Nepal Purbadhar

ऊर्जा मन्त्रालय र जल तथा ऊर्जा आयोगका सचिवको जिम्मेवारी हेरफेर, सिँचाइमा बिडारी नियुक्त


काठमाडौं । सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र जल तथा ऊर्जा आयोगका सचिवको जिम्मेवारी हेरेफेर गरेको छ । बुधबार बसेको मन्त्री परिषद बैठकले मन्त्रालयका सचिव सुशीलचन्द तिवारी र आयोगका सचिव दिनेशकुमार घिमिरेको जिम्मेवारी हेरफेर गरेको हो ।

घिमिरेलाई दोस्रो पटक ऊर्जा मन्त्रालयको सचिवमा सरुवा गरिएको हो । यसअघि उनी २०७८ साल बैशाख ६ गते ऊर्जा मन्त्रालयबाट राष्ट्रिय सर्तकता केन्द्रमा सरुवा भएका थिए ।

सर्तकता केन्द्र गएको ९ महिनापछि उनलाई आयोगमा सरुवा गरिएको थियो । आयोगमा सरुवा भएका घिमिरेलाई पुनः ऊर्जा मन्त्रालयमा ल्याइएको हो । उनलाई ऊर्जा मन्त्रालय छोडेको १९ महिनापछि पुनः सोही जिम्मेवारी तोकिएको हो ।

यस्तै, तिवारी मन्त्रालयबाट आयोगमा सरुवा भएका छन् । उनी ऊर्जा मन्त्रालयको जिम्मेवारीमा आएको ५ महिनामै सरुवा भई आयोगमा पुगेका हुन् ।

यसैगरी, सिँचाइ सचिवमा केशव शर्मा बिडारी नियुक्त भएका छन् । उनलाई सचिवमा बढुवा गरी सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।

मन्त्रालयका सचिव सागरकुमार राई सेवाबाट अवकास भएपछि सिँचाइ सचिव पद रिक्त थियो । राई कात्तिक ९ मा सेवाबाट अवकास भएका थिए ।

बिडारीलाई बढुवा गरी उक्त जिम्मेवारी तोकिएको हो । सचिवमा बढुवा भई सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिनुअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सह-सचिवको जिम्मेवारीमा थिए ।


Read Previous

पेट्रोलियम खपत घटाउन कन्काई नगरले किन्याे विद्युतीय सवारी

Read Next

मुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति