Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

सडक सञ्जालसँग जाेडिँदै बाँकेका ग्रामीण बस्ती


बाँके । पूर्वाधारका संरचना निर्माण हुँदा बाँके जिल्लाका गाम्रीण बस्ती नेपालगञ्ज सहरकाे सडक सञ्जालसँग जोडिँदै गएका छन् । २३ वडा रहेकाे नेपालगञ्ज उपमहानगरपालिकामा १ सय १६ किलाेमिटर सडक कालाेपत्रे भएसँगै जिल्लाका ग्रामीण बस्ती सहरकाे सडक सञ्जालसँग जाेडिँदै गएका हुन् ।

अहिले यहाँका  ग्रामीण बस्तीहरूमा पूर्वाधार विकासकाे काम धमाधम भइरहेकाे छ । एसियाली विकास बैंक (एडिबी) को करिब ४ अर्ब रुपैयाँ ऋण सहयोगमा सडक कालोपत्र तथा नाला निर्माणले नजिकका गाउँबस्तीलाई नेपालगञ्जसँग नजिक बनाएकाे छ ।

नेपालगञ्ज उपमहानगरको एकीकृत सहरी विकास आयोजनासँगै गाउँपालिकाबाट सञ्चालन भइरहेका सडक कालोपत्र गर्ने कार्यले गति लिएपछि प्रमुख सहर र ग्रामीण बस्तीको दूरी क्रमशः घट्दै गएको हो । बाँकेका ग्रामीण क्षेत्रमा अहिले पक्की सडक, पुल–पुलेसा निर्माण हुन थालेपछि नयाँ उद्योग, व्यवसाय स्थापना गर्ने क्रम पनि बढेको छ ।

“स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आए पछि कामले तिव्रता पाएको हो । काम गर्ने क्रममा ढिलो–चाँडो हुनसक्छ”, नगरप्रमुख प्रशान्त विष्टले भने । नेपालगञ्ज नगरमा सडक विस्तार योजनासँगै अन्तर्राष्ट्रियस्तरको जल उद्यान (वाटरपार्क) निर्माण, रानी तलाउको जीर्णाेद्धार, महेन्द्र उद्यानको स्तरोन्नति, डम्पिङ साइट, आधुनिक बसपार्क निर्माणको काम पनि धमाधम भइरहेको उनले बताए ।

यसैगरी, नगरपालिकाले सञ्चालन गरेको हरियाली अभियानअन्तर्गत सुर्खेत सडक खण्डमा रुख रोप्ने कामलाई तीव्रता दिइएको उनले बताए । नेपालगञ्जलाई उत्कृष्ट नमूना सहर बनाउने लक्ष्यका साथ उपमहानगरले विकासका महत्त्वपूर्ण योजनालाई प्राथमिकीरण गर्दै निर्माणकार्यसमेत अघि बढाएको छ ।

“हामीले पहिलो चरणमा नगरका अधिकांश भागमा सडक, ढल, नाला, डम्पिङ साइट निर्माणलगायत पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौं”, नगरप्रमुख विष्टले भने । नगरमा थुप्रै विकास निर्माण योजनाका काम जारी रहेको उल्लखे गर्दै उनले विकासमा जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताबीच सहकार्य सौहार्दपूर्ण रहेको पनि बताए ।

उपमहानगरले नेपालगञ्ज–४ स्थित साढे ४ बिघा क्षेत्रफलमा अत्याधुनिक बसपार्क, नेपालगञ्ज–२ न्यूरोडस्थित आठ कठ्ठा क्षेत्रफलमा अत्याधुनिक बहुउद्देश्यीय सात तले भवन तथा नेपालगञ्ज–८ स्थित मङ्गलप्रसाद मावि परिसरमा महिला कलेजका लागि भवन निर्माणलगायत योजनालाई प्राथमिकतामा राखेको छ ।

उपमहानगरपालिकाले महिला कलेजका लागि ८ करोड बजेट रुपैयाँ विनियोजन गर्नुका साथै डिपिआर तयार गरेर निर्माणका लागि ठेक्का आह्वान गर्ने गरी काम अगाडि बढाएको छ । मुस्लिम, मधेसी र अल्पसङ्ख्यक समुदायका छात्रालाई उच्च शिक्षामा पहुँच बढाउन महिला कलेज स्थापना गर्न लागिएको हो ।

यसैगरी, अन्डरग्राउण्ड पार्किङसहितको सुविधासम्पन्न सपिङ कम्प्लेक्स भवन निर्माणका लागि डिपिआर तयार भएको छ । अब निर्माण प्रक्रिया चाँडै सुरु गरिने छ । उपमहानगरपालिकाले नगरको फोहर व्यवस्थापन र सरसफाइलाई प्राथमिकतामा राखेर हिरमिनियामा निर्माण गरेको ल्याण्डफिल्ड साइट पनि सञ्चालनमा गर्ने तयारी छ । नेपालगञ्जमा दैनिक २५ देखि ३० टनसम्म फोहर विसर्जन हुन्छ ।

यस्तै, उपमहानगरले वडा नम्बर २१ मा खुला काञ्जी हाउस निर्माण गरेर डेढ सयभन्दा बढी छाडा पशुचौपायालाई आश्रय दिएको छ । सोही क्षेत्रमा गौशाला निर्माणको प्रक्रिया पनि अघि बढाइएको नगरप्रमुख विष्टले जानकारी दिए ।


Read Previous

जगदुल्ला नदीमा २२८ मेगावाटका २ जलविद्युत आयोजना निर्माण हुँदै

Read Next

बन्दीपुर केबलकारकाे ७५ प्रतिशत निर्माण पूरा,बैशाखदेखि सञ्चालनमा आउने   

Leave a Reply

Your email address will not be published.