
काठमाडौं । विद्युत नियमन आयोगले राष्ट्रिय विद्युत प्रसारण ग्रिड प्रयोग गरेबापत लाग्ने प्रसारण शुल्क निर्धारण गरेको छ। आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि मध्यकालीन तथा दीर्घकालीन खुला पहुँचतर्फ प्रति मेगावाट प्रतिमहिना ४ लाख १३ हजार रुपैयाँ प्रसारण शुल्क निर्धारण गरेको हो।
त्यस्तै, अल्पकालीन खुला पहुँचका लागि प्रतिकिलोवाट घण्टा ५७ पैसा प्रसारण शुल्क निर्धारण गरिएको आयोगले जनाएको छ।
आयोगले विद्युत नियमन आयोग ऐन, २०७४ तथा विद्युत नियमन आयोग नियमावली, २०७५ मा भएको व्यवस्थाअनुसार राष्ट्रिय विद्युत प्रसारण ग्रिडको प्रसारण शुल्क निर्धारण गरेको हो। आयोगले प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँचसम्बन्धी निर्देशिका, २०८२ को दफा ३३ बमोजिम शुल्क निर्धारण गर्न ‘राष्ट्रिय विद्युत प्रसारण ग्रिड (नेशनल ट्रान्समिसन ग्रिड) को प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड, २०८३’ जारी गरेको छ।
उक्त मापदण्ड भदौ ३१ गतेदेखि लागू भएको छ। मापदण्डमा राष्ट्रिय प्रसारण ग्रिडको प्रसारण शुल्क निर्धारणका लागि अपनाइने गणना विधि तथा वार्षिक आवश्यक आयमा समावेश हुने विभिन्न खर्च तथा प्रतिफलका विषय समेटिएका छन्।
प्रसारण शुल्क निर्धारणका क्रममा अनुमति प्राप्त व्यक्तिको वार्षिक आवश्यक आय गणना गर्दा ह्रासकट्टी, ऋणको ब्याज, कर्मचारी तथा सञ्चालन खर्च, प्रसारण सेवाबापतको लागत, स्वपुँजी लगानीबापतको प्रतिफल, विदेशी मुद्रा विनिमयसम्बन्धी खर्च र आयकर लगायतका विषयलाई आधार बनाइने व्यवस्था गरिएको छ।

आयोगका अनुसार प्रसारण प्रणाली प्रयोग गरेबापत अनुमति प्राप्त व्यक्तिको वार्षिक आवश्यक आयको पूर्ण तथा न्यायोचित असुली सुनिश्चित हुने गरी शुल्क निर्धारण गरिनेछ। प्रसारण प्रणालीको क्षमता र ऊर्जा प्रवाहका आधारमा जडित क्षमता वा ऊर्जाको परिमाणमध्ये उपयुक्त विधि अपनाएर शुल्क निर्धारण गर्न सकिने व्यवस्था मापदण्डमा गरिएको छ।
आयोगले यसै मापदण्डका आधारमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय विद्युत प्रसारण ग्रिड प्रयोग गर्दा लाग्ने शुल्क निर्धारण गरेको हो। शुल्क निर्धारणका लागि प्राधिकरणको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गरिएको वित्तीय विवरण तथा आर्थिक वर्ष २०८२/८३ र २०८३/८४ का लागि प्राधिकरणले पेस गरेको वार्षिक आवश्यक आयको अनुमानित विवरणलाई आधार बनाइएको आयोगले जनाएको छ।
यसैगरी, राष्ट्रिय विद्युत प्रसारण ग्रिडअन्तर्गत नपर्ने रेडियल तथा डेडिकेटेड प्रसारण संरचनाको प्रसारण शुल्क निर्धारणका लागि आयोगले छुट्टै निर्देशिका जारी गर्ने तयारी गरिरहेको छ।
आयोगले राष्ट्रिय विद्युत प्रसारण ग्रिडको प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड, २०८३ को पूर्ण पाठ आफ्नो वेबसाइटमा उपलब्ध गराएको जनाएको छ।

