
काठमाडौं। असोज ९ गतेदेखि हुनसक्ने भारी वर्षाको सम्भावित जोखिम र पूर्वतयारीबारे सरकारले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सँग छलफल गरेको छ।
गृह सचिव केदारनाथ शर्माको नेतृत्वमा भएको छलफलमा सम्भावित वर्षाको अवस्था, जोखिमयुक्त जिल्लामा अपनाउनुपर्ने सतर्कता, सर्वसाधारणलाई सूचना प्रवाह गर्ने तथा आवश्यक परे सवारी आवागमन बन्द गर्ने विषयमा छलफल भएको छ।
छलफलमा गृह मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा, तीनवटै सुरक्षा निकाय, नेपाल पर्यटन बोर्ड तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि सहभागी थिए। काठमाडौं बाहेकका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू भने भर्चुअल माध्यमबाट सहभागी भएका थिए।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जोखिम देखिएका क्षेत्रमा सतर्कता अपनाउँदै आवश्यक पूर्वतयारीमा रहन सम्बन्धित निकायलाई आग्रह गरे।
सम्भावित भारी वर्षाबाट बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिमलाई ध्यानमा राख्दै स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायबीच समन्वय बढाउन छलफलमा जोड दिइएको जनाइएको छ।

