
नयाँ बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्षको शुभारम्भ काठमाडौँ, १६ असोज : काठमाडौँस्थित नयाँ बसपार्कमा शुक्रबार आयोजित ‘चाडपर्व लक्षित यात्रु सहायता कक्ष–२०८३’ शुभारम्भ कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरलगायत आयोजक तथा सहकार्य गर्ने विभिन्न संस्थाका प्रतिनिधिहरू । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना एवं यातायात व्यवस्था विभाग, काठमाडौँ महानगरपालिका, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपाल, ल्होत्से बहुउद्देश्यीय प्रा.लि., सिप्रदी ट्रेडिङ प्रा.लि. र यातायात मजदुर सङ्घसंस्थाहरूको सहकार्यमा उक्त यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । तस्बिर: हरिराम भेटुवाल/रासस
काठमाडौं। चाडपर्वको समयमा यात्रुको चाप बढ्ने भएकाले काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, काठमाडौँ महानगरपालिका, यातायात व्यवसायी तथा यातायात मजदुरको संयुक्त आयोजनामा शुक्रबार सहायता कक्ष स्थापना गरिएको हो।
नवनिर्मित यात्रु सहायता कक्षको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा राठौरले चाडपर्वका समयमा अन्य समयको तुलनामा यात्रुको संख्या बढ्ने भएकाले उनीहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउनु सबै पक्षको जिम्मेवारी भएको बताए।
उनले यात्रुलाई ठगी गर्ने, लुट्ने वा झुक्याउने गतिविधिमा संलग्न हुनेलाई कारबाही गरिने चेतावनी दिँदै यात्रुलाई समेत आवश्यक सावधानी अपनाउन आग्रह गरे। सवारी सञ्चालनका क्रममा मादक पदार्थ तथा लागूपदार्थ सेवन नगर्न चालकलाई उनले आग्रह गरे।
टिकटमा हुने कालोबजारी नियन्त्रणका लागि प्रहरी सक्रिय रहने बताउँदै उनले यात्रुलाई आधिकारिक रूपमा टिकट लिएर मात्रै यात्रा गर्न आग्रह गरे।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले यस वर्ष चाडपर्वको समयमा यातायात सञ्चालनमा विगतको तुलनामा थप चुनौती देखिएको बताए। देशभर परेको अविरल वर्षाका कारण विभिन्न राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा सार्वजनिक यातायात सञ्चालनमा समस्या परेको उनले बताए।
सिटौलाले कठिन परिस्थितिमा पनि सुरक्षित रूपमा सवारी सञ्चालन गरिरहेका चालकलाई धन्यवाद दिँदै क्षतिग्रस्त सडकको मर्मतसम्भारलाई तीव्रता दिन सरकारसँग आग्रह गरे। उनले चाडपर्वका समयमा कालो नम्बर प्लेटका सार्वजनिक सवारीलाई प्राथमिकता दिनुपर्ने र तोकिएकोभन्दा बढी भाडा लिन नहुने बताए।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले चाडपर्वका समयमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
उनका अनुसार चाडपर्वलाई लक्षित गरी ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। सहायता कक्षबाट यात्रुलाई टिकट, भाडादर, सवारीसाधन तथा यात्राका क्रममा आइपर्ने समस्याबारे आवश्यक सहयोग उपलब्ध गराइनेछ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका उपाध्यक्ष नवराज घिमिरेले चाडपर्वका समयमा दुर्घटना न्यूनीकरण गर्न चालकको भूमिका महत्वपूर्ण हुने बताए। उनले चालकलाई सुरक्षित र जिम्मेवार रूपमा सवारी सञ्चालन गर्न आग्रह गरे।
कार्यक्रममा प्रहरी, यातायात व्यवसायी, लोत्से बहुउद्देश्यीय प्रालिका प्रतिनिधि, चालक, सहचालक तथा महानगर प्रहरीको उपस्थिति थियो।


