
काठमाडौं। नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन र थप सुरक्षण विशेषतासहित १ हजार रुपैयाँ दरको बैंकनोट प्रचलनमा ल्याउने भएको छ। बैंकले सिरिज २०२५ को १ हजार रुपैयाँको नोट साविककै आकारमा नयाँ रंग र विभिन्न सुरक्षण विशेषतासहित चलनचल्तीमा ल्याउन लागेको हो।
नयाँ नोटको मुख्य रंग बैजनी घेराभित्र फिक्का हरियो रहेको छ। नोटको अगाडिको भागमा सगरमाथाको चित्र तथा लालीगुराँसको पानीछाप राखिएको छ। पानीछापमा अंग्रेजी अंकमा १००० समेत देखिन्छ।
नोटलाई प्रकाशतर्फ राखेर हेर्दा अगाडि र पछाडिको भाग मिलेर अंग्रेजी अंक १००० पूरा देखिने ‘सी-थ्रु रजिस्टर’ विशेषता राखिएको छ।
दृष्टिविहीन व्यक्तिले सहजै पहिचान गर्न सक्ने गरी नोटमा रोमन अक्षर ‘एम’ तथा उठेका तेर्सा रेखाहरू राखिएका छन्। नोटको दुवै किनारामा दुई-दुई ओटा उठेका तेर्सा रेखा राखिएका छन्।
नोटमा ३.५ मिलिमिटर चौडाइको विशेष सुरक्षण धागो प्रयोग गरिएको छ। सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने उक्त धागोमा ‘NRB’ र ‘१०००’ अंक राखिएको छ। नोटलाई कोण परिवर्तन गरी हेर्दा धागोको रंग परिवर्तन हुनुका साथै तीरजस्तो आकृति माथि वा तल सरेको देखिन्छ।
त्यस्तै, नोटमा बाक्लो मसीले उठाइएका अक्षर तथा चित्रहरू राखिएका छन्, जसलाई औंलाले छामेर पनि पहिचान गर्न सकिन्छ। रंग परिवर्तन हुने मसी र इरिडिसेन्ट मसीसमेत प्रयोग गरिएको राष्ट्र बैंकले जनाएको छ।
नोटको अगाडिको भागमा सगरमाथाको छेउमा अण्डाकार आकृतिभित्र भगवतीको चित्र राखिएको छ। सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने उक्त चित्र पनि सुरक्षण विशेषताका रूपमा प्रयोग गरिएको छ।
पराबैजनी प्रकाश – UV light प्रयोग गर्दा पनि नोटका विभिन्न सुरक्षण विशेषता पहिचान गर्न सकिन्छ। यस्तो प्रकाशमा नोटको अगाडिको भागमा सगरमाथा, १००० अंक, सिरियल नम्बर तथा गभर्नरको हस्ताक्षरमा विशेष चमक देखिन्छ। पछाडिको भागमा हात्तीको दुवैतर्फ पनि विशेष चमक देखिन्छ।
नोटको पछाडिको भागमा चितवनको सरकारी हात्तीसारमा रहेका नेपाली हात्तीमध्ये देवकलीबाट जन्मिएका दुर्लभ जुम्ल्याहा हात्ती राम र लक्ष्मणको चित्र राखिएको छ। सातवटै प्रदेशलाई जनाउने गरी सात ओटा लालीगुराँसका चित्रसमेत प्रयोग गरिएको छ।
पछाडिको भागमा ‘रुपिज वान थाउजेन्ड’ लेखिएको छ भने हनुमानढोकास्थित ल्हाँचोकमा रहेको ऐतिहासिक महत्वको थामको आकृति राखिएको छ। नोटको तल्लो भागमा ‘सिरिज २०२५ एडी’ उल्लेख गरिएको छ।
नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ।
राष्ट्र बैंकका अनुसार यसअघि सिरिज २०१९ को १ हजार रुपैयाँका नोट सीमित संख्यामा मात्र चलनचल्तीमा ल्याइएको थियो। नयाँ सिरिजको नोट भने यसअघि प्रयोगमा नआएको क्रमबाट सुरु गरिएको बैंकले जनाएको छ।
नयाँ सिरिजको १ हजार रुपैयाँको नोट प्रचलनमा आए पनि यसअघि जारी भएका १ हजार रुपैयाँ दरका अन्य नोटहरू कानुनी रूपमा चलनचल्तीमा रहने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

