
काठमाडौं। सरकारले बाढीको जोखिमबारे पूर्वसूचना दिने समयावधि विस्तार गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रमुख नदीमा बाढीको पूर्वानुमान ३ दिनबाट बढाएर ५ दिन र साना नदीमा आउने आकस्मिक बाढीको पूर्वानुमान २४ घण्टाबाट बढाएर ४८ घण्टा पुर्याएको जनाएको छ।
मन्त्रालयका अनुसार यो व्यवस्था असोज ७ गतेदेखि लागू भएको हो। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गरेको सुधारसँगै सम्भावित बाढी तथा आकस्मिक बाढीको जोखिमबारे सर्वसाधारण तथा सम्बन्धित निकायलाई पूर्वतयारी, सतर्कता, जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि थप समय उपलब्ध हुनेछ।
आगामी ३ दिन प्रतिकूल मौसमको सम्भावना
मन्त्रालयका अनुसार आजदेखि आगामी ३ दिन अर्थात् असोज ११ गतेसम्म देशभर प्रतिकूल मौसमी प्रणाली रहने सम्भावना छ। यस क्रममा भारी वर्षा, बाढी, आकस्मिक बाढी तथा पहिरोको जोखिम हुनसक्ने भएकाले जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र मौसम विज्ञान विभागले निरन्तर अनुगमन गरिरहेका छन्।
मन्त्रालयले सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सम्बन्धित निकाय र सर्वसाधारणलाई मौसम तथा बाढीसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा लिन आग्रह गरेको छ।
बाढीसम्बन्धी सूचना कहाँबाट लिने ?
बाढी तथा मौसमसम्बन्धी अद्यावधिक जानकारीका लागि मन्त्रालयले टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न अनुरोध गरेको छ।
त्यस्तै, ‘Nepal Flood Alert’ र ‘Nepal Weather Forecast’ नामका आधिकारिक फेसबुक पेज तथा hydrology.gov.np र dhm.gov.np वेबसाइटबाट पनि सूचना लिन सकिने मन्त्रालयले जनाएको छ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र मौसम विज्ञान विभागबाट जारी हुने नियमित बुलेटिन तथा सूचनालाई आधार बनाएर आवश्यक सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ।


