
सांकेतिक तस्बिर
काठमाडौं । राजधानीको चाबहिल-जोरपाटी सडक कालोपत्र भएपछि पनि यात्रुको सास्ती भने कम भएको छैन। सडक पूरै कालोपत्रे छ तर गाडी कुदाउँन भने जोखिमपूर्ण ।
कालोपत्र भए पनि सतह समथर नहुँदा विशेषगरी दुईपाङ्ग्रे सवारीसाधनमा यात्रा गर्नेहरू बढी प्रभावित हुने गरेका छन्। सडकमा रहेका उकाली–ओरालीजस्ता असमान भागका कारण सवारीसाधन पटक–पटक उफ्रिने अवस्था रहेको छ।
विभिन्न बाहानामा खानेपानी,ढललगायतका निकायले खनेर जथाभाबि ग्रेड नै नमिलाइ पीच गरेका कारण यस्तो समस्या भएको हो । सडकको सतह कतै उठेको र कतै दबेको अवस्थामा रहेपछि सवारीसाधन चलाउँदा यात्रुले असहज यात्रा गर्नुपरेको छ।
माकलबारी बस्ने पदम विष्टका अनुसार सडकको अवस्था हेर्दा नयाँ कालोपत्र गरिएको सडकभन्दा कच्ची सडकमा यात्रा गरेजस्तो अनुभूति हुने गरेको छ। कतै सडकको सतह माथि उठेको छ भने कतै भासिएको देखिन्छ। यसले सवारीसाधनको गति नियन्त्रण गर्नसमेत कठिनाइ हुने गरेको छ।
चाबहिल–जोरपाटी सडक लामो समयदेखि निर्माण, विस्तार र स्तरोन्नतिको चर्चामा रहँदै आएको सडक हो । पटक–पटक सुधार तथा कालोपत्रको काम भए पनि सडकको गुणस्तर र समतल सतह कायम गर्न नसक्दा यात्रुले अझै सहज आवागमनको अनुभूति गर्न पाएका छैनन्।
सडकको यस्तो अवस्थाप्रति सम्बन्धित निकायको ध्यान जानुपर्ने यात्रुहरूको भनाइ छ। सडक कालोपत्र गरेर मात्रै पुग्दैन, त्यसको गुणस्तर, समतलता र दीर्घकालीन टिकाउपनामा समेत ध्यान दिनुपर्ने उनीहरूको माग छ।
राजधानीको महत्वपूर्ण सडकमा समेत कालोपत्रपछि यस्तो अवस्था देखिनुले सडक निर्माणको गुणस्तर अनुगमन र जिम्मेवारीमाथि प्रश्न उठाएको छ। विश्वस्तरका इन्जिनियरका लागि समेत ‘कसरी कालोपत्र सडकलाई उबडखाबड बनाउने?’ भन्ने अध्ययनको विषय बन्न सक्ने व्यंग्यात्मक अवस्था चाबहिल–जोरपाटी सडकमा देखिएको छ।
देश निर्माणका नाममा सडक निर्माण भइरहँदा त्यसको गुणस्तर र नागरिकले पाउने सुविधातर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।
सडक विभागका इन्जिनियरहरुका अनुसार जथाभाबी खनेर ग्रेड नै नमिलाई गरिएको पीचको कारण यो सडक जोखिमपूर्ण बनेको हो ।
