ उनले भने ।
मन्त्री तिमिल्सिनाले समस्या तत्काल समाधान हुने अवस्था सबैमा नहुने भए पनि उपलब्ध स्रोत, साधन र अधिकारको सीमाभित्र रहेर समाधान खोज्नुपर्ने बताए ।
‘समस्या समाधानका लागि कसैसँग पनि जादुको छडी छैन । तर सबै निकायले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरे नागरिकका धेरै समस्या समाधान गर्न सकिन्छ,’ उनले भने ।
छलफलमा ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङ, वडा नं. १ का अध्यक्ष पदमबहादुर श्रेष्ठ, वडा नं. २ का अध्यक्ष कृष्ण घिमिरे, वडा नं. ३ का अध्यक्ष घननाथ बजगाईँ तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराई राई सहभागी थिए । मन्त्रीको सचिवालयका प्रमुख स्वकीय सचिव शिव थापा, स्वकीय सचिव जीवन खरेल तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मधुसूदन ढकाल, रोजिन लामा र शिशिर फुयाँललगायतको पनि उपस्थिति थियो ।

