
नवलपुर। पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडकखण्डमा बाँदरलाई सुरक्षित रूपमा सडक वारपार गराउन थप दुई ओटा ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गरिने भएको छ। बाँदरका कारण हुने सडक दुर्घटना न्यूनीकरण तथा वन्यजन्तुको प्राकृतिक आवतजावत सहज बनाउने उद्देश्यले पुल निर्माण गर्न लागिएको हो।
एसियाली राजमार्गको मापदण्डअनुसार चार लेनमा विस्तार भएको सडकखण्डको कावासोती र लाकाहाबीचको जंगल तथा चोरमारा र अरुणखोलाबीचको जंगलमा क्यानोपी ब्रिज निर्माण गर्ने तयारी भइरहेको छ।
नारायणघाट-बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पहाडी क्षेत्रबाट तराईतर्फ बाँदर आउने क्रम बढेसँगै राजमार्गमा बाँदरका कारण हुने दुर्घटना पनि बढ्दै गएको छ। बाँदरले सडक पार गर्ने क्रममा सवारीसाधनसँग ठोक्किएर दुर्घटना हुने र मानवीय क्षतिसमेत हुने गरेकाले त्यसलाई नियन्त्रण गर्न पुल निर्माण गर्न लागिएको उनले बताए।
नवलपरासी (बर्दघाट-सुस्तापूर्व) खण्डमा यसअघि नै एउटा ओभरहेड क्यानोपी ब्रिज निर्माण भइसकेको छ। गैँडाकोट नगरपालिका-१० स्थित पितौँजी जंगलमा निर्माण गरिएको उक्त पुलबाट फाट्टफुट्ट बाँदर वारपार गर्ने गरेको खनालले जानकारी दिए।
उनका अनुसार क्यानोपी ब्रिजको प्रभावकारिता मूल्यांकन गर्न अझै समय लाग्नेछ। बाँदरलाई पुल प्रयोग गर्न अभ्यस्त बनाउन सुरुमा फलफूल राखेर आकर्षित गर्ने तयारी गरिएको छ। निर्माण सम्पन्न भएको पुललाई उपयोगी बनाउन केही समयभित्रै फलफूल राख्ने योजना रहेको उनले बताए।
ओभरहेड क्यानोपी ब्रिज निर्माणमा पाँच लाख रुपैयाँभन्दा कम खर्च लाग्ने भएकाले राजमार्गका जंगल क्षेत्रमा यस्ता संरचना विस्तार गर्दा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सडक विस्तार योजनाले गैँडाकोट क्षेत्रमा जैविक विविधता संरक्षण तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत सडकको माथिल्लो भागमा ३४ मिटर लामो र चार फिट चौडाइको क्यानोपी ब्रिज निर्माण गरेको थियो। यस्तो पुलले विशेषगरी बाँदरलाई व्यस्त राजमार्ग सुरक्षित रूपमा पार गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
क्यानोपी ब्रिज निर्माणले वन्यजन्तुको प्राकृतिक आवतजावत सहज बनाउनुका साथै जैविक विविधता संरक्षण, वन्यजन्तु र सवारीसाधनबीच हुने दुर्घटना न्यूनीकरण तथा सडक पूर्वाधारलाई वातावरणमैत्री बनाउन सहयोग पुग्ने योजना कार्यालयको विश्वास छ।
यसका अतिरिक्त सडक विस्तार योजनाले जैविक विविधता संरक्षणका लागि राजमार्ग आसपासका जंगलमा पानीपोखरी निर्माण गर्ने तथा चोरीसिकारी नियन्त्रणका लागि आवश्यक सहयोग गर्ने कामसमेत गर्दै आएको छ।

