
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब रुपैयाँ पुगेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात रहेको छ।
सरकारले कोषमा जम्मा भएको सहयोग रकममध्ये यसअघि १ अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ।
कार्यालयका अनुसार कोषको रकम विभिन्न ९ ओटा वाणिज्य बैंकमा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ रहेको छ।
त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रका लागि सरकार तथा विभिन्न व्यक्ति, संस्था र निकायबाट कोषमा सहयोग रकम जम्मा हुने क्रम जारी रहेको छ।

