
काठमाडौं। माउन्टेन हाइड्रो नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ११ करोड १६ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको ८ करोड ४९ लाख ६ हजार रुपैयाँको तुलनामा बढी हो।
कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी बढेर २५ करोड १० लाख ८४ हजार रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो आम्दानी १९ करोड ५५ लाख ४२ हजार रुपैयाँ थियो। कुल नाफा पनि बढेर २० करोड ३४ लाख ६४ हजार रुपैयाँ पुगेको छ।
असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति ३ अर्ब ९१ करोड ६ लाख रुपैयाँ रहेको छ। कम्पनीको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ र दीर्घकालीन कर्जा २ अर्ब ४० करोड २७ लाख रुपैयाँ रहेको छ।
कम्पनीका अनुसार बाढीबाट भएको क्षतिको पुनर्निर्माण सम्पन्न भइसकेको छ। नेपाल विद्युत् प्राधिकरणले कम क्षमतामा सञ्चालन गर्न दिएको निर्देशनबाहेक कम्पनीले पूर्ण क्षमतामा विद्युत् उत्पादन गरिरहेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९३ पैसा, प्रतिशेयर नेटवर्थ ७९ रुपैयाँ ४ पैसा र मूल्य आम्दानी अनुपात २८.४५ गुणा रहेको छ।

