
फाइल तस्बीर।
काठमाडौं। देशका अधिकांश स्थानमा आज दिनभर वर्षा हुने र यो क्रम शुक्रबारसम्म जारी रहने भएको छ। शनिबारदेखि भने मौसममा क्रमशः सुधार हुने नेपाल मौसम विज्ञान विभागले जनाएको छ।
मौसमविद् रोजन लामिछानेका अनुसार अहिले अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ। उनका अनुसार आज दिनभर वर्षा हुने तथा रातिदेखि केही सुधार भए पनि शुक्रबार दिउँसो पुनः वर्षा हुने सम्भावना छ।
“अधिकांश स्थानमा अहिले मेघगर्जनसहित वर्षा भइरहेको छ। आज दिनभर वर्षा हुने र रातिदेखि केही सुधार हुनेछ भने शुक्रबार दिउँसो पुनः पानी पर्ने सम्भावना छ। शनिबारदेखि भने मौसममा सुधार आउनेछ,” उनले बताए।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको समेत प्रभाव रहेको विभागले जनाएको छ।
आज पूर्वी क्षेत्रमा तुलनात्मक रूपमा कम वर्षा भए पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
आज सबैभन्दा धेरै वर्षा अर्घाखाँचीको सिमलपानी केन्द्रमा ५८.२ मिलिमिटर मापन भएको छ। विभागका अनुसार उक्त वर्षा भारी वर्षाअन्तर्गत पर्छ।
हाल काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

