
Trisuli flood, Bridge
नुवाकोट । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश पुल बगाएपछि नुवाकोटका विभिन्न क्षेत्रमा यातायात तथा आवतजावत प्रभावित भएको छ। बाढीका कारण विदुर नगरपालिका-५, देवीघाटस्थित तादी नदीको पुल तथा सडक संरचनामा समेत क्षति पुगेपछि नेपाली सेनाले आवतजावत पुनःस्थापित गर्न एक्रो ब्रिज निर्माणको काम तीव्र बनाएको छ।

नेपाली सेनाको इन्जिनियरिङ फौजले तादी नदीमा ६० मिटर लामो, ५.५ मिटर चौडा र ५० टन भारवहन क्षमता भएको एक्रो ब्रिज निर्माण गरिरहेको छ। बाढीबाट क्षतिग्रस्त सडक तथा पुलका कारण प्रभावित क्षेत्रमा यातायात सेवा अवरुद्ध भएपछि आवतजावत सहज बनाउन अस्थायी पुल निर्माण अघि बढाइएको हो।

निर्माण कार्य तीव्र गतिमा भइरहेको र केही दिनमै पुल सञ्चालनमा ल्याउने तयारी रहेको सेनाले जनाएको छ। पुल सञ्चालनमा आएपछि देवीघाट तथा आसपासका बस्तीमा आवतजावतसँगै यातायात सेवा सहज हुने अपेक्षा गरिएको छ।





