
४० मेगावाटको राहुघा जलविद्युत् आयोजना।
म्याग्दी। कालीगण्डकी नदीमा आएको बाढीले संरचनामा क्षति पुर्याएपछि म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन रोकिएको छ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरेको आयोजनाले परीक्षण उत्पादन सुरू गरेको एक साता नपुग्दै असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षापछि आएको बाढीले आयोजनाका संरचनामा क्षति पुर्याएको हो।
आयोजना प्रमुख राजबहादुर विष्टका अनुसार रघुगङ्गा गाउँपालिका-३ तिल्केनीचौरस्थित विद्युत्गृहबाट पानी बाहिर निकाल्ने टेलरेस डक्टको आधा भाग बाढीले बगाएको छ। बाढीले स्वीचयार्डमा रहेको ट्रान्सफर्मर नजिकैसम्म नदी कटान गरेको छ।
पहुँचमार्गसमेत पूर्ण रूपमा अवरुद्ध भएको विष्टले बताए। झिँ र दग्नामको सीमामा रहेको आयोजनाको बाँधमा गेग्रान थुप्रिएको छ।
उनका अनुसार बाढीका कारण परीक्षण उत्पादन रोकिएको छ भने कालीगण्डकीको कटानबाट जोखिममा परेको ट्रान्सफर्मरलाई सुरक्षित राख्ने प्रयास भइरहेको छ।
कालीगण्डकी नदीमा गेग्रान मिसिएपछि नदीको सतह बढ्दा किनारबाट विद्युत्गृह क्षेत्रतर्फ तीव्र कटान भएको छ। नदी कटानका कारण चीन र भारत जोड्ने बेनी-जोमसोम-कोरला सडकको करिब १५० मिटर भागसमेत बगाएको छ। विद्युत्गृहस्थलमा निर्माण गरिएको स्वीचयार्ड पनि नदी कटानको उच्च जोखिममा परेको छ।
रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले परीक्षण उत्पादन सुरू गरेको दुई दिनमै बाढीले आयोजनामा क्षति पुर्याएपछि उत्पादन बन्द गर्नुपरेको बताए।
आयोजनाले १५ दिनको परीक्षण उत्पादन पूरा गरेपछि व्यावसायिक उत्पादन सुरू गर्ने तयारी गरेको थियो। तर बाढीबाट संरचनामा क्षति भएपछि अब करिब एक महिनापछि मात्रै व्यावसायिक उत्पादन सुरू गर्न सकिने केसीले बताए।
बाढीले राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्सका सवारीसाधन तथा निर्माण उपकरणसमेत बगाएको छ।
प्रसारण लाइनका टावरसमेत बगे
कालीगण्डकी नदीको बाढीले कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी दाना-कुस्मा प्रसारण लाइनका टावरमा समेत क्षति पुर्याएको छ।
नेपाल विद्युत् प्राधिकरण पोखरा ग्रिड महाशाखाका प्रमुख रोशन खड्काका अनुसार अन्नपूर्ण गाउँपालिका-१ दोवाको भिरकाटपारिका दुई र धिरच्याङको एउटा गरी तीन ओटा प्रसारण लाइनका टावर बाढीले बगाएको छ।
प्रसारण लाइनमा क्षति भएपछि दाना-खुर्कोट प्रसारण लाइनमार्फत केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ति गराउँदै आएका विभिन्न जलविद्युत् आयोजनाको विद्युत् प्रसारण सेवा प्रभावित भएको छ।
प्रसारण सेवा बन्द हुँदा अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा रहेका ५ मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, ३८ मेगावाटको नीलगिरि-१, ७१ मेगावाटको नीलगिरि-२ तथा ६ मेगावाटको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रसारणमा समस्या आएको छ।
नेपाल विद्युत् प्राधिकरण पोखरा ग्रिड महाशाखाका प्राविधिकसहितको टोलीले क्षतिग्रस्त प्रसारण लाइन तथा टावरको स्थलगत निरीक्षण सुरू गरेको छ। टोलीले क्षतिको विवरण संकलनसँगै विद्युत् आपूर्ति सञ्चालनका लागि वैकल्पिक उपायको खोजी गरिरहेको छ।
ग्रिड महाशाखाका प्रमुख खड्काले प्राविधिक टोलीलाई क्षतिग्रस्त क्षेत्रमा परिचालन गरी प्रसारण लाइन पुनर्निर्माण तथा विद्युत् आपूर्ति पुनः सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए।


