Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

जगदुल्ला नदीमा २२८ मेगावाटका २ जलविद्युत आयोजना निर्माण हुँदै


डाेल्पा । डोल्पा जिल्लाकाे जगदुल्ला नदीमा २२८ मेगावाटका २ जलविद्युत आयोजना निर्माण हुँदैछन् । १०६ मेगावाटकाे जगदुल्ला र १२२ मेगावाटकाे ‘जगदुल्ला ए’ जलविद्युत आयोजना निर्माण हुन लागेका हुन् ।

‘जगदुल्ला ए’ काे विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माणकाे काम भइरहेकाे छ । अध्ययनका  क्रममा ८३.३ मेगावाटकाे ‘जगदुल्ला ए’ आयोजनाकाे जडित क्षमता  १२२ मेगावाट पुगेकाे छ ।

जगदुल्ला आयोजनाकाे निर्माण सुरु गर्नुअघि सम्पन्न गर्नु पर्ने कामहरू भइरहेकाे प्रवर्द्धक जगदुल्ला हाइड्राेपावर कम्पनीका  प्रबन्ध  निर्देशक प्रकाश अधिकारीले बताए । याे आयोजना निर्माण गर्न ठेक्का आह्वान गर्ने प्रक्रिया अघि बढेकाे छ ।

‘जगदुल्ला  आयोजनाकाे मुआब्जा वितरण, विद्युत खरिद  सम्झाैता (पिपिए) लगायतका कामहरू सम्पन्न भइसकेका छन्,’ उनले भने,‘विभिन्न निकायबाट हुने संस्थापक सेयर लगानी बापतकाे रकम भुक्तानी भइरहेकाे छ ।’

याे आयोजनामा  विद्युत उत्पादन कम्पनीले ४ लाख ९१ हजार ८ सय कित्ता सेयर स्वामित्त्व रहने गरी लगानी गर्दैछ । हाइड्राे इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेपलभमेन्ट कम्पनी लिमिटेड (एचआडिसिएल) ले २३ लाख ४३ हजार कित्ता रहने गरी आयोजनामा लगानी गर्दैछ ।

यस्तै, नेपाल विद्युत प्राधिकरणले २१ लाख ८७ हजार कित्ता, कर्णाली प्रदेश सरकारले ११ लाख ७१ हजार ५ सय कित्ता र स्थानीय तह (जलदुल्ला र मुड्केचुला) ले २३ लाख ४३ हजार कित्ता सेयर स्वामित्त्व रहनेछ । संस्थापक सेयर लगानीकर्ता कम्पनीबाट ६३ करोड ४९ लाख ३  हजार रुपैयाँ भुक्तानी भइसकेकाे कम्पनीले जनाएकाे छ ।

विद्युत उत्पादन कम्पनीकाे सहायक कम्पनी मातहतमा निर्माण हुन लागेकाे जगदुल्लामा अतिविपन्न परिवारलाई २ प्रतिशत सुरक्षित गरिएको छ । आयोजनामा सर्वसाधारणका लागि १७ प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १० प्रतिशत सेयर दिने कम्पनीले जनाएको छ ।

यस्तै विद्युत् उत्पादन कम्पनीमा ऊर्जा मन्त्रालयको २० प्रतिशत सेयर रहेको छ । विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष र दूरसञ्चार कम्पनीको १०/१० प्रतिशत सेयर रहने छ । अर्थ मन्त्रालय, कानुन मन्त्रालय र नागरिक लगानी कोषको पाँच/पाँच, एचआडिसिएलकाे चार र राष्ट्रिय बीमा संस्थानको दुई प्रतिशत संस्थापक सेयर छ ।

चालू आर्थिक वर्षको अन्तिमसम्म कम्पनीद्वारा निर्माणका लागि ठेक्का खोल्ने तयारी रहेको अधिकारीले जानकारी दिए । अधिकांश ठाउँबाट सेयरवापतको रकम आइसकेको छ । केही ठाउँको मात्र बाँकी छ ।

जगदुल्लाकै प्रवर्द्धक कम्पनीले नै १ सय २२ मेगावाटको जगदुल्ला ‘ए’ पनि अघि बढाउन लागेको हो । कम्पनीले सूचना जारी गर्दै जगदुल्ला ‘ए’को वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन तयार गन बोलपत्र आह्वान गरी ९ महिनामा प्रतिवेदन तयार गर्ने योजना रहेको आयोजनाका प्रबन्धक सञ्जय सापकोटाले बताए ।

विद्युत प्राधिकरण मातहतको एनइए इञ्जीनियरिङ कम्पनीले अध्ययन र डिजाइनको काम गरिरहेको छ । एक वर्षभित्र आयोजनाको अध्ययन सक्ने लक्ष्य छ । आयोजनाका लागि ७.१ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेछ ।

मुख्य सुरुङमार्फत नदीकाे पानी जाजरकोट, रुकुमपश्चिम र डोल्पाको बीचमा रहेको त्रिवेणीमा निर्माण हुने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिनेछ । विद्युत् उत्पादन पछि टेलरेस टनेलमार्फत निस्कने पानी सिधै डाइभर्सन बनाएर सुरुङमार्गमार्फत पुनः नदीमा छाेडिनेछ ।


Read Previous

बेगनास–रुपा पम्प जलविद्युत आयोजना सम्पन्न गर्न २० अर्ब लाग्ने, १५० मेगावाट उत्पादन हुने

Read Next

सडक सञ्जालसँग जाेडिँदै बाँकेका ग्रामीण बस्ती

Leave a Reply

Your email address will not be published.