
मनाङ। अविरल वर्षापछि घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी र बालुवा थुप्रिएर मनाङको तातोपानी क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदीमा आंशिक रूपमा पानी बग्न थालेको छ।
नदी थुनिएर बनेको तालबाट पानीको बहाव क्रमशः खुल्न थालेको प्रहरीले जनाएको छ। प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार थुनिएको मर्स्याङ्दीको पानीको बहाव क्रमशः सामान्य बन्दै गएको छ।
नदी आसपासको सडक सम्पर्क विच्छेद रहेकाले स्काभेटर परिचालन गरी पानीको बहाव थप सहज बनाउने विषयमा छलफल भइरहेको उनले बताए।
नासोँ गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार चार दिनदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा विद्युत्, टेलिफोन तथा सडक सञ्जाल अवरुद्ध भएको छ।
विपद्का कारण स्थानीय विद्युत्, टेलिफोन र सडक सञ्जालबाट सम्पर्कविहीन भएको बताउँदै उनले स्थानीय सरकारले उपलब्ध सीमित स्रोतसाधन परिचालन गरेर काम गरिरहेको बताए। प्रदेश र संघ सरकारले विपद् प्रभावित क्षेत्रमा थप सहयोग गर्नुपर्ने उनको भनाइ छ।
स्थानीय घर फर्किन थाले
बाढी तथा पहिरोको जोखिमका कारण नेपाली सेनाको ब्यारेक, सामुदायिक भवनलगायत सार्वजनिक भवन तथा स्थानमा आश्रय लिएका स्थानीय बासिन्दा सोमबार बिहानदेखि आफ्नो घर तथा गाउँमा भएको क्षतिको अवस्था बुझ्न जान थालेका छन्।
यसैबीच बाढीले लमजुङ र मनाङको सीमा क्षेत्रमा रहेको ताल बजारमा समेत क्षति पुर्याएको छ।
प्रमुख जिल्ला अधिकारी खनालले मर्स्याङ्दी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई अझै सचेत रहन आग्रह गरेका छन्।
घर, पुल र सडकमा क्षति
निरन्तरको वर्षाका कारण ठाडो खोला र घट्टेखोलामा आएको बाढीले आसपासका क्षेत्रमा कटान गर्दा घर, पुल तथा सडकमा क्षति पुगेको छ।
मनाङमा यसअघि पनि विसं २०७८ जेठ १४ र असार १ गते घट्टेखोला, ठाडो खोला तथा मर्स्याङ्दी नदीमा आएको बाढीले ठूलो भौतिक क्षति पुर्याएको थियो।
हाल नदीको पानीको बहाव क्रमशः खुल्दै गए पनि वर्षा तथा नदीको बहावमा पुनः वृद्धि हुन सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

