
काठमाडौं। आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन्। चाडपर्वका बेला हवाई भाडा बढेको गुनासोपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले वायुसेवा कम्पनीहरूसँगको छलफलमा यस्तो सहमति गराएको हो।
क्यानका अनुसार वायुसेवा कम्पनीहरूले स्वीकृत अधिकतम भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने र उपलब्ध भाडादरबारे आफ्ना आधिकारिक बिक्री प्लेटफर्ममा सूचना प्रकाशित गर्ने सहमति गरेका छन्। क्यानका महानिर्देशक मुकेश डङ्गोलले यात्रुले स्वीकृत दरभन्दा सस्तोमा टिकट पाउने गरी कम्पनीहरू सहमत भएको बताए।
यसैबीच, निजी वायुसेवा कम्पनी बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा फोटोशप तथा एआईको प्रयोग गरी हवाई भाडासम्बन्धी भ्रामक सामग्री प्रसारित भएको भन्दै यात्रुलाई त्यस्ता सामग्रीबाट भ्रमित नहुन आग्रह गरेको छ।
बुद्ध एयरले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा काठमाडौँ-धनगढी एकतर्फी उडानको भाडा १० हजार ८०० रुपैयाँमै उपलब्ध गराउँदै आएको स्पष्ट पारेको छ। न्यूनतम भाडादरमा टिकट उपलब्ध गराइएकै कारण अधिकांश दिनका उडानमा टिकट बिक्री भइसकेको कम्पनीले जनाएको छ।
रसुवा क्षेत्रमा आएको बाढीपहिरोका कारण राजमार्गमा ठूलो क्षति पुगेपछि लामो समय सडक यातायात अवरुद्ध भएकाले यात्रुलाई सहज र किफायती हवाई सेवा उपलब्ध गराउने उद्देश्यले बुद्ध एयरले सडक यातायात सहज नहुन्जेल तथा दशैं र तिहारसम्म न्यूनतम भाडादरमा टिकट उपलब्ध गराउने घोषणा गरेको जनाएको छ।
कम्पनीका अनुसार काठमाडौँबाट बाहिरिने यात्रुको चाप अहिले बढी छ भने काठमाडौँ भित्रिने यात्रुको संख्या तुलनात्मक रूपमा कम छ। त्यसैले काठमाडौँ आउने यात्रुका लागि बुद्ध एयरले न्यूनतम भाडादरमा प्रोमो कोडमार्फत विभिन्न अफरसमेत उपलब्ध गराएको जनाएको छ। यस्तो अफर कम्पनीको वेबसाइट तथा मोबाइल एपबाट लिन सकिनेछ।
बुद्ध एयरले आफ्नो आधिकारिक प्रणाली तथा बिक्री माध्यममा कायम गरिएको भाडादरबाहेक कुनै व्यक्ति, ट्राभल एजेन्सी वा अन्य माध्यमबाट अनधिकृत रूपमा बढी मूल्यमा टिकट बिक्री गरेको पाइएमा कडा आपत्ति जनाउँदै प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।
कम्पनीले यात्रुलाई सामाजिक सञ्जाल वा अन्य अनधिकृत माध्यमबाट प्रसारित स्क्रिनसट तथा सूचनाका आधारमा हवाई भाडाबारे धारणा नबनाउन आग्रह गरेको छ। भाडादर र टिकटसम्बन्धी जानकारीका लागि बुद्ध एयरको आधिकारिक वेबसाइट, मोबाइल एप तथा आधिकारिक बिक्री माध्यमबाट मात्र सूचना लिन कम्पनीले अनुरोध गरेको छ।
बुद्ध एयरले विपद्को कठिन अवस्थामा यात्रु तथा आम नागरिकलाई सहज, सुरक्षित र किफायती हवाई सेवा उपलब्ध गराउने प्रतिबद्धता निरन्तर कायम राख्ने जनाएको छ।


